१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट सुरु

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट सुरु भएको छ। अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकप क्रिकेटमा २० टिमले सहभागिता जनाउँदैछन्।

४ समूहमा बाँडिएका टिमहरू खेलमा जित निकाल्दै आफ्नो सुखद सुरुआतसहित प्रतियोगिता सुरु गर्न चाहन्छ। जसमा समूह ‘ए’ मा भारत, पाकिस्तान, आयरलैंड, कनाडा र अमेरिका, समूह ‘बी’ मा बेलायत, अस्ट्रेलिया, नामीबिया, स्कटल्यान्ड र ओमान, समूह ‘सी’ मा न्यूजील्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पापुआ न्यू गिनी अनि समूह ‘डी’ दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश, नेदरल्यान्ड्स र नेपाल रहेका छन्।

आजको पहिलो उद्घाटन खेलमा आयोजक अमेरिका र क्यानडाबीच प्रतिस्पर्धा भइरहेको छ। अमेरिकाको ग्रान्ड प्रेरी मैदानमा भइरहेको खेलमा अमेरिकाले टस जितेर पहिला फिल्डिङ्ग रोजेको छ।

आजै हुने अर्को खेलमा वेस्ट इन्डिज र पपुआ न्यू गिनीबीच खेल हुनेछ। गुएना नेशनल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८ः१५ बजेबाट सुरु हुनेछ।

टी-ट्वान्टी विश्वकप क्रिकेटमा नेपाल भने १० वर्षपछि सहाभागी हुँदैछ। नेपालले आफ्नो पहिलो खेल पर्सि ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्ने छ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टिम तयारी अवस्थामा रहेको नेपालका प्रशिक्षक मोन्टी देशाईले बताएका छन्।

यो प्रतियोगिताका खेलहरू टेक्सास, फ्लोरिडा, न्युयोर्क र क्यारेबियन क्षेत्रमा खेलाइने तय छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को तालिकाअनुसार प्रतियोगिताका अधिकांश खेलहरू क्यारेबियनमा हुनेछन् भने अमेरिकाले भारत र पाकिस्तानबीचको खेलसहित समूहचरणका १६ खेल खेलाउनेछ।

यस पटक आइसिसीले अमेरिकी बजारमा मात्र ध्यान केन्द्रित गरेको छैन, प्रतियोगिताको विस्तारले नयाँ क्रिकेट राष्ट्रहरूलाई ठूलो मञ्चमा प्रतिस्पर्धा गर्ने अवसरसमेत प्रदान गरेको छ। यस वर्षको संस्करणमा अमेरिका, क्यानडा र युगान्डा विश्वकपमा डेब्यु गर्न तयार छन्।

नेपाल, पपुवा न्युगिनी र ओमानजस्ता अन्य राष्ट्रहरूले पनि यो मञ्चमा पुनरागमन गरेका छन्। यी टोलीहरूको लक्ष्य भनेकै ‘अपसेट’ जित हासिल गर्ने र विश्व मञ्चको ध्यान खिच्ने रहनेछ। तर, पाँच टोलीको चार समूहबाट शीर्ष दुई टोली मात्र अगाडि बढ्ने भएकाले कुनै पनि साना राष्ट्रले समूहचरणभन्दा अगाडि बढ्ने अपेक्षा गरिएको छैन। यस पटक पनि भारत, पाकिस्तान, अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिक र न्यूजिल्यान्डजस्ता टोली नै सुपर एटका मुख्य दाबेदार टोली हुन्।

सहआयोजक वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा विश्वकपको उपाधि जितेको थियो। यस पटक घरेलु मैदानमा विश्वकप खेल्ने अवसर प्राप्त गरेका कारण वेस्ट इन्डिजले सोही लय समात्ने आशा गरिएको छ।

यता, दक्षिण अफ्रिका, न्युजिल्यान्ड र पाकिस्तानले भने ठूला मञ्चमा सधैं आश्चर्यचकित पार्ने प्रदर्शन गर्दै आएका छन्। यस पटक यी टोलीहरूबाट यस्तै खाले प्रदर्शनको अपेक्षा गर्न सकिन्छ।

प्रकाशित: २० जेष्ठ २०८१ ०६:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App