३१ भाद्र २०८१ सोमबार
image/svg+xml
खेल

पलेशा: फरक क्षमतामा अब्बल

‘फरक क्षमता भएकाले पनि देशका लागि केही गर्न सक्छन्। देशको इतिहासमा उनीहरूले आफ्नो नाम लेखाउँछन् भन्ने पलेशा गोवर्द्धनले प्रमाणित गरेकी छन्,’ पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामाले बुधबार एक विशेष अवसरमा यी धारणा राखे।

पलेशाले यसै हप्ता मात्र पेरिस पारालिम्पिक २०२४ मा ऐतिहासिक कांस्य पदक जितेकी थिइन्। नेपाली खेलकुदमा यो नै सबैभन्दा ठूलो सफलता हो। प्रशिक्षक कविराजले भनेजस्तै नेपाली खेलकुदमा यो ऐतिहासिक सफलता यिनै फरक क्षमता भएकी पलेशाबाट सम्भव भयो। जसको प्रतीक्षा झन्डै दशकदेखि नेपाली खेलकुदले गरेको थियो। फरक क्षमता भएकी पलेशाको सफलता शृंखलाबद्ध नै छ। एकपछि अर्को ऐतिहासिक सफलतामा उनको नाम जोडिएका छन्। त्यो पनि खेल्न सुरु गरेको छोटो समयमा नै। यसै पनि नेपालमा पारा तेक्वान्दो खेल्न सुरु गरिएको धेरै भएको छैन।

यसको इतिहास अन्यको तुलनामा लामो छैन। सन् २०१२ देखि मात्र नेपालमा पारा तेक्वान्दो खेल्न सुरु गरिएको हो। पारा तेक्वान्दोका पहिलो खेलाडी यादव कुँवर हुन्। उनै यादवले नै नेपाललाई पारा तेक्वान्दोमा पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका थिए। सन् २०१३ मा स्विट्जरल्यान्डमा भएको चौथो विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा जितेको कांस्य पदक नै यो खेलमा नेपालको पहिलो सफलता हो। एक वर्षपछि नै रसियामा सम्पन्न पाँचौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा उनै यादवले रजत पदक जितेका थिए।

त्यसयता मात्र नेपाली खेलकुदमा पारा तेक्वान्दोको चर्चा सुरु भएको हो। त्यहाँबाट सुरु भएको सफलताको यात्रा पारालिम्पिकसम्म पुग्यो। यादव हाल क्यानडामा छन्। पलेशाको यो सफलताले उनी धेरै रमाएका छन्। जीवनको ठूलो सपना पूरा भएको यादव बताउँछन्। पारा तेक्वान्दोमा आफूले देखेका सपना पलेशाले पूरा गरिदिएको उनको भनाइ छ। पारा तेक्वान्दोकै पूर्वप्रशिक्षक कल्याण कुँवर (यादवका प्रशिक्षक एवम् भाइ) ले पनि पलेशालाई बधाई दिँदै आफ्नो अधुरो सपना पूरा भएको उल्लेख गरे।

कल्याण आफैँ टोकियो पारालिम्पिकमा पलेशाको सुरुआती प्रशिक्षक थिए। त्यति बेला उनी टोकियो पदक जित्ने सपना बुन्थे। जुन अहिले पलेशाले पूरा गरिदिएकी छन्। यी दुई दाजुभाइको जस्तै यो सपना सारा नेपालीको हो। जुन सपना यसै हप्ता पेरिस पारालिम्पिकमा पूरा भयो। झन्डै ६ दशकको ओलम्पिक यात्रामा भर्खर एक दशक मात्र पार गरेको पारा तेक्वान्दोले सार्थकता बनायो। यो सफलतामा भने सुनौला अक्षरले कुद्ने काम पलेशाले गरिन्।

सन् २०१७ देखि पारा तेक्वान्दोमा यात्रा थालेकी पलेशाले छोटो समयमा नै एकपछि अर्को ऐतिहासिक सफलता दिलाइरहेकी छन्। गत वर्ष मात्र उनले एसियाली पारा खेलकुदमा कांस्य पदक जितेकी थिइन्। जुन पदक पारा एसियाली खेलकुदमा पहिलो हो। पेरिस पारालिम्पिक खेल्ने क्रममा पलेशा चीनमा सम्पन्न छनोट प्रतियोगितामा पहिलो भइन्। त्यससँगै छनोट चरण पार गरेर ओलम्पिक खेल्ने उनी नेपालकी तेस्रो खेलाडी बनिन्। पलेशाको यो यात्रा पेरिसमा पनि जारी रह्यो। पलेशाले के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनि तौलसमूहमा कांस्य पदक जितिन्। उनी यसअघि टोकियो पारालिम्पिकमा कांस्य पदक भिडन्त चुकेकी थिइन्।

‘टोकियोमा कांस्यनजिक पुगेर चुकें। यसपल्ट पनि सोही अवस्था आयो। आफूमाथि विश्वास गरें र उच्च आत्मबलले खेल्दा सफल भएँ। मबाट देशले आशा गरेको पदक दिएँ। कठिन क्षणमा आफूमाथि विश्वास गर्दा सम्भव भयो,’ उनले भनिन्,‘ अब गर्वपूर्वक नेपालसँग पनि ओलम्पिकको पदक छ भन्न सक्ने अवस्था बनेकोमा खुसी छु।’ यसपल्ट पहिलो चरणमै विश्व नम्बर एकसँग प्रतिस्पर्धामा हार बेहोरेपछि उनको स्वर्ण जित्ने सपना पूरा हुन सकेन। तर, रिपाचेजमार्फत भने उनी कांस्य पदक जित्न सफल भइन्।

उनले पारालिम्पिकमा दोस्रो प्रयासबाट यो सफलता प्राप्त गरेकी हुन्। आफूमा विश्वास गर्नु नै आफ्नो जितको सबैभन्दा ठूलो हतियार हुने उनको कथन छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बुधबार आयोजित आफ्नो स्वागत र बधाई कार्यक्रममा उनले पेरिस पारालिम्पिकमा कांस्य पदक जित्नुको आधार नै उनलाई यही कथनलाई बनाएकी थिइन्। नेपालले ओलम्पिकमा पदक जित्न सक्दैन भन्ने अवस्था अब नरहने उनको भनाइ छ। यो आफ्नो मात्र नभई देशकै पदक रहेको उनको प्रतिक्रिया थियो। अझै धेरै गर्न बाँकी रहेको उल्लेख गरेकी पलेशाको यात्रा यसमा सीमित नहुने प्रस्ट छ।

प्रशिक्षक लामा अब नेपालले पनि ओलम्पिकमा पदक जित्न सक्छ भन्ने प्रमाणित भएकोमा धेरै खुसी छन्। स्वर्ण जित्ने लक्ष्यसहित गए पनि सुरुमा समालिन नसक्दा पूरा नभएको उनको भनाइ छ। यद्यपि, यसपल्ट रिपाचेजमा कांस्य पदक जित्ने अवसर नगुमाउने रणनीतिसहित खेल्दा सफल भएको उनी बताउँछन्। लामाले पलेशाको अथक मिहिनेत र परिवारको साथबाट पनि यो पदक सम्भव भएको उल्लेख गरे। ‘मिहिनेत गर्‍यो भने ओलम्पिकमा पदक ल्याउन सक्छौं भन्ने पलेशाले प्रमाणित गरेकी छन्,’ उनले भने।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले पलेशालाई स्वागत गर्ने कार्यक्रममा नेपाली खेलकुदको एउटा सपनालाई विपनामा परिवर्तन भएको र यो सफलता प्राप्त गर्न धेरै संघर्ष गरेको धारणा व्यक्त गरे। पदक जितेपछि खेलाडीले पुरस्कार पाउने गरी कानुन नै निर्माण गरेको र सो अनुरूप पलेशाले ६५ लाख नगद पुरस्कार पाउने उनको भनाइ छ। उनले अहिले पलेशा र एरिका गुरुङ (एसियाली खेलकुदमा रजत पदक विजेता) युवाहरूका हिरोको रूपमा चर्चा गरे। घिसिङले अब मिसन २०२६ मा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित अहिले नै तयारी सुरु भइसकेको बताए। ओलम्पिकमा पदक जित्ने इतिहासमा पलेशाले खाता खोलेको उनको भनाइ छ। यो खाता पदक थप्न कैयन् खेलाडी लाग्ने उनको विश्वास छ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रको गौरव निर्माण गर्न सबैभन्दा खेलाडी र प्रशिक्षकलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

त्यसअघि नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा र प्रशिक्षक लामाको भव्य स्वागत गरिएको थियो। त्रिभुवन विमानस्थलमा पदक विजेता पलेशा र प्रशिक्षक लामाको भव्य स्वागत गरिएको हो। युवा तथा खेलकुदमन्त्री चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव घिसिङ, राखेपकै बोर्ड सदस्य अन्जना श्रेष्ठ मास्के, तेक्वान्दोकी ओलम्पियन संगीना वैद्य, पलेशाका आमाबुबा, विभिन्न खेलका राष्ट्रिय खेलाडी र हजारौं खेलकर्मीले उनीहरूलाई स्वागत गरेका हुन्। बाजागाजासहित त्रिभुवन विमानस्थलबाट पदक विजेता पलेशा, अर्का खेलाडी भरतसिंह महता र प्रशिक्षकलाई नगर परिक्रमा गराइँदै राखेपमा विशेष कार्यक्रममार्फत स्वागत र सम्मान गरिएको थियो। 

प्रकाशित: २० भाद्र २०८१ ०६:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App