२९ भाद्र २०८१ शनिबार
image/svg+xml
शिक्षा

‘समुदाय स्वास्थ्य निरूपण’, विद्यार्थीको उत्साहपूर्ण अभियान

त्रिभुवन विश्वविद्यालय अन्तर्गत महाराजगन्ज मेडिकल क्याम्पसका विद्यार्थीहरूले नुवाकोटको बेलकोटगढी नगरपालिकामा ‘समुदाय स्वास्थ्य निरूपण’ अभियान सञ्चालन गरेका छन्।

स्थानीय सरकारसँगको सघन सहकार्यमा विद्यार्थीहरूले करिब एक महिनासम्म नगरपालिकाभित्रका घर-घरमा पुगेर खानेपानी, खानपान, सरसफाइ र स्वास्थ्य अवस्थाको गहन अध्ययन गरी प्रतिवेदन तयार गर्नेछन्।

यस अभियानमा सय जनाको संख्यामा विद्यार्थीहरूको सहभागिता रहनेछ। उक्त संख्या १२ समूहमा विभाजित भई ८/९ जनाको टोली बनाएर प्रत्येक वडामा पुग्ने अभियानमा सहभागी विद्यार्थी अनुपम बस्नेतले जानकारी दिए।

“समुदाय स्वास्थ्य निरूपण’ अभियान अन्तर्गत एक महिने कार्यक्रमका लागी हामी नुवाकोटको बेलकोटगढी नगरपालिका, वडा नं-१ मा आएका छौं,” विद्यार्थी अनुपम बस्नेत भन्छन् “हामीले यहाँको सामाजिक नक्सा समेत निर्माण गरिसकेका छौं, जसले वडाको सम्पूर्ण क्षेत्रलाई अवलोकन गर्न र विभिन्न स्थलहरू पहिचान गर्न सहज बनाउनेछ।”

विद्यार्थीहरूले सामाजिक नक्सा निर्माणमा स्थानीय स्रोतसाधनको उपयोग गर्दै वडाका प्रमुख स्थलहरूमा ध्यान केन्द्रित गरेका छन्। “यो नक्साले वडाका महत्त्वपूर्ण स्थलहरू, विशेष गरी पर्यटन क्षेत्रलाई पनि सम्बोधन गरी पर्यटकहरूलाई वडाको झल्को दिनेछ,” बस्नेतले भने।

उनका अनुसार यस अभियानका क्रममा वडा नं-१ को सामाजिक नक्सा निर्माण गरिएको छ। जसमा स्थानीय स्रोतसाधनको उपयोग र श्री बेलकोट भञ्ज्याङ माध्यमिक विद्यालयका शिक्षक-शिक्षिका, विद्यार्थी र जनप्रतिनिधिको सहयोग महत्त्वपूर्ण रहेको अनुपम सुनाउँछन्।

सिनेट बिष्टको नेतृत्वमा सञ्चालित टोलीमा अनुपम बस्नेत, डेविड भण्डारी, प्रभात निराला, दिया तामाङ, श्रीया आचार्य, कृतिका गिरी, र विक्रम महता छन्। उनीहरूको समर्पण र सक्रियताले यस अभियानलाई सफल बनाउने अपेक्षा राखिएको छ।

विद्यार्थीहरू यहाँ आएका २/३ दिन मात्र भएको भए पनि उनीहरूले एक महिनाको अवधिमा महत्त्वपूर्ण कार्यहरू सम्पन्न गर्ने लक्ष्य लिएका छन्। एक महिने अभियान सकिएपछि विद्यार्थीहरूले तयार पारेको प्रतिवेदन वडा, स्थानीय तह र विद्यालयमा बुझाउने छन्। जसले यहाँका समस्याहरूलाई सम्बोधन गरी समस्याहरूको उपाय खोज्न वडालाई सघाउ पुर्‍याउने छ।

विद्यार्थीहरू महाराजगन्ज मेडिकल क्याम्पसकै नेतृत्वमा खटिएका हुन्।

प्रकाशित: १३ भाद्र २०८१ २३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App