११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चीनबाट फर्किएका स्वर्णिम-मनिष भन्छन्: सभापतिलाई अफ्ठ्यारो घडिमा साथ दिन भ्रमण छोट्यायौं

चीन भ्रमण छोट्याएर बिहीबार स्वदेश फर्किएको राष्ट्रिय स्वतन्त्र पार्टीको (रास्वपा) टोलीले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेमा सशक्त प्रतिवाद गर्ने जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले नेपालको राजनीतिक परिस्थितिका कारण चीन भ्रमण छोट्याएर टोली स्वदेश फर्किएको बताए।

वाग्लेले पार्टी सभापति व्यक्ति नभई संस्था भएकाले यसप्रति आक्रमण भइरहेको भन्दै सबै सदस्य एकजुट भएर प्रतिवाद गर्नुपर्ने धारणा राखे।

"हामी भ्रमण छोट्याएर आएको प्रमुख कारण नेपालमा विकसित राजनीतिक घटना हो। हाम्रो टोलीले ९ दिनको भ्रमण योजना बनाएको भए पनि ५ दिनमै फर्केका छौं। यस कठिन घडीमा पार्टी सभापति मात्र होइन, संस्था नै आक्रमणको निशानामा परेको छ," उनले भने।

रास्वपा सांसद मनिष झाले सहकारी प्रकरणमा रवि लामिछानेमाथि लगाइएका आरोपको कडा खण्डन गर्दै लामिछाने व्यक्तिगत रूपमा संलग्न नभएको स्पष्ट पारे।

उनले सहकारीबाट आएको ८७ अर्बको बारेमा ध्यान नगरेर केवल एउटा कम्पनीलाई मात्र लक्षित गरी प्रहार भएको आरोप लगाए। "४१ वटा कम्पनीमा सहकारीबाट लगानी गरिएको छ। तर, केवल रवि लामिछानेसँग जोडिएको कम्पनीलाई मात्र अनुसन्धान गरिएको छ। यो चलखेल २-४ करोडको पछि लागेर ८७ अर्बको विषय छोड्ने प्रयास होइन भन्ने आशंका छ," उनले भने।

उक्त भ्रमणका क्रममा १४ सदस्यीय टोलीमध्ये ८ जना आज फर्किएका छन् भने बाँकी सदस्यहरू शुक्रबार फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित: १० आश्विन २०८१ १५:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App