१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

गुरुका सपना पूरा गर्दै मनिता

१५ वर्षअघि जुडो खेल्न पहिलोपल्ट म्याटमा ओर्लंदा मनिता श्रेष्ठ प्रधानलाई उनका गुरु सूर्यनारायण श्रेष्ठले भनेका थिए, ‘मैले त ओलम्पिक खेल्न सकिनँ। तर, तिमीले मेरो सपना पूरा गर्न खेल्नू।’

सन् १९८८ को दक्षिण एसियन च्याम्पियनसिप र १९९० को ११औं एसियन गेम्सलगायत केही अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका सूर्यनारायणलाई ओलम्पिकको परिभाषा थाहा नहुने कुरै भएन। तर, भर्खरै आठ वर्षमा टेकेकी मनितालाई ओलम्पिक भनेको के थाहा र? त्यही पनि सूर्यनारायण उनीलगायत अन्य बालबालिकाको कलिलो मस्तिष्कमा बलियो सपना बिजारोपण गर्न दिनहुँजसो त्यही कुरा दोहोर्‍याइरहन्थे।

त्यसैले मनितालाई झर्काे नै लाग्थ्यो र रिसाउँदै कहिलेकाहीँ भन्थिन्, ‘ह्या गुरुले कति पटक एउटै कुरा दोहोर्‍याउनुभएको होला ?’ अहिले तिनै मनिता जोडतोडसाथ उनै गुरु सूर्यनारायणले मस्तिष्कमा रोप्दिएको ओलम्पिकको बिरुवालाई हुर्काउने तयारी गरिरहेकी छन्। उनी यही जुलाई २६ देखि फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने ओलम्पिकमा सहभागी हुँदै छिन्।’

मनिताले कुनै वैदेशिक प्रशिक्षण लिन पाएकी छैनन्। तर, राष्ट्रिय खेलकुद परिषद्ले गत माघदेखि नै सञ्चालन गरिरहेको ‘मिसन २०२६’ अन्तर्गत राष्ट्रिय टिम तयारी विशेष प्रशिक्षण गरिरहेकी छन्। बिहान पूर्वखेलाडी चन्द्रकुमार डंगोल र बेलुका पूर्वओलम्पियन देवु थापासँग प्रशिक्षण गरिरहेकाले पनि उनीबाट धेरै आशा गरिएको छ।

पेरिस उड्नुअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रशिक्षण गरिरहेकी उनी निकै उत्साही देखिन्छिन्। ‘त्यो बेलामा गुरुले सधैं प्रशिक्षणपछि लेक्चर दिनुहुन्थ्यो। एकै कुरा सुनाइरहँदा रिस पनि उठ्थ्यो। तर, अहिले सोच्दा हाम्रै लागि भन्नुभएको रहेछजस्तो लाग्छ,’ २५ वर्षीय मनिताले भनिन्।

मनिताको जुडो यात्राको सुरुआत काठमाडौंको रानीवनस्थित एकलटारमा रहेको गैरनाफामूलक सामाजिक संस्था बन्दी सहायता नियोग (प्रिजनर एसिस्टेन मिसन– पाम)बाट भएको हो। विभिन्न कारणले जेलमा परेका बाबुआमाका सन्तानलाई शिक्षादीक्षा दिने, हेरचाह गर्ने र समाजमा पुनःस्थापित गराउन सन् १९८९ मा साहित्यकार तथा समाजसेवी विष्णुकुमारी वाइबा (पारिजात) ले यो संस्थाको सुरुआत गरेकी थिइन्। त्यही संस्थामा जोडिएका थिए, जुडोका राष्ट्रिय पूर्वखेलाडी तथा प्रशिक सूर्यनारायण।

पाममा आएका बालबालिकालाई अनुशासित तवरले हुर्काउन उनले जुडो सिकाउने जिम्मेवारी पाएका थिए। बाबु जेल र आमाले छाडेर गएपछि पाँचथर, हांगुम– ५ की मनिता र उनको भाइ उत्तमलाई झापास्थित चन्द्रगढी जेलबाट पाममा पठाइएको थियो। त्यहाँ पुगेपछि आफूसँगै बस्ने धेरै बालबालिका जुडोमा लागेको मनिताले देखिन्। त्यहीँका बालबालिकाको लहलहैमा उनले पनि आठ वर्षको कलिलै उमेरमा जुडोमा हाम फाल्ने निधो गरिन्।

‘पहिला त त्यति मन नै जाँदैनथ्यो। तर, खेल्न थालेको केहीपछि गुरुको दुर्घटना भयो। शरीरका कतिपय ठाउँमा गम्भीर चोटपटक लाग्यो, शल्यक्रिया नै गर्नुपर्‍यो। त्यस्तो हुँदा पनि भक्तपुरबाट दिनहुँ खेलाउन आउनुहुन्थ्यो। त्यसले पनि मैले गुरुको सपना पूरा गर्न खेल्नैपर्छ भनेर मिहिनेत गर्न थालें,’ उनी भन्छिन्।

उनको मिहिनेतले रंग ल्याउन थाल्यो। २००९ को जुलाईबाट जुडो खेल्न सुरु गरेकी मनिताले त्यसको दुई वर्षपछि नै (सन् २०११) त्रियोग स्कुलद्वारा आयोजित ‘अन्तरस्कुल जुडो च्याम्पियनसिप’ मा स्वर्ण ल्याइन्। डेब्यु प्रतियोगितामै स्वर्ण जितेकी उनले त्यसपछि पछाडि फर्किएर हेर्न परेको छैन।

त्यो स्वर्णले आठ कक्षामा अध्ययन गर्दा नै उनलाई राष्ट्रिय टोलीबाट खेल्ने अवसर मिल्यो। त्यससँगै मनिताले सन् २०१२ मा बंगलादेशको ढाकामा आयोजित ‘दोस्रो साउथ एसियन क्याडेट जुडो च्याम्पियनसिप’ मा सहभागिता जनाउने मौका पाइन्। डेब्यु प्रतियोगितामा रजत पदक जित्दै उनले आफू अन्तर्राष्ट्रिय खेलमा पनि अब्बल रहेको प्रमाण पेस गरिन्।

भारतको सिलोङमा सन् २०१६ मा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग) बाट भने मनिता एकाएक चर्चामा आइन्। त्यति बेला उनी केवल १६ वर्षकी थिइन्। तर, कलिलै उमेरमा साग खेल्न पुगेकी उनले ५५ केजीमुनिको स्पर्धामा नेपाललाई रजत पदक दिलाइन्।

राउन्ड रोबिन लिगमा मनिताले चारमध्ये तीन खेल जितेकी थिइन्। श्रीलंका, पाकिस्तान र बंगलादेशका खेलाडीलाई हराउँदै स्वर्ण पदकनजिक पुगेकी उनी भारतकी अनिता चानु अंगोमसँग पराजित भएकी थिइन्। सागमा रजत पदक हात पारेपछि उनलाई आफूले अझै सुधार गर्नुपर्छ भन्ने महसुस भयो।

अर्को वर्ष हङकङमा आयोजित एसियन जुडो च्याम्पियनसिपमा महिला ५७ किलो तौलमुनिको समूहमा आयोजक राष्ट्रकी के क्वोकलाई पराजित उनी दोस्रो चरणमा प्रवेश गरेकी थिइन्।

तर, उनी मंगोलियाकी एस दोर्जसुरेनसँग पराजित भइन्। जुडोको ओलम्पिकका रूपमा लिइने एसियन च्याम्पियनसिपमा यसरी ‘बाउट’ जित्ने उनी पहिलो महिला खेलाडी बनिन्। २९ वर्षपछि पहिलो पटक उनले एसियन च्याम्पियनसिपमा ‘बाउट’ जितेकी थिइन्। त्यसअघि सन् १९९८ मा सिरियामा भएको एसियन जुडो च्याम्पियनसिपमा ऋषिराम प्रधानले मकाउका खेलाडीविरुद्ध ‘बाउट’ जितेका थिए। गंगाबहादुर डंगोलले सन् १९८६ मा दक्षिण कोरियामा भएको एसियाली खेलकुदमा कुवेत र फिलिपिन्सका खेलाडीलाई हराएका थिए।

यहाँसम्म आइपुग्दा मनिताले थ्रुपै अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव सम्हालिसकेकी छन्। उनले किर्गिस्तानमा भएको जुनियर एसियाली जुडोमा कांस्य, थाइल्यान्ड विश्वविद्यालय जुडोमा स्वर्ण, दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा रजतलगायत अन्तर्राष्ट्रिय पदक जितेकी छन्।

एसियाली खेलकुदको १८ औं र १९ औं संस्करण खेलेको अनुभव पनि उनीसँग छ। पेरिस ओलम्पिककै लागि मनिताले जापान, चाइनिज ताइपेई, हङकङ र किर्गिस्तानमा छनोट प्रतियोगिता खेलेकी थिइन्। तर, उनी सफल भएकी थिइनन्।

यसअघि उनले टोकियो ओलम्पिकमा पनि सहभागिता जनाउने लगभग पक्का भइसकेको थियो। तर, अन्तिम समयमा आएर केही अंकले सोनिया भट्टसँग पछि पर्दा उक्त मौका गुमाइन्। उनी भन्छिन्, ‘सुरुमै थाहा भएको भए त्यति नरमाइलो लाग्दैनथ्यो होला। तर, अन्तिममा गएर सहभागिता जनाउन पाइनँ, त्यसैले धेरै नरमाइलो लाग्यो। यस पटकचाहिँ खै किन हो, मलाई पक्का खेल्न पाउँछु भन्नेमा आशाचाहिँ थियो।’

गत असार १२ गते बिहान मनितालाई नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले फोन गरेर ओलम्पिकमा छनोट भएको खबर सुनाए। यो खबर सुन्दा उनलाई सुरुमा त विश्वास नै लागेन। कतै उनले जिस्काउन फोन त गरेको होइन भन्ने उनलाई लाग्यो। ‘सुजन सरले कल गर्नुभएको थियो। बधाई छ तिमी पेरिस जाने पक्का भयो भन्नुभयो। मलाई पत्याउनै गाह्रो भयो। तर, होइन पक्का हो भनेपछि मात्रै विश्वस्त भए,’ उनी भन्छिन्।

तर, उनले गुरु सूर्यनारायणलाई यो खबर सुनाइनन्। उनी सूर्यनारायणकै मुखबाट यो खबर सुन्न चाहन्थिन्। सूर्यनारायणले पनि केही समयपछि कल गरे र बधाई दिए। उनी सूर्यनारायणलाई आफ्नो ‘गडफादर’ मान्छिन्। आफू जुडो खेलमा अगाडि बढ्न र अहिलेको स्थानमा आइपुग्न धेरै सहयोग गरेको सम्झिने मनितालाई सूर्यनारायणले भनेका छन्, ‘तिमीमाथि हामीले धेरै भरोसा गरेका छौं। हाम्रो पहिलादेखिकै सपना हो। राम्रोसँग खेल बाउट जितेर इतिहास राख्नू।’

यद्यपि, हँसिली मनिताको अनुहारमा नदेखिने छुट्टै डर लुकेको छ। त्यो डर भनेको वैदेशिक तयारीको हो। ओलम्पिकमा सहभागिता जनाउने तयारीमा रहेका पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा, ब्याडमिन्टनका प्रिन्स दाहाललगायतले विदेशमा गएर प्रशिक्षण गरेका छन्। तर, उनले यो मौका प्राप्त गर्ने छैनन्। त्यसैले कतै आफू ओलम्पिकमा फिका पर्ने त होइन भन्ने प्रश्नले पनि उनलाई निकै सताइरहेको छ।

‘ओलम्पिकमा गएर नेपाली खेलाडीसँग खेल्ने त होइन नि ! त्यसैले विदेशी खेलाडीसँग प्रशिक्षण गर्न पाएको भए केही राम्रो नतिजा आउँथ्यो,’ उनी भन्छिन्, ‘नेपाली खेलाडीले कुन लक लगाउँछ कुन टेक्निक लगाउँछ भन्ने कुरा सबै थाहा छ। विदेशी खेलाडीको थाहा हुँदैन। खैर केही छैन। म आफ्नो सक्दो दिन्छु।’

प्रकाशित: २९ असार २०८१ ०६:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App