१४ भाद्र २०८१ शुक्रबार
image/svg+xml
खेल

काभा महिला च्याम्पियनसिपः ‘डेब्यु प्रतियोगिता’ मै नेपालको उपाधि लक्ष्य

नेपालले आज सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० महिला च्याम्पियनसिपमा आज पहिलो खेल खेल्दैछ। नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकाको सामना गर्न लागेको हो।

जेनिशा विकको कप्तानीमा रहेको नेपाली टोलीले पहिलो पटक काभाको उमेर समूहको प्रतियोगिता खेल्न लागेको हो। नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजेबाट सुरु हुनेछ। नेपालले आफ्नो डेब्यु खेलमै उपाधी लक्ष्य राखेको छ।

नेपाली घरेलु भलिबलका उच्चस्तरका प्रशिक्षक को हुन् भनेर कसैले प्रश्न सोधे फ्याट्ट आउने उत्तर हो, कुमार राई।

कुमारका अनेकन परिचय छन्। नेपालको पूर्वी पहाडी क्षेत्र संखुवासभाबाट उच्च शिक्षा हासिल गर्न काठमाडौं छिरेका कुमारले यहाँ नै कर्मथलो बनाए। पेसाले उनी शिक्षक हुन्। सँगै भलिबलप्रतिको मोह पनि अगाडि बढाए। पछि खेलकुदमा उनी उत्कृष्ट महिला भलिबल खेलाडी उत्पादन गर्ने प्रशिक्षकबाट परिचत भए। यहीबाट उनी नेपालको भलिबल क्षेत्रमा सबैका ‘कुमार सर’ भए। महिला भलिबलमा कुमार सर स्थापित प्रशिक्षक हुँदा न्यु डायमन्ड एकेडेमी छुट्ने कुरै भएन।

किनकि यही विद्यालयका ससाना विद्यार्थीलाई भलिबल सिकाउँदै उनी आफैँ मात्र सफल प्रशिक्षक भएनन् यहाँका विद्यार्थी पनि देशका चर्चित खेलाडी बने। एक समय नेपालका चर्चित स्पाइकर रमिला तण्डुकार, रेश्मा भण्डारी, पछिल्ला पुस्ताका उत्कृष्ट स्पाइकर प्रतिभा माली, लिबेरो सलिना श्रेष्ठ र लिफ्टर कृपा अधिकारी (हाल आर्मीकी कप्तान) उनै कुमार सरका उत्पादन हुन्।

उनको प्रशिक्षणमा न्यु डायमन्ड क्लब पनि घरेलु प्रतियोगितामा विभागीय टोलीलाई कडा चुनौती दिने टोली बन्यो। कयौं पटक सानासाना विद्यार्थीको साथमा उनको न्यु डायमन्ड एकेडेमी (हाल क्लब) विभागीय टोलीलाई स्तब्ध महिला भलिबल प्रेमीमा लोकप्रिय छवि बनाउन सफल रह्यो। विद्यालयमा पढ्ने कलिलै उमेरका विद्यार्थीदेखि लिएर नेपाल आर्मी, पुलिस, एपिएफ, गण्डकीलगायात बलिया सिनियर र राष्ट्रिय खेलाडीले भरिएको क्लबसँग प्रतिस्पर्धा गरेर उनले सबैथोक जिते।

यति मात्रै होइन, यही क्लबबाट पछिल्ला समय प्रगति नाथलगायतका अन्तर्राष्ट्रियस्तरका खेलाडी पनि जन्माए। महिला भलिबलमा उनको क्षमताका कारण उनले नेपाली यु–२० महिला टोलीको प्रशिक्षण जिम्मेवारी पनि पाए । उनै कुमार अहिले यु–२० राष्ट्रिय टोलीको प्रशिक्षक छन्। उनले यही आजदेखि माल्दिभ्सको मालेमा हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० महिला च्याम्पियनसिपमा प्रशिक्षकको भूमिका डेब्यु गर्नेछन्। र, लक्ष्य राखेका छन् उपाधि जित्ने।

‘कम उमेरका खेलाडी लिएर हामी सिनियर खेलाडी भएको टोलीसँग घरेलु प्रतियोगितामा लडिरहेका थियौं। तर, काभामा हाम्रो प्रतिस्पर्धा सिनियर भर्सेस जुनियरको हुने छैन, समान स्तरको हुनेछ। त्यसैले मलाई यसपल्ट अलिक सहज लागेको छ र सपना पनि उपाधि जितेको नै देखिरहेको छु,’ उनी भन्छन्। सिनियरस्तरमा नेपाली महिला भलिबलको उचाइ बेग्लै छ।

टोलीले सन् २०१९ र २०२१ मा लगातार दुईपल्ट एभिसी सेन्ट्रल जोन च्याम्पियनसिपको उपाधि जितेर इतिहास नै रचेको थियो। पछिल्लो संस्करणमा भने नेपाल तेस्रो बन्यो। यद्यपि, उमेरसमूहमा भने नेपालको यो नै पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो। उमेरसमूहदेखि नै भलिबलको विकास गर्ने लक्ष्यसहित नेपाल भलिबल संघले प्रतियोगिता गराउने र अन्तर्राष्ट्रियस्तरमा पनि सहभागिता गराउने योजना बनाएको छ । यही योजनाअनुसार कुमारलाई पहिलोपल्ट प्रशिक्षकको जिम्मेवारी सुम्पिँदै टोलीलाई माल्दिभ्स पठाइएको हो। माल्दिभ्स पुगेको टोलीमा प्रायः खेलाडीले सिनियर स्तरका घरेलु प्रतियोगिता खेल्दै आएका छन्। यही प्रतियोगिताबाट उनीहरूले सिनियर राष्ट्रिय टोलीमै स्थान बनाइसकेका छन्। त्यसमा पनि कतिपय त एकै टोलीबाट घरेलु प्रतियोगिता पनि खेल्दै आएका छन्।

अहिले यु–२० टोलीमा रहेका सलिना बुढामगर, जेनिशा विश्वकर्मा, एलिसा मानन्धर, निशा महर, भावना तामाङ र एन्जिला प्रधान न्यु डायमन्डकै उत्पादन हुन्। यो क्लबको प्रशिक्षक कुमार नै भइहाले। यस्तै, निशा चौधरी, मीना सुनार र आरती चौधरी लुम्बिनी प्रदेशका हुन्। तर, यी तीन खेलाडी लुम्बिनीका भए पनि एभरेस्ट भलिबल क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएका छन्। अझ निशा र मीना त सिनियर राष्ट्रिय टोलीको प्रशिक्षणमा पनि छन्।

यस्तै, सुदूरपश्चिमकी स्नेहा ठगुन्ना तथा गण्डकीकी आशिका क्षेत्री भने पुलिस र आर्मीबाट खेल्छन्। यी खेलाडी गत असार १६ गते सम्पन्न सहाना प्रधान स्मृति यु–१९ भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै टोलीमा छनोट भएका हुन्। त्यसैले यी खेलाडीले एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दै बुझ्ने मौका पाएका छन्।

कुमारले पनि सबैको खेल नजिकैबाट नियालेका छन्। ‘सबै खेलाडी सशक्त छन्। विभागीय टोलीसँग खेलिसकेको भएर टोलीमा अनुभव खेलाडी छन्। अझ प्रायः एकै टोलीबाट खेलेका छन्। बागमतीले किन उपाधि जित्यो भन्दा सबै खेलाडी न्यु डायमन्डबाट नै खेल्दै आएका थिए। त्यसैले पनि तालमेल मिलेको थियो। अहिले यी खेलाडीबीच त्यस्तै राम्रो तालमेल छ। त्यसैले राम्रो प्रदर्शन गर्छन् भने आशा छ,’ कुमार सुनाउँछन्।

लगानी थपिने आस

प्रतियोगितामा आयोजक माल्दिभ्स र नेपालसँगै किर्गिस्तान र श्रीलंकासहित चार टोलीले प्रतिस्पर्धा गर्दै छ।

सिंगल राउन्ड रोबिनका आधारमा सबै टोलीले एकआपसमा खेलेपछि सेमिफाइनल खेल हुनेछ। लिगमा पहिलो हुने र चौथो हुने तथा दोस्रो हुने र तेस्रो हुनेबीच सेमिफाइनल खेल हुनेछ। फाइनल खेल आगामी मंगलबार हुनेछ। प्रतियोगिताको पहिलो खेल नेपाली समयअनुसार राति ८ः३० बजे हुनेछ। तर, यो युवा टोलीसँग कृत्रिम प्रकाशमा खेलेको अनुभव छैन। त्यसले केही समस्या भने हुनेछ। किनकी जति खेल नेपालमा हुन्छ त्यो दिउँसै नै हुन्छ। त्यसै कारण होला कप्तान जेनिशा विश्वकर्मा अलिक अतालिएकी छन्। ‘हामीसँग राति खेलेको अनुभव छैन। त्यसैले असहज हुन्छ जस्तो लाग्छ। तर, जो विपक्षी आए पनि हराउँछौं भन्ने आत्मविश्वास छ,’ उनी भन्छन्।

नेपालमा पछिल्लो समय क्रिकेट र फुटबलको चर्चा ह्वात्तै बढेको छ। क्रिकेट टोलीले त एक दशकको अन्तरालमै छोटो ‘फम्र्याट’का दुई विश्वकप पनि खेलिसकेको छ। यस्तै, एकदिवसीय एसिया कपमा पनि भारत र पाकिस्तानसँग खेलेर इतिहास बनाएको छ। फुटबल टोली पनि दक्षिण एसियामा साफ च्याम्पियनसिपमा उपविजेता बनिसकेको छ। यी दुई खेलका पर्याप्त घरेलु प्रतियोगिता छन्।

तर, राष्ट्रिय खेल भलिबल भए पनि यसका सीमित प्रतियोगिता मात्रै हुँदै आइरहेको छ। कप्तान जेनिशा पहिलो सहभागितामै उपाधि जिते भलिबलमा पनि लगानी बढ्ने अपेक्षा गर्छिन्। ‘जितेर आयौं भने आफ्नो देशको नाम र इज्जत पनि बढ्छ। क्रिकेट र फुटबलझैं भलिबलको पनि अझ विकास हुन्छ, सबैले लगानी गर्छन् भन्ने आशा छ। त्यसैले हामीले पहिलो सहभागितामै राम्रो प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्य राखेका छौं,’ उनले भनिन्।

प्रकाशित: ३ श्रावण २०८१ ०९:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App