३ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

भक्तपुरमा सम्पदा संरक्षण पुस्तकालय

नेपालमै पहिलोपटक सम्पदा संरक्षणसँग सम्बन्धित पुस्तकहरूको संकलन गरी पुस्तकालय स्थापना गरिएको छ। सम्पदाविद् रवीन्द्र पुरीको समन्वय र संयोजनमा यस्ता पुस्तक तथा शोध सामग्री अहिले नेपाल ल्याइएको छ। ती पुस्तक तथा सामग्री भक्तपुर कमलविनायकस्थित नेपाल भोकेसनल एकेडेमीमा (एनभिए) मा पुस्तकालय कक्ष खोलिएको हो।

चार वर्षअघि निधन भएका कोलम्बिया युनिभर्सिटीका अमेरिकी प्राध्यापक टेड रिकार्डीको नाममा ‘प्रोफेसर टेड रिकार्डी मेमोरियल रिडिङ रुम’ नेपाल कक्ष नामकरण गरी पुस्तकालय स्थापना गरिएको हो। ५० वर्षभन्दा लामो समय नेपाल र नेपाली चिनाउनमै बिताएका रिकार्डीकै नाममा पुस्तकालय कक्ष खोलेर सबै नेपाली तथा विदेशीका लागी त्यसलाई खुला गरिएको हो। मंगलबार भक्तपुरमा एक कार्यक्रमको आयोजना गरी पुस्तकालय कक्ष उद्घाटन गरिएको हो।

‘पुस्तकालयको नाम हामीले प्रोफेसर टेड रिकार्डी मेमोरियल रिडिङ रुम राखेका छौं,’ कार्यक्रममा सम्पदाविद् रवीन्द्र पुरीले भने, ‘यस ज्ञानको भण्डारबाट इच्छुकहरूले पुस्तक, सामग्री अध्ययन गर्न सक्नुहुनेछ।’

नेपालमा नै ती पुस्तकहरू पढ्न सकिने व्यवस्था उनै रिकार्डीकी पत्नी एलेन कुनको सदाशयतामा भएको पुरीले सुनाए। पुस्तकहरू विशेष गरेर सम्पदा संरक्षणसम्बन्धी रहेको उनले सुनाए।

पुस्तकालय कक्षको आवश्यक व्यवस्था रवीन्द्र पुरी फाउन्डेसन फर कन्जरभेसनले गरेको हो। पुस्तक ल्याउन र पुस्तकालय कक्ष बनाउन आवश्यक सहयोग काठमाडौंस्थित अमेरिकी दूतावासले गरेको हो। पुस्तकालयको उद्घाटन अमेरिकी राजदूत डिन आर थोम्पसनले गरेका थिए।

‘सन् १९६५ मा पहिलो पटक नेपाल आएका रिकार्डीले जीवनका पछिल्ला वर्षमा गरेको नेपाली शोध–अनुसन्धान तथा एसियाली सन्दर्भ र साहित्यिक–प्राज्ञिक कृतिको संकलन अहिले फेरि उनको योगदानको अर्को सिँढी बनेर चिनिने क्रममा छ,’ कार्यक्रममा राजदूत थोम्पसनले भने।

कोलम्बिया युनिभर्सिटीको दक्षिण एसिया अध्ययन विभाग प्रमुख छँदैदेखि रिकार्डीले पाँच हजारभन्दा बढी पुस्तकहरू संग्रह गरेका थिए। रिकार्डीको नेपालप्रतिको योगदान अत्यन्तै उच्च छ। उनले लेखक सर अर्थर कोनन डोयलको जासुसी पात्र सर्लक होम्सलाई ल्हासादेखि कोदारी राजमार्ग हुँदै काठमाडौंको असन र मधेसको जनकपुर हुँदै भारतीय सहरमा पुर्‍याएको वृत्तान्त छ।

त्यस्तै सन् १९८० को दशकमा लिच्छवीकालीन सभ्यता अन्वेषण गर्ने क्रममा मनोहरा नदीकिनार, दुमाखाल, चाँगुनारायणमा समेत रिकार्डीले केही समय बिताएका थिए। लिच्छविकालीन दरबार भद्राधिवासको अवस्थिति पहिल्याउने क्रममा पुरातत्त्व विभागको कार्यादेश लिएर उनी त्यहाँ गएका थिए। तर स्थानीय विवादमाझ त्यो काम अधुरै छाडेर रिकार्डी घर फर्किएका थिए।

त्यसबेला उत्खनन गरिएका मूर्ति, मुद्रा आदि पुरातत्त्व विभागमा अझै सुरक्षित छन्। त्यही बेला भेटिएको मानदेव अभिलेख (संवत् ५२५) लाई रिकार्डीले अंग्रेजीमा अनुवाद गरेका छन्, जुन अमेरिकी ओरिएन्टल सोसाइटी जर्नलमा प्रकाशित छ। त्यस्तै उनले मल्लकालीन हस्तलिखित इटालियन–नेवारी शब्दकोश संगृहीत गरी सन् २०१५ मा पुस्तक प्रकाशित गरेका थिए।

हाम्रो लिच्छविकालीन इतिहास र सभ्यताबारे जानकार रिकार्डीले आफूले अध्ययन विषय र अरू आफूले संकलन गरेका पुस्तकहरू, नेपाली कृति/सामग्री उनले न्यु मेक्सिको र न्युयोर्कमा राखेका कार्यक्रममा बताइयो।

त्यसमा नेपालसम्बन्धी देवनागरी भाषा (नेपाली, नेपाल, संस्कृत, हिन्दीलगायत अन्य) साथै अंग्रेजी भाषा, केही जर्मनी, फ्रेन्च लगायत इटालियन भाषामा लेखिएका अत्यन्तै महत्त्वपूर्ण, मूल्यवान् दुर्लभ पुस्तकहरू छन्।

आफ्ना पुराना मित्रहरू भोटाहिटीका नाति वज्र, रत्न पुस्तक भण्डारका शिव श्रेष्ठलगायत नेपालका प्रख्यात पुस्तक भण्डार तथा प्रकाशहरूबाट रिकार्डीले पुस्तकहरू संग्रह गर्थे। केही पुस्तकहरू त एकपटक मात्र निश्चित संख्यामा छापिएकाले पनि लाइब्रेरीमा रहने पुस्तकहरू विशेष महत्त्वका छन्। त्यस्तै केही पुस्तक त हजारौं डलर पर्ने पनि जनाइएको छ।

रिकार्डीद्वारा संगृहीत पुस्तकहरूले पश्चिमा समुदायमा नेपाल चिनाउन महत्त्वपूर्ण योगदान थियो। ती किताबहरूले पुरानो नेपाली समाज, हिमाली समुदायलगायत दक्षिण एसियाको गहिरो चित्रण गरेका छन्। साथसाथै सो समयको जर्मन, युरोपका साथै ब्रिटिस सम्राज्य तथा अवस्थाको जानकारीहरू हासिल गर्न सकिन्छ। नेपालसम्बन्धी यति धेरै महत्त्वका पुस्तकहरू भए पनि ती पुस्तकहरू नेपाली पाठकहरूको पहुँचबाहिर रहँदै आएका थिए।

प्रकाशित: २ आश्विन २०८१ ०७:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App