२ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

खलंगालाई पर्यटकीय सहर बनाउन जुगाडखोला कोरिडोर सुरु

जुगाडखोला कोरिडोरको रेखाङ्कन गर्दै। तस्बिर: गोल्डेन बुढा/नागरिक

जिल्ला सदरमुकाम खलंगालाई व्यवस्थित, सुन्दर र पर्यटकीय सहर बनाउन जुगाडखोला कोरिडोर निर्माण सुरु भएको छ। कोरिडोर निर्माणको लागि रेखाकंन सुरु गरिएको छ।

चन्दननाथ नगरपालिकाको आग्रहमा नापी कार्यालयका कर्मचारीले जुगाडखोलाको क्षेत्र छुट्याउन थालेका छन्। बिहीबार चन्दननाथ–५ मा रहेको खलंगाको खानेपानी उपभोक्ता समिति कार्यालय नजिकैदेखि रेखाङ्कन सुरु भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए।

‘खलंगा आफैमा धेरै पहिचानले परिचित भूगोल हो। पछिल्लो समयमा अव्यवस्थित बनिरहेकाले जुगाडखोला कोरिडोर बन्ने बित्तिकै पर्यटकीय सहरका रुपमा विकसित हुने छ,’ उनले भने।

संघीय सरकारको सहरी विकास तथा भवन निर्माण आयोजना अन्तर्गत २० करोड रुपैयाँको लागतमा कोरिडोर बन्न लागेको हो। जुगाडखोलालाई स्वच्छ र हराभरा बनाउने र खलंगालाई पर्यटकीय सहरका रुपमा स्थापित गर्ने हेतुले कोरिडोरको अवधारणा अघि बढाइएको हो।

बहु वर्षीय योजनाअन्तर्गत पहिलो पटक ६ करोड रुपैयाँ लागतको ठेक्का आह्वान भएर निर्माण अघि बढ्न लागेको हो। पहिलो वर्ष १२ सय मिटर सडक बनाउन रकम विनियोजन गरिएको छ। नगरप्रमुख राजुसिंह कठायतले पहिलो चरणमा चन्दननाथ–४ मालाभिड जाने पुल र रेडक्रस कार्यालयसम्म कोरिडोर निर्माण हुने बताए। करिडोरले अतिक्रमित जुगाडखोला पहिलेकै अवस्थामा फर्किने उनले बताए।

‘जुगाडखोलाको दायाँबायाँ दुई/दुई मिटर चौडा कोरिडोर निर्माण हुनेछ,’ नगरप्रमुख कठायतले भने, ‘खोलाको दुई मिटर दूरीभित्र पर्ने घर टहरा हटाउनु पर्ने छ। पहिलो चरणमा रेखाकंन गर्ने, सार्वजनिक क्षेत्रमा परेका घर टहरा हटाउन ताकेता गर्ने र अटेर गरे नगर प्रहरी र डोजर लगाएर भत्काइने छ।’ कोरिडोरको लम्बाइ तीन किलोमिटर हुनेछ।अहिले जुगाडखोला फोहोर फाल्ने स्थान जस्तो बनेको छ। खोला अतिक्रमण गरेर घर टहरा बनिरहेका छन्।

नगरप्रमुख कठायतले भने, ‘अबको केही वर्षमा जुगाडखोला आफ्नै आकारमा कञ्चन पानी बग्ने छ। वारिपारिको क्षेत्रमा पर्यटक खेल्ने, रमाउने र मर्निङ जान उपयुक्त हुने स्थान बन्नेछ।’ तिला नदीदेखि नै कोरिडोर सुरु हुने भए पनि पहिलो चरणमा खेतीयोग्य जमिनमा प्रभावित नगर्ने नीति नगरपालिकाले लिइएको छ। कोरिडोर ‘टी’ आकारको हुनेछ।

करिडोरमा सडक बत्ती, सिसी क्यामेरा, बिचमा आकर्षक पुलहरू र आरामदायी बेन्च राखिने प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए। यहाँ पछिल्लो समयमा जनसंख्या वृद्धिसँगै खेतीयोग्य जमिन मासेर धमाधम क्रंक्रिटका घर ठडिने र व्यवसाय गर्ने नाममा खोला अतिक्रमण गरेर टहरा निर्माण भइरहेका छन्।

‘पहिले जुगाडखोलामा सफा पानी बग्थ्यो। खोलाका बिचबिचमा कुटानीपिसानी गर्ने घट्ट थिए। अहिले जुगाडखोला भेटिने बित्तिकै नाक थुन्नुपर्ने अवस्था छ,’ नगर प्रमुख कठायतले, ‘कोरिडोर बनेपछि खोला र नगरको मुहार फेरिनेछ।’

प्रकाशित: २८ भाद्र २०८१ १६:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App