२ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीको दाबीः अब भ्रष्टाचारका काण्ड सुन्नुपर्दैन

प्रधानमन्त्री केपी शर्मा ओलीले अब भ्रष्टाचारका काण्ड सुन्न नपर्ने दाबी गरेका छन्। शनिबार राजधानीमा आयोजिक एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशलाई अब नयाँ ढंगबाट अगाडि बढाउन चाहेको भन्दै भ्रष्टाचारका कुरा सुन्नु नपर्ने बताएका हुन्।

‘हामी नेपाललाई अब नयाँ ढंगले अघि बढाउन चाहिरहेका छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘अब आगामी दिनमा धेरै ठूलाठूला भ्रष्टाचारका काण्डहरू आदि इत्यादि, साना ठूला केही सुन्नपर्ने छैन भन्ने म ठान्छु।’ बैंकबाट सजिलै ऋण प्राप्त गर्न र सरकारका सेवा प्राप्त गर्न निकै सहज बनाइने बताउँदै प्रधानमन्त्री ओलीले त्यसो हुँदा भ्रष्टाचारका कुरा सुन्नु नपर्ने बताएका हुन्।

‘हामीले सेवाको तरिकालाई अलिकति परिवर्तन गरेका छौँ। पहिलाको तरिका भन्दा, फाइल रोकेर एक ठाउँमा बस्ने तरिका, यस्ता कुराहरु हुने छैनन्। फाइल फटाफट सर्छ,’ प्रधानमन्त्री ओलीले भने।

अहिले सरकारले एउटा पद्धति विकास गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अगाडि भने, ‘एक ठाउँबाट सुरु भएको फाइल त्यो प्रधानमन्त्री कार्यालयले थाहा पाउँछ की कुन फाइल कहाँनेर पुगेको छ र कहाँ बसेको छ ? त्यो हामीले फाइल ट्रयाकिङ सिस्टम अपडेट गरेका छौँ। त्यस फाइल ट्रयाकिङ सिस्टमले साधारण हिसावले हामीले क्युआर कोर्ड राखिदिएका छौँ, त्यो क्युआर कोड ट्रयाकिङ प्रधानमन्त्री कार्यालयले गर्नसक्छ। कहाँनेर छ, त्यो फाइल भनेर ट्रयाकिङ गर्छ।’ 

फाइल कहाँ अल्झियो, किन घर्रामा यति समय बस्यो ? भरसक फाइलहरू टेबलमाथिबाट घर्रामुनि छिर्न नपाउन् भनेर यो पद्धति विकास गरिएको उनले बताए। ‘घर्रामा फाइलहरूको बास नहोस्, त्यस ढंगले हामीले काम गर्न खोजिरहेका छौँ। त्यसअनुसारको प्रवन्ध गरिरहेका छौँ। छिटो छरितो ढंगले तपाईंहरुले सरकारी सेवा पाउनु हुनेछ,’ उनले भने।

सरकारी सेवा डिजिटल फ्रेमवर्कमा ढालेर डिजिटल नेपालको परिकल्पनाका साथ काम भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट पाउने सुविधाहरू लिँदा घुस खुवाउनु नपर्ने पनि दाबी गरे। ‘काम गरेबापत कुनै नजाराना केही चढाउनुपर्ने छैन। कतै भन्सुन गर्न जानुपर्ने छैन। त्यस प्रकारको परिपाटी हामी बिस्तार गर्दैछौँ,’ उनले भने।

प्रकाशित: २९ भाद्र २०८१ १३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App