२ माघ २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको दाबी: कुकर्म गर्दिनँ, देश बनाउन तल्लीन छु

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार दल फुटाउने अध्यादेश ल्याएर कुनै पनि दल फुटाउने वा जुटाउने गतिविधिमा नलाग्ने बताएका छन् । सोमबार नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित समितिलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । यद्यपि उनले राजनीतिक दल सम्बन्धी ऐनलाई सच्याउन आवश्यक भएको भने बताए । 

‘अहिले सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर भ्रम फैलाइँदै छ । यसमा कुनै सत्यता छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्तो काममा मैले कुनै पनि काम लुकीछिपी गर्दैन ।  गर्नै परे पनि खुल्लम खुल्ला दिउँसै गर्छु ।’ 

विगतमा आफूले संसदीय दल र  केन्द्रीय कमिटी दुवै ४० प्रतिशत पुर्‍याउनु पर्ने कानुनी जटिलता हटाउन खोजेको उनले बताए ।  त्यति बेला विरोध भएपछि आफूले अध्यादेश फिर्ता लिएको बताउँदै प्रधानमन्त्री ओलीले पछि विरोध गर्नेले नै ‘लाज पचाएर’ २० प्रतिशत संसद्ले पनि विभाजन गर्न पाउने व्यवस्था गरी एमाले फुटाएको बताए । उनले भने, ‘त्यस्तो कुकर्म गर्ने मेरो कुनै मनसाय छैन ।’ 

भर्खरै सरकारद्वारा जारी अध्यादेश देश विकास र जनताको हितलाई ध्यानमा राखेर ल्याइएको प्रधानमन्त्री ओलीले बताए । ती अध्यादेशबारे नेपाली कांग्रेसले विरोध गरेको भन्दै सभापति शेरबहादुर देउवाको नक्कली हस्ताक्षरको विज्ञप्ति छरेर भ्रमको खेती गर्न खोजिएको उनले बताए । ‘यस्ता झूटा र भ्रमको खेती गरी सूचनाको हकको घाँटी निमोठ्ने र लोकतन्त्रको दुरुपयोग हुन नदिन पत्रकारहरू लाग्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने । 

‘शेरा दरबार पचाउने जत्रो भुँडी छैन’

पत्रकारसँगको यो भेटमा प्रधानमन्त्री ओली प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आलोचना गर्न समेत भ्याए । शेरा दरबारलाई लिएर प्रधानमन्त्री ओलीले दाहालको आलोचना गरेका थिए । 

‘मेरो छलछाम र लुकाएर काम गर्ने आदत छैन,’ उनले भने,‘मेरो पेट शेरा दरबार पचाउने जतिको ठुलो छैन । मेरो शेरा दरबारमा कुनै रुचि पनि छैन ।’ 

आफू दिनरात काम गर्ने र देशको सेवामा तल्लीन हुने गरेको उनले बताए । ‘१० देखि ५ बजेको होइन कि २४ औँ घण्टे ड्युटी गर्ने गरेको छु । म राति होइन जे काम पनि दिउँसै खुलेरै गर्छु’, प्रधानमन्त्री ओलीले भने । 

पत्रकारिता क्षेत्रका समस्या समाधान गर्न आग्रह  

यस्तै महासङ्घको नवनिर्वाचित समितिलाई प्रधानमन्त्री ओलीले सत्य तथ्यमा आधारित समाचार तथा सूचना सम्प्रेषण गर्ने वातावरण बनाइदिन आग्रह गरे । यस्तै सरकार सामाजिक सञ्जाललाई व्यवस्थित बनाउन कानुन बनाएर जानुपर्ने धारणामा रहेको प्रस्ट पार्दै आवश्यक सहयोग गरिदिन पनि आग्रह गरे ।  

सोही अवसरमा महासङ्घकी अध्यक्ष निर्मला शर्माले महासङ्घको इतिहासमा पहिलो महिला अध्यक्ष हुन पाएर इतिहास रचेको कुरा प्रधानमन्त्री समक्ष सुनाएकी थिइन् । उनले हाल हाल पत्रकार र पत्रकारिता क्षेत्रमा देखिएको समस्याबारे आवश्यक भूमिका खेलिदिन पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरिन् ।  

सोही अवसरमा महासङ्घका महासचिव रामप्रसाद दाहालले महासङ्घका तर्फबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबारे ६ बुँदे ध्यानाकर्षण पत्र प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका थिए ।  

प्रकाशित: २९ पुस २०८१ १५:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App