११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

इलाममा भेटियो नेपालमै नदेखिएको ठुटे खरायो

इलामको सन्दकपुर गाउँपालिका–२, आलटारमा भेटिएको ठुटे खरायो (फोरेस्ट पाइका)। तस्बिर: देबेन खरेल

इलामको सन्दकपुर गाउँपालिकामा नयाँ प्रजातिको वन्यजन्तु ठुटे खरायो (फोरेस्ट पाइका) फेला परेको छ। सन्दकपुर गाउँपालिका–२, आलटारमा मुसाजस्तो देखिने यो वन्यजन्तु फेला परेको हो।

वाइल्ड लाइफ फोटो ग्राफर देबेन खरेलले गत जेठ ४ गते बिहान साढे ६ बजे यो तस्बिर लिएका हुन्। विश्व पर्यटन दिवस अवसरमा बिहीबार झापाको काँकडभिट्टामा आयोजित फोटो प्रदर्शनीमा खरेलले यसको तस्बिर सार्वजनिक गरेका छन्। यो खरायो नेपालमा अहिलेसम्म नदेखिएको खरेलको दाबी छ।

‘नेपालमा कालोमुखे, हिमाली, लामा, लामकाने, नुब्री, मुसे र तिब्बती खरायो पाइन्थे,’ उनले भने, ‘अब यो प्रजातिमा ठुटे खरायो थपिएको छ, जसको तस्बिर अहिलेसम्म कतै देखिएको छैन।’

खिचेको करिब ४ महिनापछिमात्र सार्वजनिक गरिएको तस्बिर सम्भवतः यो नै पहिलो भएको खरेल दाबी गर्छन्। ‘यसको बारेमा बुझ्न र तस्बिर छ कि छैन भनेर थाहा पाउन मलाई चार महिना लाग्यो,’ उनले भने, ‘म यो महत्त्वपूर्ण तस्बिर सार्वजनिक गर्ने राम्रो अवसरको पर्खाइमा पनि थिएँ।’

इलामको उच्च पहाडी भूभागमा पाइएको यो खरायो वन्यजन्तु अध्ययनकर्ताका लागि महत्त्वपूर्ण भएको खरेलले बताए। ‘वन्यजन्तुको संसारमा यो एउटा नयाँ इँटा हो,’ उनले भने, ‘भारततिर त यो जन्तु पाइँदो रहेछ, नेपालमा कतै थिएन।’

खरेलले तस्बिर लिएको यो क्षेत्र भारतको सिंहलीला नेसनल पार्कसँग सीमा जोडिएको छ। भारतको सिक्किम र अरुणाचलमा पनि पाइने यो खरायोलाई लेप्चा भाषामा ‘कुमचेन’ र भोटे भाषामा ‘गुम्चिपिची’ भन्ने गरिएको खरेलको भनाइ छ।

फोटो ग्राफर खरेलले इलामका उच्च पहाडी भूभागका लोपोन्मुख वन्यजन्तु र चराचुरुङ्गी पाइने गरेको बताए। यसअघि पनि खरेलले इलामकै सूर्योदय नगरपालिकाको सिपमढापमा नेपालबाटै लोप भइसकेको भनिएको चरा हङ्रायो (युसुफ नेक्ड हर्नबिल) फेला पारेका थिए।

यो चराको तस्बिरले नेपालमा पाइने चराको सूचीमा एउटा प्रजाति थपेको थियो। गोर्खे सिमढापको करिब १ हजार ३ सय मिटर उचाइमा पाइएको यो चरो नेपालमै एक सय ७१ वर्षयता देखिएको थिएन। यो चराको तस्बिर पनि प्रदर्शनीमा राखिएको छ।

गत चैतमा खरेलले नै इलामको सन्दकपुर गाउँपालिका–५, हाँगेथामस्थित धप्परमा निकै महत्त्वपूर्ण जनावर जङ्गली कुकुर (कन अल्पिनस) फेला पारेका थिए। प्रायः तराईमा मात्र पाइने दाबी गरिएको ‘ढोले’ भनिने यो जङ्गली कुकुर दुई हजार छ सय ५० मिटर उचाइमा फेला परेको थियो। यो कुकुर पनि फोटो प्रदर्शनीमा राखिएको छ।

इलामकै पर्यटकीय क्षेत्र पाटेनागीमा खरेलले गत मंसिरमा दुर्लभ चस्मे उल्लु (उलुक) फेला पारेका थिए। खरेल पुवामझुवाको चैतेमा (ब्राउन उड उल) नामको यो चराको तस्बिर खिच्न सफल भएका थिए।  

प्रकाशित: १० आश्विन २०८१ १८:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App