१४ भाद्र २०८१ शुक्रबार
image/svg+xml
खेल

घरेलु फुटबलका ६ चर्चित खेलाडी चर्च बोइजमा

डेब्युमै ‘ए’ डिभिजन लिग जितेको चर्च बोइज युनाइटेडले एफसी च्यालेन्ज लिगको प्रारम्भिक चरण छनोटका लागि घरेलु फुटबलका ६ चर्चित खेलाडीलाई टोलीमा समेटेको छ।

दशरथ रंगशालामा साउन २९ मा भुटानको पारो एफसीविरुद्ध हुने प्रतियोगिताका लागि क्लबले राष्ट्रिय टोलीका वर्तमान सर्वाधिक १३ गोलकर्ता तथा फरवार्ड अञ्जन विष्ट, विंगर आयुष घलान, मिडफिल्डर एरिक विष्ट, डिफेन्डरद्वय अनन्त तामाङ तथा सनिश श्रेष्ठ र गोलरक्षक दीप कार्कीसँग सम्झौता गरेको हो।

क्लबका अध्यक्ष रुवेन राईका अनुसार लिगमा मनाङ मस्र्याङ्दीको कप्तानी सम्हालेका दीप, संकटाका आयुष र एपिएफका सनिशसँग नयाँ सम्झौता गरिएको हो भने अन्यसँग सम्झौता नवीकरण गरिएको हो। ‘दीप, आयुष र सनिशबाहेक तीन खेलाडीले चर्च बोइजबाटै लिग खेलेका थिए। तर, बीचमा सम्झौता सकिएको थियो। हामीले च्यालेन्ज लिग खेल्ने भएसँगै उनीहरूसँग सम्झौता नवीकरण गरिएको छ,’ उनले भने, ‘दीप भने मोफसलका प्रतियोगितामा हामीसँगै थिए। उनलाई पनि निरन्तरता दिएका छौं।’

चर्च बोइजले लिग जित्दा अनन्तले कप्तानी गरेका थिए भने अञ्जनले सात गोल गरेका थिए। यस्तै, एरिक टोलीका महत्त्वपूर्ण सदस्य थिए। लिगमा आठ ‘क्लिन सिट’ राखेका दीप भने पछिल्लो समय राष्ट्रिय टोलीमा पर्न छाडेका छन्। मोफसलका प्रतियोगिता खेल्दा उनी चर्च बोइजको कप्तानी ‘आर्म ब्यान्ड’मा देखिँदै आएका थिए। राईका अनुसार दीपलाई यही च्यालेन्ज कपसम्मका लागि क्लबमा भित्र्याएको हो। 

‘विदेशी गोलरक्षक (प्रिसो) फर्किएपछि दीप पछिल्लो समय हाम्रा नियमित गोलरक्षक बनेका छन्। उनले यो प्रतियोगितामा राम्रो प्रदर्शन गरे निरन्तरता दिन पनि सक्छौं,’ उनले भने। यी तीन खेलाडीसँगै चर्च बोइजले दुई विदेशी खेलाडीसँग पनि सम्झौता गर्ने तयारी गरेको छ। राईका अनुसार अझै पनि क्लबले पूर्ण टोली निर्माण गरेको छैन। यद्यपि, मुख्य प्रशिक्षक बालगोपाल महर्जनलाई निरन्तरता दिएर प्रशिक्षण भने थालिसकेको छ।

चर्च बोइजले पारोसँगै खेल्दै एएफसीको प्रतियोगितामा डेब्यु गर्नेछ। गत वर्ष लिग विजेता चर्च बोइजसँग एफसी क्लब लाइसेन्स नहुँदा उपविजेता मच्छिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्ने मौका पाएको थियो। पहिलो राउन्डमा भुटानको पारो एफसीलाई घरेलु मैदानमा ३–२ गोल अन्तरले पाखा लगाउँदै मच्छिन्द्र अर्को राउन्डमा पुगेको थियो।

तर, दोस्रो राउन्डमा भारतको मोहन बगानले घरेलु मैदान साल्ट लेक स्टेडियममा मच्छिन्द्रलाई ३–१ गोलअन्तरको हराउँदै नेपाल फर्काइदिएको थियो। यसपल्ट भने क्लब इजाजतपत्र एकाइ निर्णय गर्ने निकाय फस्र्ट इन्स्टेन्स बडी (एफआइबी) ले चर्च बोइज र आर्मीलाई २०२४/२०२५ का लागि क्लब लाइसेन्स दिएको थियो। 

क्लब फुटबलको न्यूनतम मापदण्डमा आफ्नै खेलमैदान, प्रशिक्षण मैदान र एकेडेमी हुनैपर्छ। तर, नेपालको शीर्ष डिभिजनका अधिकांश क्लबसँग आफ्नै मैदान र एकेडेमी छैन। यही कारण ‘ए’ डिभिजनका दुई क्लबबाहेक अन्यले लाइसेन्स पाएनन्। र, लिग विजेता पनि भएका कारण चर्च बोइजलाई प्रतियोगिता खेल्ने बाटो खुलेको हो।

प्रकाशित: ३ श्रावण २०८१ ०६:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App