नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले टेस्ट राष्ट्र भारत र पाकिस्तानसँग खेल्दा नेपालसँग पनि सम्भावना छ भन्ने प्रमाणित भएको बताएकी छन्।
श्रीलङ्कामा जारी महिला एसिया कपमा खेलेर स्वदेश फर्कने क्रममा बिहीबार त्रिभुवन विमानस्थल कप्तान इन्दुले सो धारणा राखेकी हुन् । साथै उनले एसिया कपजस्तो ठूला प्रतियोगिता खेल्न धेरै पक्ष सुधार गर्नुपर्ने आवश्यक रहेको पनि बताएकी छन्।
श्रीलङ्कामा जारी महिला एसिया कपमा खेलेर स्वदेश फर्कने क्रममा कप्तान इन्दु भारत र पाकिस्तानजस्तो बलिया टोलीसँग खेल्न धेरै पक्षमा सुधार आवश्यकता रहेको औँल्याएकी हुन्। एसिया कपमा ऐतिहासिक सफलता निकाले पनि ठूला टोलीविरुद्ध जित निकाल्न ब्याटिङ, बलिङ र फिल्डिङमा सुधार गरे भारत र पाकिस्तानसँग जित्न सकिने बताइन्।
महिला ट्वान्टी–२० एसिया कपमा सहभागिता जनाएको नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ। नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यवाहक सदस्यसचिव अन्जन धमला र सदस्य प्रकाशकुमार कुसारीले स्वागत गरेका थिए। प्रतियोगितामा तीन खेल खेलेको नेपालले एक जित र दुई हारको नतिजा निकाल्यो। पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले हराएको थियो।
एसिया कप इतिहासमा नेपालको यो पहिलो जित हो। जसरी नै युएई सँग जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको र सफल पनि भएको नेपालकी कप्तान इन्दुले बताइन्। पाकिस्तानसँग पनि राम्रो खेल्दै सेमिफाइनलमा पुग्ने लक्ष्य राखे पनि सोचेअनुरूप हुन नसकेको उनको भनाइ छ। तर, टेस्ट राष्ट्रसँग खेल्दा नेपालसँग पनि सम्भावना छ भन्ने प्रमाणित भएको कप्तान इन्दुको विश्वास छ।
नेपालले पाकिस्तानसँग नौ विकेट र भारतसँग ८२ रनको हार ब्यहोरेको थियो। नेपालले फ्लड लाइटमा खेल्दा फिल्डिङ केही गल्ती गरेको थियो। तर, फ्लड लाइटका कारण धेरै समस्या नभएको नेपाली टोलीकी कप्तान इन्दुले बताइन्। भारत र पाकिस्तानजस्तो राम्रो टोलीसँग खेल्दा दबाबका बिच कसरी खेल्ने लगायत धेरै कुरा पनि सिकेर आएको उनले बताएकी छन् । नेपालले तेस्रो पटक एसिया कप खेलेको हो।
तेस्रो पटक एसिया कप खेलेको नेपालले ऐतिहासिक सफलता निकाले पनि समूह चरण पार गर्न सकेन। एसिया कपको इतिहासमा आफ्नो कुल ११ खेलमा एक जितसहित नेपाल फर्किएको हो। यसअघि सन् २०१२ र २०१६ मा नेपाल जितविहीन हुँदै फर्किएको थियो। नेपाल सन् २०१२ मा नेपाल बङ्गलादेश, श्रीलङ्का र चीनसँग पराजित भएको थियो। यसै गरी सन् २०१६ को पछिल्लो उपस्थितिमा नेपालले भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र थाइल्यान्डसँग हार ब्यहोरेको थियो।
प्रकाशित: १० श्रावण २०८१ १७:५७ बिहीबार





