१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

दसैंसम्मै वर्षाको जोग

बिहीबार रातिदेखि काठमाडौंलगायत देशभरि भइरहेको वर्षा आइतारदेखि मात्र हट्दै जाने मौसमविद्हरूले अनुमान गरेका छन्। उनीहरूका अनुसार शनिबार पनि काठमाडौंलगायत लगभग देशभरि नै वर्षा हुनेछ। यतिबेला कुनै ठाउँमा मध्यम, कुनै ठाउँमा भारी र कुनै ठाउँमा अति भारी वर्षा भइरहेको छ।

अहिले नेपालको आकाशमा मनसुन गराउने प्रणाली सक्रिय भएको छ। जसका कारण देशभरि नै मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्यप्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा छ।

वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार यतिबेला बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावा नेपालमा प्रवेश गरिसकेको छ र त्यो देशभरि नै सक्रिय भएको छ।

उनले भनिन्, ‘सोही कारण आइतबारबाट मात्र काठमाडौंलगायत देशभरि मनुसन सफा हुँदै जाने सम्भावना छ।’ कँडेलका अनुसार शनिबार दिनभरि पनि काठमाडौंलगायत देशभरि शुक्रबारझैं वर्षा हुने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एकदुई स्थानमा अति भारी वर्षा हुने सम्भावना छ।

महाशाखाले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावा हुरी आउनेसमेत सम्भावना रहेको जनाएको छ। यसैगरी शनिबार राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी केही थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

 बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। शनिबार राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरी आउने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले आगामी २४ घण्टामा बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम, ठुला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्ने तथा भूक्षयको जोखिम रहेको भन्दै क्षतिबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ। साथै आगामी २४ घण्टा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

मौसमविद्हरूका अनुसार नेपालमा धेरैजसो मनसुन बंगालको खाडीबाट भित्रिन्छ। उनीहरूले यस वर्ष बढी वर्षा हुने अनुमान पहिले नै गरेका थिए। विभिन्न विधि अपनाएर गरिएको अध्ययनबाट यस वर्ष बढी वर्षा हुने अनुमान गरिएको थियो। तर वर्षा यति धेरै भयो कि अहिलेसम्मको कीर्तिमान नै तोडियो। सामान्यतया यो वर्षभरि हुने वर्षाको ८० प्रतिशतभन्दा बढी बर्खा याममै हुने अनुमान गरिएको छ।

वर्षा लम्बिने अनुमान

मौसमविद्हरूले यस वर्ष वर्षायाम लम्बिएर दसैंसम्म पुग्न सक्ने अनुमान गरेका छन्। ‘यस वर्ष वर्षायाम लम्बिन सक्ने हामीले अनुमान गरेका छौं तर अहिले नै यही हुन्छ भनेर भन्न सकिन्न,’ कँडेलले भनिन्। सामान्यतया वर्षायाममा नेपालमा मनसुन जुन १३ मा भित्रिएर अक्टोबर २ सम्म रहने गर्छ। यस वर्ष तीन दिनअघि नै जुन १० मै मनसुन भित्रिएको थियो। मौसमविद्हरूका अनुसार पछिल्ला वर्ष नेपालमा वर्षायाम लम्बिँदै गएको छ। पोहोर ११ दिनपछि अक्टोबर १३ मा मात्र नेपालबाट मनसुन बाहिरिएको थियो। यस वर्ष पनि त्यस्तै हुने अनुमान गरिएको छ।  

प्रकाशित: १२ आश्विन २०८१ ०६:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App