१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

विश्वकप टी-२० क्रिकेटः नेपाल र नेदरल्यान्ड्स भिड्दै, हेड टु हेडमा को बलियो?

आईसिसी टी–२० विश्वकप क्रिकेटमा नेपालले १० वर्षपछि पुनरागमन गर्दैछ। 

समूह ‘डी’ मा रहेको नेपालले आज पहिलो खेलमा नेदरल्याण्डस्सँग प्रतिस्पर्धा गर्नेछ। अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी रङ्गशालामा राति ९ः१५ बजेबाट सुरु हुने खेलमा दुबै टोली आफ्नो पहिलो जितको लक्ष्यसहित मैदान उत्रने छ।

आजको खेलमा नेपालका कप्तान रोहित पौडेल, अलरान्डर दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र सन्दीप जोरामाथि सबैको विशेष नजर रहने छ। त्यसबाहेक कुशल मल्ल, गुलशन झा, करण केसी, सोमपाल कामी, ललित राजवंशीमाथि पनि सबैको ध्यान रहने छ।

नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो। पारस खड्काको कप्तानीमा सहभागीता जनाएको टिम समूह चरणबाटै बाहिरिएको थियो। तर, यसपटक भने नेपाली क्रिकेट टीमले विभिन्न अन्तर्राष्ट्रिय स्तरको म्याच खेलेका कारण यसपटक समूह चरणभन्दा अघिको खेलमा सहभागी हुने लक्ष्यसहित मैदान उत्रने सबैको अपेक्षा छ।

काठमाडौँमा गत कात्तिकमा मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेटमैदानमा भएको एसिया छनोट खेलमा नेपालले संयुक्त अरब इरिरेट्स (युएई) लाई सेमिफाइनलमा पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो।

नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म टी–२० आईमा १२ खेल भएका छन्। हेड टु हेडमा नेपाल ५ खेलमा विजयी हुँदा नेदरल्यान्ड्सले ६ खेलमा जित हात पारेको छ। जबकी १ खेल नतिजाबिहीन रह्यो।

नेपालले दोस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाउँदा नेदरल्याण्ड भने पाँचौँपटक सहभागिता जनाउँदैछ। नेपाल र नेदरल्याण्ड दुवै चिरपरिचित प्रतिद्वन्द्वी हुन्। तीन महिनाअघि नेपालमा नै भएको त्रिदेशीय टी–२० शृङ्खलामा नेदरल्याण्डले दुई खेल जित्दा नेपालले एक खेलमा जित हासिल गरेको थियो।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले नेदरल्याण्डविरुद्धको खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

उनले अमेरिकाको हावापानी र त्यहाँको अवस्थासँग भिज्ने राम्रो असवर पाएको जनाउँदै पहिलो खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेको बताए। नेपाली टोलीले करिब एक महिनासम्म अमेरिकामा अभ्यास गरेको थियो।

त्यसैगरी यस विश्वकप क्रिकेट प्रतियोगितामा सवैभन्दा कम उमेरमा कप्तानीको भूमिका निर्वाह गरेका २१ वर्षीय नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्डविरुद्धको खेलमा उत्कृष्ट क्रिकेट खेलेर देश र नेपाली फ्यानलाई गर्व गर्न सक्ने वातावरण तय गर्ने विश्वास व्यक्त गरे।

यसैगरी यसपटकको विश्वकपमा नेपालका अर्का खेलाडी गुलशन झा सबैभन्दा कम उमेरमा विश्वकप खेल्ने खेलाडीको कीर्तिमानी बनाउने भएका छन् भने पौडेल विश्वकपको सबैभन्दा कान्छा कप्तान रहेका छन्।

विश्वकप खेल्ने तयारी अवस्थामा रहेका नेपाली क्रिकेट टोलीलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतले शुभकामना समेत प्रदान गरेका छन्।

अमेरिका र वेस्टइन्डिजमा चालु टी–२० विश्वकप क्रिकेटका विजेता टोलीले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउँदा उपविजेताले १२ लाख २८ हजार डलर पाउनेछन्। त्यस्तै विश्वकपमा सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही सात लाख ८७ हजार डलर पाउनेछन् भने प्रतियोगितामा सहभागी सबै टोलीले २ लाख २५ हजार अमेरिकी डलर पाउनेछन्।

नेपालको समूहमा टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्गलादेश छन्।

प्रकाशित: २२ जेष्ठ २०८१ १०:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App