डिफेन्डिङ च्याम्पियन सुवास तामाङले ५ अन्डर ६७ को स्कोर बनाउँदा समग्रमा १२ अन्डर २ सय ४ सहित सूर्य नेपाल गल्फ टुर २०२३–२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन शीर्ष स्थानमा उक्लन सफल भएका छन्।
सुवासले दोस्रो दिनका संयुक्त लिडर भुवन नगरकोटी र दिनेश प्रजापतिलाई अन्तिम १८ होलको खेल बाँकी रहँदा एक स्ट्रोकले पछि पारे। योसँगै उपाधि होड निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको छ।
दिनेश र भुवनले समग्रमा ११ अन्डर २ सय ५ स्कोर गरे। उनीहरू दुवै बिहीबार १ अन्डर ७१ खेल्दै संयुक्त रूपमा दोस्रो स्थानमा झरे। एमेच्योर सद्भाव आचार्य र धरानका प्रोफेसनल नीरज तामाङले समग्रमा ९ अन्डर २ सय ७ स्कोरसहित संयुक्त रूपमा चौथो स्थान बाँडे। दुवैले तेस्रो दिनको खेल २ अन्डर ७० मा पूरा गरे।
बिहीबार १ अन्डर ७१ सहित समग्रमा ६ अन्डर २ सय १० को स्कोरमा तोरणविक्रम शाही छैटौं स्थानमा छन्। एमेच्योर विजय श्रेष्ठ आइन्हाउस ५ अन्डर २ सय ११ को स्कोरमा सातौं, ४ अन्डर २ सय १२ सहित जयराम श्रेष्ठ आठौं र १ अन्डर २ सय १५ सहित एमेच्योर सुमन परियार नवौं स्थानमा रहे। विजय र जयरामले बिहीबार इभन पार ७२ तथा सुमनले ३ अन्डर ७५ को स्कोर कार्ड बनाए।
समग्रमा इभन पार २ सय १६ को स्कोरमा एमेच्योरद्वय राहुल विश्वकर्मा र तेन्जिङ पाल्देन तथा प्रोफेसनल सञ्जय लामाले संयुक्त रूपमा १०औं स्थान बाँडे। राहुलले ३ अन्डर ६९, तेन्जिङले १ अन्डर ७१ र सञ्जयले ४ ओभर ७६ मा दिनको खेल सकाए।
प्रकाशित: ७ असार २०८१ ०८:१४ शुक्रबार





