२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालको जितमा गोलकिपर जियारथ नायक

गोलकिपर जियारथ सेख नायक बनेपछि नेपालले पेनाल्टी सुटआउटमा यसपल्ट सफलता प्राप्त गर्दै घरेलु मैदानमा जारी साफ यु–२० च्याम्पियनसिपको उपाधिनजिक पुगेको छ।

आइतबार पेनाल्टी सुटआउटमा भुटानमाथि ४–१ को जितसँगै नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा पुगेको हो। गत वर्ष साफकै यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग सेमिफाइनलमा पराजित हुँदै उपाधि होडबाट बाहिरिएको थियो। त्यति बेला पनि जियारथ नै नेपाली टोलीका कप्तान र गोलकिपर थिए। त्यो हारको पीडा उनले बुझेका थिए। त्यति बेला दशरथ रंगशालामा भएको साफ यु–१९ को सेमिफाइनलमा पनि जियारथले भारतीय खेलाडीका दुई पेनाल्टी बचाएका थिए। यद्यपि, आफ्ना सहकर्मी खेलाडी असफल हुँदा नेपाल ३–२ ले पराजित हुन पुग्यो।

यसपल्ट साफ यु–२० च्याम्पियनसिप घरेलु मैदानमा भैरहँदा नेपालले सोही परिस्थिति सामना गर्नुपर्‍यो। आइतबार सेमिफाइनलमा नै नेपालले भुटानविरुद्ध पेनाल्टी सुटआउटको अवसर प्राप्त गर्‍यो। फेरि नेपालको गोलपोस्ट रक्षाको निम्ति थिए, उनै जियारथ। यसपल्ट उनी टोलीका कप्तान भने होइनन्। कुशल देउवा नियमित कप्तान हुन्। तर, उनी ६०औं मिनेटमा परिवर्तन भए, त्यति बेला नेपाल १–० ले पछि थियो। त्यसपछि जियारथले कप्तानको जिम्मेवारी पाए र नेपालले खेलमा पुनरागमन पनि गर्‍यो। निर्धारित समयमा १–१ कै बराबरी भएपछि फेरि सन् २०२३ को सेप्टेम्बर २७ मा भएकै परिस्थिति दोहोरियो।

एकपल्ट फेरि नेपालले सेमिफाइनल यात्रा पार गर्न पेनाल्टी सुटआउटमा सफलता पाउनुपर्ने भयो। कप्तानी आर्म ब्यान्डसहित जियारथ पेनाल्टी सुटआउटका लागि उच्च मनोबलका साथ तयार भए। यसपल्ट भने जियारथले दुई पेनाल्टी रोक्नुका साथै आफैँंले पनि गोल गरे। सहकर्मीले पनि साथ दिएपछि उनको मिहिनेतले सार्थकता पायो। ‘यसअघिका पेनाल्टी सुटआउटमा चुकेका थियौं। त्यति बेला म नै कप्तान थिएँ र त्यो पीडा मेरा लागि कठिन थियो। यसपल्ट पनि सोही अवस्था आयो र संयोगले कप्तानको आर्म ब्यान्ड पनि थियो। त्यसैले जसरी पनि रोक्छु भन्ने आत्मविश्वास थियो। यसपल्ट साथीले पनि साथ दिए,’ भावुक हुँदै जियारथले भने।  

यसपल्ट सातदोबाटोको एन्फा कम्प्लेक्स मैदानमा जियारथ फेरि उत्कृष्ट साबित भए। तर, नतिजा पनि बिर्सनलायक दोहोरिएन। पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्तान, सीमान्त थापा र जियारथले गोल गरे। भुटानको पहिलो प्रहारमा जित्सुइन दोर्जीले गोल गरे। उनी नियमित समयका गोलकर्ता पनि हुन्। त्यसपछि जियारथले जिग्मे नामगेलको प्रहार रोक्दै भुटानमाथि दबाब बनाए। उगेन दोर्जीको प्रहार पनि जियारथले असफल पारे। यससँगै नेपाल फाइनलनजिक पुग्यो। त्यसपछि जियारथ नै पेनाल्टी प्रहार गर्न आए।  जियारथले भुटानका गोलकिपर निमा लोचोलाई अर्को छेउतिर बिट गर्दै सुन्दर गोल गरे।

त्यसअघि निर्धारित समयमा पछि परे पनि नेपालले पुनरागमन गरेको हो। १० खेलाडीमा सीमित भएको अवस्थामा फाइदा लिँदै नेपाल खेलमा फर्किएको थियो। पहिलो हाफ बराबरीमै सकियो। दोस्रो हाफमा भुटानले गोल गर्दै घरेलु टोलीलाई ठूलो झड्का दियो। तर, नेपाल पुनरागमनसँगै जित पनि निकाल्न सफल भयो। खेलमा सुरुआती चुनौती भुटानबाट भयो। डिफेन्डर अश्विन घोरासैनीले चौथो मिनेटमा क्लियर गर्ने क्रममा बल फुस्काएपछि घरेलु टोलीले चुनौती सामना गर्नुपर्‍यो । तर, खेलका सहायक रेफ्रीले अफसाइड झन्डा उठाए र घरेलु टोलीलाई राहत मिल्यो।

नेपालले पहिलो अवसर छैटौं मिनेटमा बनायो।

अविनाश स्याङ्तानले लामो दूरीबाट गरेको सशक्त प्रहार दोस्रो बार हुँदै बाहिरियो। अनिल भोमजनले २७औं मिनेटमा लामो दूरीबाट गरेको महत्त्वाकांक्षी प्रहार भुटानका गोलकिपर लोचो निमाले सहजै रोके। समीर तामाङले ३५औं मिनेटमा गोल गर्ने सुन्दर अवसर खेर फाले। तीन डिफेन्डरलाई बिट गर्दै पेनाल्टी बक्सबाट उनले फितलो प्रहार गरे। पहिलो हाफमा दुवै तर्फबाट अवसर सिर्जना भए पनि गोल निस्किएन। पहिलो हाफ गोलरहित बराबरीमै सकियो। दोस्रो हाफमा नेपालले केही सुधारिएको प्रदर्शन गर्‍यो। तर, उल्टै गोल खान पुग्यो। भुटानले ५४औं उत्कृष्ट अवसर बुन्दै नेपाललाई चुनौती दियो।

किन्जाङ तेन्जिनको आक्रामण जियारथले मुस्किकले बचाए। तर, दुई मिनेटपछि भने भुटान सफल भयो। घरेलु टोलीको खराब डिफेन्सको फाइदा लिँदै जित्सुइनले करिब २२ यार्ड टाढाबाट गोल गरे। त्यो गोलसँगै नेपाल दबाबमा पर्‍यो। तर, नेपालले आक्रमण सुधार गर्दै लगातार अवसर बुन्यो। नेपालले ७०औं मिनेटमा फ्रिकिकबाट खेलमा फर्कने अवसर पायो। करिब २० यार्ड टाढाबाट अविनाशले गरेको सशक्त प्रहार भुटानका गोलकिपर निमाले पन्च गर्दै बचाए। ७७औं मिनेटमा भुटान १० खेलाडीमा सीमित भयो। सबिन घिमिरेलाई लडाएपछि भुटानका किन्जाङ तेन्जिन दोहोरो पहेंलो कार्ड सामना गर्दै बाहिरिए।

त्यसको फाइदा लिँदै एक मिनेटपछि नै नेपाल खेलमा फर्कियो। राम थापाले दिएको पासमा नीराजनले हेड गोल गर्दै नेपाललाई आशा जगाए। त्यसपछि केही सुन्दर अवसर सिर्जना भए पनि गोल निस्किएन र निर्धारित समयको खेल १–१ को बराबरीमै सकियो। उक्त खेलको निर्णयको लागि पेनाल्टी सुटआउटतर्फ धकेलियो। यसपल्ट भने पेनाल्टी सुटआउटमा सफलता प्राप्त गर्दै नेपाल फाइनलमा पुग्यो। अब नेपालले दोस्रो सेमिफाइनलमा भारत र बाङ्लादेशबीचको विजेतासँग फाइनल खेल्नेछ।

जितपछि नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले हारको अनुभव आफ्नो टोलीले पाइसकेको र यो जेनेरेसनले अब हारको पीडा नभोगोस् भन्ने चाहेको बताए। उनले अबको फाइनलमा सफलता प्राप्त गर्ने उल्लेख गर्दै उपाधि जित्ने आशा व्यक्त गरेका हुन्। त्यसैले यसपल्ट पेनाल्टी सुटआउटमा जसरी पनि सफल हुन्छौं भन्नेमा आत्मविश्वास रहेको पनि बताए। श्रेष्ठले आफ्ना गोलकिपर जियारथको क्षमताप्रति विश्वास रहेको र सोहीअनुरूप पनि उनले प्रदर्शन गरेको बताए। 

प्रकाशित: १० भाद्र २०८१ ०७:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App