राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले काठमाडौं जिल्ला अदालत परिसरभित्र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपातका विषयमा पार्टीको ध्यानाकर्षण भएको जनाएका छन्।
झाले भने, ‘वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीज्यूमाथि अदालत परिसरभित्र हातपात भएको घटनाबारे जानकारी पायाैं। कानुनी शासन र न्यायप्रति विश्वास राख्ने राजनीतिक दलको लागि यस किसिमको व्यवहार अस्वीकार्य छ।’
त्रिपाठीमाथि राष्ट्रिय स्वतन्त्र पार्टीका केही कार्यकर्ताले अदालतभित्रै हातपात गरेको बताइएको छ। रवि लामिछानेविरुद्धको थुनछेक बहस सकिएपछि आदेशको प्रतीक्षामा अदालत परिसरमा बाक्लो संख्यामा रास्वपाका कार्यकर्ता र रविका समर्थक उपस्थित भएका थिए। यही क्रममा त्रिपाठीमाथि आक्रमण भएको हो।
मनिष झाले घटनाबारे अनुशासन विभागको ध्यानाकर्षण भएको जनाउँदै दोषी भेटिए कारबाही गरिने स्पष्ट पारे। उनले भने, ‘यो विषयमा हाम्रो अनुशासन विभागको ध्यानाकर्षण भएको छ, र दोषी पाइएमा आवश्यक कारबाही हुनेछ।’
थुनछेक बहस सकिएसँगै न्यायाधीशले रविलाई धरौटीमा छाड्न आदेश दिएका छन्।
प्रकाशित: २ माघ २०८१ १७:२६ बुधबार