१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

पेरिस ओलम्पिक २०२४ :दोस्रोपल्ट म्याराथनमा प्रतिस्पर्धा गर्दै सन्तोषी

पेरिस ओलम्पिक २०२४ मा नेपालबाट सहभागिता जनाएका सातमध्ये ६ खेलाडी प्रारम्भिक चरणबाटै बाहिरिसकेका छन् ।

तर, एक खेलाडीको प्रतिस्पर्धा भने बाँकी छ । ती हुन् एथलेटिक्सकी सन्तोषी श्रेष्ठ । दक्षिण एसियाली खेलकुद (साग) को इतिहासमा नेपाललाई एथलेटिक्सतर्फ स्वर्ण दिलाउने उनी पहिलो महिला खेलाडी हुन् । घरेलु भूमिमा सम्पन्न १३औं सागमा उनले १० हजार मिटर दौड ३५ मिनेट ७.९४ सेकेन्डमा पूरा गर्दै नेपाललाई स्वर्ण दिलाएकी थिइन् । गत १९औं एसियाली खेलकुदमा पनि उनले सहभागिता जनाएकी थिइन् ।

३० वर्षीय सन्तोषीले युनिभर्सालिटी कोटाअन्तर्गत पेरिस ओलम्पिकको म्याराथनमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् । नेपाल ओलम्पिक कमिटी र नेपाल एथलेटिक्स संघले सन्तोषीको सहभागिताका लागि नाम सिफारिस गरेको थियो । यो पहिलो ओलम्पिक भएको कारण आफू उत्साहित रहेको उनले बताइन् । तर, ओलम्पिक भिलेज पहिलोपल्ट देखेको कारण आफू थोरै नर्भस रहेको पनि उनले सुनाइन् । ‘बाल्यकालदेखि नै यो स्थानमा पुग्ने सपना थियो । तर, म केही नर्भस भए पनि मेरो सपनाको सुरुआत गर्दै छु । त्यसैले उत्साहित पनि छु,’उनले भनिन् । 

आफ्नो लक्ष्य राष्ट्रिय कीर्तिमान तोड्ने र समय सुधार गर्नु रहेको उनले बताइन् । बङ्गलादेशमा सम्पन्न बंगबन्धु शेख मुजिब ढाका म्याराथन २०२४ मा उनले स्वर्ण जितेकी थिइन् । निर्धारित दूरी दुई घण्टा ४६ मिनेट २२ सेकेन्डमा पार गरेकी थिइन् । यो नै उनले दौडिएको पहिलो र एक मात्रै म्याराथन हो । त्यस क्रममा उनले नेपालकै पुष्पा भण्डारीको नाममा रहेको दुई घण्टा ४८ मिनेट २ सेकेन्डको कीर्तिमान भंग गरेकी थिइन् । 

उनै सन्तोषीले आइतबार पेरिस ओलम्पिकमा नेपालको अन्तिम चुनौतीका रूपमा प्रतिस्पर्धा गदैछिन् । यसअघि सुटिङकी सुस्मिता नेपाल, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा, जुडोकी मनिता श्रेष्ठ र ब्याडमिन्टनका प्रिन्स दाहालले चुनौती प्रस्तुत गरेका थिए । यद्यपि, यी ६ खेलाडीको प्रदर्शन सुखद बन्न सकेन ।

प्रकाशित: २६ श्रावण २०८१ १८:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App