४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

हारको शृंखलामा एपिएफको पूर्णविराम

क्याप्शन

विभागीय टोली एपिएफ फुटबल क्लबले ललित स्मृति यु- १८ युथ लिगमा हारको शृंखलामा पूर्णविराम लगाउँदा एफसी खुमलटारले खराब प्रदर्शनलाई निरन्तरता दिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको पहिलो खेलमा एपिएफले चर्च ब्वाइजलाई २-१ ले पराजित गर्दै हारको शृंखलामा पूर्णविराम लगाएको हो। अर्को खेलमा भने खुमलटारले थ्री स्टार क्लबसँग ०-४ को हार बेहोर्‍यो। यो खुमलटारको सातौं हार हो।

चौथो जितसँगै थ्री स्टारले आठ खेलबाट १३ अंक जोडेको छ। अघिल्ला चार खेलमा पराजय बेहोरेको एपिएफले समान खेलबाट १० अंक जोडेको छ। चर्च ब्वाइजको १३ अंक रहँदा पुछारमा रहेको खुमलटार तीन अंकमै खुम्चिएको छ।

एपिएफलाई जित दिलाउन अमन मोक्तान र पवन पाख्रिनले गोल गरे। शिशिर यसमालीले गरेको गोल सान्त्वना बन्यो। २१औं मिनेटमै अमनले गोल गर्दै एपिएफलाई सुरुआती अग्रता दिलाएका थिए। उनले करिब ३० यार्डबाट प्रहार गरेको फ्रिकक बल सीधै गोलमा परिणत भयो।

त्यो अग्रता पहिलो हाफसम्म मात्रै सीमित रह्यो। ६९औं मिनेटमा शिशिरले गोल गर्दै चर्च ब्वाइजलाई खेलमा फर्काएका थिए। तर, निर्धारित ९० मिनेटको खेल सकिन केही सेकेन्ड बाँकी रहँदा पवनले गोल गर्दै चर्च ब्वाइजले हासिल गरिसकेको एक अंक पनि खोसिदिए।

अर्को खेलमा भने खुमलटारले एपिएफझैं हारको शृंखलामा पूर्णविराम लगाउन सकेन। प्रतियोगिताकै कमजोर टोली खुमलटारलाई पराजित गर्न रोमन श्रेष्ठले दुई गोल गरे। यस्तै, क्याप्टेन बोगटी र सुनील स्याङ्तानले समान एक गोल थपे।

छैटौं मिनेटमै रोमनले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाए।। त्यसको चार मिनेटपछि नै क्याप्टेन बोगटीले अग्रता दोब्बर बनाए। दोस्रो हाफमा थ्री स्टारले थप दुई गोल थप्यो। ६८औं मिनेटमा सुनीलले थ्री स्टारका लागि तेस्रो गोल थपे।

यस्तै, निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा रोमनले व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गर्दै तीन अंक दिलाए।

प्रकाशित: २६ श्रावण २०८१ ०७:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App