२६ माघ २०८२ सोमबार
image/svg+xml
खेल

दुई दशकमा क्रिकेटको दबदबा

पछिल्लो तीन दशकमा नेपाली खेलकुदमा कुन खेल हाबी रह्यो? केकस्ता खेलाडी चम्के? यसको एकमुष्ट उत्तर खोज्ने हो भने अन्यत्र कतै जानु पर्दैन, एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको इतिहास पल्टाए हुन्छ। वर्षखेलाडी पुरस्कारका रूपमा ०५३ मा सुरु भएको यो अवार्ड वर्ष ०८२ मा आइपुग्दा २२औं संस्करण पोखरामा आयोजना हुँदै छ। यो अवार्डमा त्यही खेल र खेलाडीको वर्चस्व रहने हो, जसले खास एक वर्ष राम्रो गरेको हुने गर्छ।

यस्तोमा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जित्नेको सूची बनाउने हो भने धेरै कुरा हाम्रोसामु आउँछ, अनि भनिरहनु पर्ने छैन, यसले एकखाले रोमाञ्चकता र सनसनी दिन्छ। आखिरमा खेलकुदमा तथ्यांकका कथा यति धेरै बेजोड हुने गर्छन्। अहिलेसम्म आयोजित २१ संस्करणमध्ये वर्ष २०७७ विशेष रह्यो, किनभने त्यति बेला दशकको उत्कृष्ट अवार्ड दिइएको थियो। त्यसलाई छाडेर प्रत्येक संस्करणमा नछुटेका दुई अवार्डमध्ये एक उत्कृष्ट पुरुष खेलाडी पनि रहेको छ।

तथ्यांकलाई आधार मान्ने हो भने यो अवार्ड जित्ने १५ खेलाडी छन्। त्यसमध्ये क्रिकेटका पारस खड्का एक्लैले चारपल्ट जितेका छन्। उनले सबैभन्दा पहिले २०६६ मा जिते। अनि २०६९ र २०७० मा लगातार फेरि जिते। उनले २०७४ मा अन्तिम पटक यो अवार्ड जिते। त्यसैले त उनलाई २०७७ मा दशककै उत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिँदा यो जत्तिको न्यायोचित अरू केही देखिएन। अनि पारस पछिल्लो केही वर्ष नेपाली खेलकुदमा कति हाबी रहे, त्यो पनि प्रस्ट हुन्छ।

उनीपछि एथलेटिक्सका राजेन्द्र भण्डारी र तेक्वान्दोका दीपक विष्टले दुईपल्ट वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जिते। त्यसमध्ये दीपक त नेपाली खेलकुद इतिहासकै सबैभन्दा सफल खेलाडी हुन्।

एकपल्ट यो अवार्ड जित्नेमा फुटबलका देवनारायण चौधरी, जुमनु राई, नवयुग श्रेष्ठ, किरण लिम्बू र अञ्जन विष्ट छन्। क्रिकेटबाटै यो अवार्ड जित्ने अर्का एक खेलाडी विनोद दास थिए। पोहोर मात्रै क्रिकेटकै रोहित पौडेलले जितेका थिए।

राजेन्द्रपछि एथलेटिक्सबाट धेरै समयको अन्तरमा दीपक अधिकारी यो विधाको विजेता रहे। त्यसबाहेक बक्सिङका दीपक महर्जन, गल्फका शिवराम श्रेष्ठ, प्याराग्लाइडिङका युकेश श्रेष्ठ र करातेका मन्डेकाजी श्रेष्ठले पनि एकपल्ट यो अवार्ड हात पारे।

खेलको आधाभन्दा क्रिकेटले छ पल्ट र फुटबलले पाँचपल्ट यो अवार्ड जितेका छन्। एथलेटिक्सले तीन र तेक्वान्दोले दुई/दुई अवसरमा यो अवार्ड आफ्नो नाममा लेखाए। बक्सिङ, गल्फ, प्याराग्लाइडिङ र करातेले एकेकपल्ट यो अवार्ड जित्न सके।

यसपालि गण्डकीमा अवार्ड हुँदै छ। पोखरेली खेलाडी युुकेश गुुरुङले पोखराकै विशेष खेलको पहिचान बोकेको प्याराग्लाइडिङ खेलबाट उत्कृष्ट खेलाडी बनेका हुन्। उनको टोलीले इन्डोनेसियाको एसियाली खेलमा पदक जितेको थियो।

यसपालि क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, खो खोका जनक चन्द र उसुका विजय सिँजालीले वर्षको उत्कृष्ट खेलाडीमा दाबी गरेका छन्। हेरौं कसले बाजी मार्ला?    

प्रकाशित: २१ पुस २०८२ ०६:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App