१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

कठिन रुट भएकाले राम्रो प्रदर्शन गर्न सकिनँ–धाविका सन्तोषी

करियरको दोस्रो पटक म्याराथन (४२.१९५ किमी) मा प्रतिस्पर्धा गरेकी नेपालकी धाविका सन्तोषी श्रेष्ठ पेरिस ओलम्पिक २०२४ मा ७९औं स्थान प्राप्त गरेकी छन् ।

उनी पेरिस ओलम्पिकमा ९२ धाविकामध्ये ७९औं भएकी हुन् । जहाँ ११ धाविकाले म्याराथन नै पूरा गर्न सकेनन् । म्याराथन पूरा गरेपछि पत्रकारसँगको कुराकानीमा सन्तोषीले पेरिस ओलम्पिकमा रुट केही कठिन रहेकाले सोचेअनुरूप प्रदर्शन गर्न कठिन भएको बताएकी छन् । ‘नेपालबाट करियरकै उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएर आएको थिएँ । यहाँ आएपछि रुट कठिन भएको जानकारी पाएँ । मेरो म्यानेजमेन्ट टिमले रुट चुनौतीपूर्ण रहेको र बिना घडी म्याराथन पूरा गर्ने तरिकाले गर्न सुझाव दिनु भयो,’उनले भनिन् । आफ्नो करियरकै चुनौतीपूर्ण कोर्सका रूपमा उनले यो म्याराथनलाई लिइन् ।

त्यसैले १५ किलोमिटरसम्म समय सुधार गर्न भन्दा पनि दूरी पार गर्न तवरबाट दौडिएको उनको भनाइ छ । ‘सुरुको १५ किलोमिटर आफ्नै लयमा खेले । त्यसपछि मात्र समयमा ध्यान दिएर दौडिएको हुँ,’उनले भनेकी छन् । यो म्याराथनमा नेदरल्यान्डकी सिफन हसनले स्वर्ण जितिन् । उनले दुई घण्टा २२ मिनेट ५५ सेकेन्डका साथ ओलम्पिक रेकर्ड राखिन् । इथोपियाकी टिगस्ट एसिफाले रजत र हेलेन ओबिरीले कांस्य पदक जिते । एसिफाले दुई घण्टा २२ मिनेट ५८ सेकेन्ड समय लगाइन् । हेलेनले भने दुई घण्टा २३ मिनेट १० सेकेन्डमा पार गरिन् । सन्तोषीले दुई घण्टा ५५ मिनेट ६ सेकेन्ड समय लगाइन् । 

सन्तोषीपछि दौड पूरा गर्नेमा भुटानकी किन्जाङ ल्हामु रहिन् । किन्जाङलाई दौड पूरा गर्न तीन घण्टा ५२ मिनेट ५९ सेकेन्ड समय लाग्यो । म्याराथन पेरिसको होटल डे भिलेबाट सुरु भएर विभिन्न भागको परिक्रमा गरी पेरिसकै इन्भेलिडेमा आएर टुंगिएको थियो । सन्तोषीले दौड पूरा गर्न लाग्दा सिफान आफ्नो राष्ट्रिय झन्डासहित समर्थकसँग खुसी साट्दै थिइन् । म्याराथन पूरा गरेपछि सन्तोषीले स्वर्ण विजेता सिफान अङ्कमाल गर्दै बधाई पनि दिइन् । ओलम्पिकको महिला म्याराथनमा नेपालले २८ वर्षपछि प्रतिस्पर्धा गरेको हो र सन्तोषी चौथो महिला नेपाली खेलाडी हुन् ।

पछिल्लो पटक विमला राना मगरले सन् १९९६ को एटलान्टा ओलम्पिकको महिला म्याराथनमा भाग लिएकी थिइन् । त्यसअघि सन् १९८८ को सिओल ओलम्पिकमा दुई धाविका राजकुमारी पाण्डे र मेनुका राउतले नेपालको प्रतिनिधित्व गरेका थिए । यस पेरिस ओलम्पिकमा नेपालका सात खेलाडीले प्रतिस्पर्धा गरे । ती कुनै पनि खेलाडीको प्रदर्शन सुखद रहन सकेन । अधिकांश खेलाडीको चुनौती प्रारम्भिक चरणमा नै सीमित हुँदा प्रदर्शन पनि राम्रो बन्न सकेन । सन्तोषीको चुनौती नै पेरिस ओलम्पिकमा नेपालको अन्तिम प्रतिस्पर्धा हो । 

यसअघि सुटिङकी सुस्मिता नेपाल, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा, जुडोकी मनिता श्रेष्ठ र ब्याडमिन्टनका प्रिन्स दाहालले चुनौती प्रस्तुत गरेका थिए । सन्तोषीको करियरको यो दोस्रो अन्तर्राष्ट्रिय म्याराथन हो । बङ्गलादेशमा सम्पन्न बंगबन्धु शेख मुजिब ढाका म्याराथन २०२४ मा उनले स्वर्ण जितेकी थिइन् । निर्धारित दूरी दुई घण्टा ४६ मिनेट २२ सेकेन्डमा पार गरेकी थिइन् । यो नै उनले दौडिएको पहिलो र एक मात्रै म्याराथन हो । त्यो समय उनले पेरिसमा सुधार गर्न सकिनन् । गत १९औं एसियाली खेलकुदमा पनि उनले सहभागिता जनाएकी थिइन् ।

सन्तोषीको मुख्य प्रतिस्पर्धा १० हजार मिटर दौड हो । यसै विधामा उनले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक पनि जितेकी छन् । नेपाललाई एथलेटिक्सतर्फ सागमा स्वर्ण दिलाउने उनी पहिलो महिला खेलाडी हुन् । ३० वर्षीय सन्तोषीले युनिभर्सालिटी कोटाअन्तर्गत पेरिस ओलम्पिकको म्याराथनमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् । नेपाल ओलम्पिक कमिटी र नेपाल एथलेटिक्स सङ्घले सन्तोषीको सहभागिताका लागि नाम सिफारिस गरेको थियो । नेपालले सन् १९६४ को टोकियो ओलम्पिकदेखि पहिलो पटक सहभागिता जनाउन थालेको थियो । हालसम्म नेपालका लागि ओलम्पिक यात्रा सहभागितामा मात्रै सीमित भएको छ । 

प्रकाशित: २७ श्रावण २०८१ १९:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App