अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरी न्यूयोर्कको ब्रुकलिन जेलमा स्थानान्तरण गरेपछि सांसद छोरा निकोलस मादुरो गुएराले जनतालाई सडकमा आउन आह्वान गरेका छन्।
‘तपाईंले हामीलाई सडकमा देख्नुहुनेछ, तपाईंले हामीलाई जनताको छेउमा देख्नुहुनेछ, तपाईंले हामीलाई मर्यादाको झण्डा फहराएको देख्नुहुनेछ,’ ३५ वर्षीय गुएराले सामाजिक सञ्जालमा साझा गरिएको विद्रोही अडियो सन्देशमा भनेका छन्।
उनका सहयोगीहरूले समाचार संस्था एएफपीलाई रेकर्डिङको सत्यता पुष्टि गरेका छन्। ‘उनीहरू चाहन्छन् कि हामी कमजोर देखियौं। तर हामी कमजोरी देखाउने छैनौं,’ गुएराले थप भने, ‘राष्ट्रपति निकोलस मादुरो फर्किनेछन्। उनी फर्किनेछन्।’ अमेरिकी अधिकारीहरूले लागूऔषध आतंकवादको आरोप लगाएका बुबासहित छ जना मध्ये उनी पनि एक हुन्। तर उनी पक्राउ परेका छैनन्।
गत शनिबार भेनेजुएलाका राष्ट्रपतिलाई राजधानी काराकासबाट पक्राउ गरी देश बाहिर निकाल्ने कारबाहीले उनलाई कसैले धोका दिएको अनुमान गरिएको छ। ती हल्लाहरूलाई दोहोर्याउँदै उनका छोराले भने, ‘इतिहासले बताउनेछ कि देशद्रोही को थिए, इतिहासले त्यो प्रकट गर्नेछ। हामी हेर्नेछौं।’ मादुरो गुएरा अपदस्थ राष्ट्रपतिको एक मात्र जैविक छोरा हुन्, जसले पछि आफ्नी दोस्रो पत्नीका तीन सन्तानलाई धर्मपुत्र बनाएका थिए।
केही मादुरो समर्थकहरूले काराकासका सडकहरूमा झण्डा फहराउँदै र अपदस्थ नेतालाई देखाउने पोस्टरहरू बोकेर प्रदर्शन गरेका छन्।
शनिबार बिहान भएको आक्रमणमा अमेरिकी डेल्टा फोर्स कमाण्डोहरूले पक्राउ गरेको केही घण्टामै मादुरोलाई न्यूयोर्कको हिरासतमा राखिएको छ। मादुरो स्थानीय समय अनुसार सोमबार दिउँसो न्यूयोर्कको संघीय न्यायाधीशसमक्ष उपस्थित हुनेछन्। उनीमाथि लागूऔषध तस्करी, हतियार र आतंकवादको आरोप लगाइएको छ।
अर्कोतिर उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको छ। उनले अमेरिकी हमलालाई क्रूर आक्रमण भन्दै आलोचना गरेकी छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि रोड्रिगेजले सही काम नगरेमा उनले मादुरोभन्दा ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। चीन र रुसले मादुरो दम्पतीलाई तत्काल रिहा गर्न माग गरेका छन्।
ट्रम्पको यस कदमको अमेरिकाभित्र पनि विरोध भइरहेको छ। विश्वभर पनि मिश्रित प्रतिक्रिया आएका छन्। एजेन्सी
प्रकाशित: २१ पुस २०८२ ०६:४७ सोमबार





