२९ भाद्र २०८१ शनिबार
image/svg+xml
राजनीति

गौरा विसर्जनमा आरजु धनगढी पुग्दा समर्थकको ओइरो

मन्त्री राणा निवासमा पुगेपछि कार्यकर्ता तथा समर्थकहरूले देउडा खेल्नुका साथै तथा अठवाली गाएका थिए। तस्बिरः पुष्पराज जोशी/नागरिक

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालाई गृह नगर धनगढीमा भव्य स्वागत गरिएको छ।

बुधबार बिहान धनगढी विमानस्थलमा मन्त्री राणालाई समर्थक तथा कार्यकर्ताले भव्य स्वागत गरेका हुन्। राणा मन्त्री भएपछि पहिलो पटक धनगढी आइपुगेकी थिइन्।

उनको स्वागतका लागि सयौँ कार्यकर्ता तथा समर्थकहरू विमानस्थलमै पुगेका थिए। उनीहरुले नाराबाजी गर्दै विमानस्थलबाट देउवा निवास उत्तरबेहडीसम्म ¥याली गरेका थिए।

मन्त्री राणाको स्वागतमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा, सामाजिक विकास मन्त्री मेघराज खड्का, राज्य मन्त्री सरस्वती खड्कालगायतका मन्त्री तथा प्रदेश सभा सदस्यहरूको उपस्थिति रहेको थियो।

मन्त्री राणाले उत्तरबेहडीस्थित देउवा निवासमा पुगे लगत्तै गौरा देवीको दर्शन गर्नुका साथै पूजा अर्चना गरेकी थिइन्। मन्त्री राणाले गौराको पूजा अर्चनापछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै गौरा पर्वले सामाजिक एकता र भाइचाराको सम्बन्ध स्थापित गरेको बताइन्।

उनले भनिन्, ‘गौरामा परम्परागत गीत खेल्दा या देउडा खेल्दा एक आपसमा हात जोडेर खेलिने हुँदा त्यसले नै सामाजिक एकतालाई जोडेको आभास गराउँछ।’ हरेक वर्ष गौरा पर्व मनाउन मन्त्री राणा धनगढीस्थित घरमा आउने गरेको बताउँदै उनले भनिन्, ‘धनगढी घरमा हामी हरेक वर्ष गौराको पूजा अर्चना गर्दै आएका छौँ। यही अवसरमा यसपटक पनि गौरा पूजनका लागि धनगढी आएकी हुँ।’ शनिबारदेखि आफूले गौराको व्रत बसेको बताउँदै उनले भनिन्, ‘कार्य व्यस्तताका कारण यसपटक गौरा विसर्जन गर्न ढिलो गरी धनगढी पुगेँ।’ 

प्रकाशित: १२ भाद्र २०८१ १४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App