११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

इन्स्पेक्टरमाथि नै ‘हनी ट्रयाप’ गिरोहसँग मिलेको आरोप, निलम्बन गर्न सिफारिस

ललितपुरको बुङमती (भैंसेपाटी) प्रहरी प्रभागकी इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीविरुद्ध आपराधिक समूहसँग मिलेर ‘हनी ट्रयाप’ कार्यमा संलग्न भएको आरोप लागेको छ । इन्स्पेक्टर शाहीसमेत मिलेर बलात्कार मुद्दामा फसाइदिने भन्दै एक जना व्यापारीबाट ३० लाख रकम लिएको आरोप लागेको हो ।

आरोप लागेसँगै प्रहरीले शाहीमाथि विभागीय अनुसन्धानसँगै कारबाहीको प्रक्रिया थालेको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीले बुधबार साँझ नै उनको जिम्मेवारी खोसेर कार्यालयमा तानेको जनाएको छ । यस्तै जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनाएर अनुसन्धान समेत थालिएको छ । अनुसन्धान सुरु हुँदा उनलाई निलम्बन गर्न समेत सिफारिस भएको छ । प्रहरी नियमावली अनुसार अधिकृत स्तरका प्रहरी कर्मचारीको निलम्बन गृह मन्त्रालयबाट हुने प्रावधान छ । 

के हो घटना ?

पीडित भनिएका पुरुष मोरङका व्यवसायी हुन् । उनको ललितपुरको इमाडोलमा पनि घर रहेको प्रहरी स्रोत बताउँछ । ती व्यवसायीसँग ‘हनी ट्रयाप’को आरोपित युवतीको सुनसरी र मोरङतिर चिनजान भएको थियो ।  

असोज ७ गते ती व्यवसायी काठमाडौं रहेका बेला ती युवतीले भैंसेपाटीमा भेट्न बोलाउँछिन् । त्यसअघि उनले प्रहरी प्रभागमा आफू विरुद्ध यौन हिंसा गरेको ठाडो जाहेरी दिइसकेकी हुन्छिन् । प्रभागले उनलाई पक्राउ गरी थुनामा राख्छ । पक्राउ गरेर थुनामा राख्दा इन्चार्ज रहेकी बिनुले माथिल्लो निकाय प्रहरी परिसर, ललितपुरलाई जानकारी नदिएको स्रोत बताउँछ ।

थुनामा राखेर ती व्यापारीसँग प्रहरी प्रभागभित्रै बलात्कार मुद्दामा फसाउने भन्दै मोलमोलाइ भएको स्रोतको दाबी छ । सुरुमा युवतीले उनीसँग ६० लाख मागेपनि ३० लाखमा आएर कुरा मिलेको स्रोत बताउँछ । ती व्यापारीले बलात्कार मुद्दामा फस्ने डरले उक्त रकम दिन राजी हुन्छन् । 

तर, घटनाको सूचना प्रहरी परिसर ललितपुरले पाउँछ । परिसरले सूचना पाएपछि चासो लिन थाल्यो । यसैबीचमा इन्स्पेक्टर बिनु समेतको संलग्नतामा हनी ट्रयापमा पारिएको जाहेरीसमेत परेको छ ।

सोही जाहेरीका आधारमा परिसरले हनी ट्रयापको आरोपित मुख्य युवती र एक जना पुरुषलाई पक्राउ गरिसकेको छ । एक जना पुरुष फरार छन् । 

यता इन्स्पेक्टर बिनुलाई भने जिम्मेवारी खोसेर निलम्बनको सिफारिस गरिएको ललितपुर प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक९एसपी० नरेशराज सुवेदीले जानकारी दिए । ‘जाहेरीमा प्रहरीको समेत संलग्नता भनेर आएकाले सम्बन्धित अधिकारीलाई निलम्बन गरेर अनुसन्धान गर्न ५ सदस्यीय छानबिन समिति बनाएर काम भइरहेको छ,’ उनले भने,‘छानबिनको निष्कर्षका आधारमा दोषी वा निर्दोष भन्ने पुष्टि होला ।’

प्रकाशित: १० आश्विन २०८१ १६:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App