९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

भ्यालेन्टाइन सप्ताह: प्रहरी, प्रेम र प्रेरणा

कडा अनुशासनसहित कानुन कार्यान्वयन र अपराध नियन्त्रणको जिम्मेवारीमा रहेको नेपाल प्रहरीले यस वर्ष भ्यालेन्टाइन सप्ताह (प्रेम दिवस) मा फरक स्वरूप देखाएको छ। प्रेम दिवस अवसरमा नेपाल प्रहरीले प्रेम, विश्वास र जिम्मेवारीलाई जोड्दै सचेतनामूलक तथा प्रेरणादायी सन्देश सार्वजनिक गरी फरक स्वरुप देखाएको हो।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएका सन्देशहरूमा प्रहरीले युवा पुस्तालाई प्रेम मात्र होइन, सुरक्षा र जिम्मेवारी पनि उत्तिकै महत्त्वपूर्ण भएको सम्झाएको छ। भ्यालेन्टाइन सप्ताहको पहिलो दिन प्रहरीले आफ्नो सामाजिक सञ्जालमा लेखेको छ, ‘माया गर्नेले मन माग्छ तर साइबर ठगले तपाईंको ओटिपी र पासवर्ड माग्छ।’

यो सन्देशमार्फत प्रहरीले आफ्नो गोप्य विवरण कसैलाई पनि नदिन आग्रह गरेको छ। डिजिटल प्रविधिको विस्तारसँगै बढ्दो साइबर अपराधलाई लक्षित गर्दै प्रेमको प्रतिकात्मक सन्दर्भ प्रयोग गरेर प्रहरीले सचेत हुन भनेको छ। पछिल्ला वर्षहरूमा ‘रोमान्स स्क्याम’, नक्कली सामाजिक सञ्जाल प्रोफाइल, अनलाइन ठगी, ओटिपी मागेर बैंक खाताबाट रकम चोरी गर्ने घटनामा वृद्धि भएको पृष्ठभूमिमा प्रहरीको यो सन्देशलाई समयसापेक्ष पहलका रूपमा हेरिएको छ। जेनजी आन्दोलनबाट थिलथिलो बनेको नेपाल प्रहरीले प्रेम सप्ताहलाई नयाँ पुस्ताको भावनाअनुकूल मनोरञ्जन र सद्भाव एकै ठाउँमा राखेर सुरक्षाका विषयहरू सम्झाएको छ।

‘नागरिक र प्रहरीबिचको विश्वास अभिवृद्धि गर्न हामीले समय समयमा विभिन्न सचेतनामूलक सन्देश प्रवाह गर्दै आएका छौं’, नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्ले भन्छन्, ‘नागरिकको सुरक्षा नै नेपाल प्रहरीको पहिलो प्राथमिकता हो।’

प्रवक्ता काफ्लेले भने जस्तै भ्यालेन्टाइन सप्ताहको अर्को दिन प्रहरीले प्रेममा गरिने ‘प्रमिस’ र सडक सुरक्षालाई जोड्दै सामाजिक सञ्जालमार्फत सन्देश दिएको छ, ‘प्रमिस तोडे घरमा समस्या, ट्राफिक नियम ब्रेक गरे बाटोमै समस्या।’

यो सन्देशमार्फत प्रहरीले युवालाई भावनामा बहकिएर ट्राफिक नियम उल्लंघन नगर्न आग्रह गरेको छ। भ्यालेन्टाइन डेका दिन युवकयुवतीहरू भेटघाट, घुमघाम र उत्सवमा व्यस्त हुने भएकाले सवारी दुर्घटनाको जोखिम पनि बढछ। त्यसलाई ध्यानमा राखेर प्रहरीले प्रेम दिवसलाई सुरक्षित र जिम्मेवार बनाउन सम्झाउने प्रयास गरेको हो।

ट्राफिक प्रहरीका अनुसार विशेष दिनहरूमा तीव्र गतिमा सवारी चलाउने, हेल्मेट नलगाउने, ट्राफिक संकेत उल्लंघन गर्ने जस्ता गतिविधि बढ्छन्। ‘प्रेम जीवनको सुन्दर पक्ष हो तर सुरक्षाबिनाको उत्सव दुःखद हुन सक्छ’, प्रवक्ता काफ्ले भन्छन्।

त्यस्तै भ्यालेन्टाइन सप्ताहकै सन्दर्भमा अर्को सन्देशमा प्रहरीले भनेको छ, ‘चकलेट पग्लिन सक्छ तर डिजिटल अपराध मेटिँदैन।’ यो सन्देशले सामाजिक सञ्जालमा फोटो, भिडियो वा निजी विवरण असावधानीपूर्वक सेयर गर्दा त्यसको दीर्घकालीन असर पर्न सक्नेतर्फ सम्झाएको छ। एक पटक इन्टरनेटमा पुगेको सामग्री पूर्ण रूपमा हटाउन कठिन हुने भएकाले सोचविचार गरेर मात्र पोस्ट गर्न प्रहरीको सुझाव छ। डिजिटल सुरक्षालाई ध्यान दिँदै नेपाल प्रहरीले त्यसको अनुगमन र कानुनी कारबाहीका लागि ‘एआई’ सेल नै खडा गर्ने जनाएको छ।

साइबर ब्युरोको तथ्यांकअनुसार पछिल्ला वर्षहरूमा अनलाइन ब्ल्याकमेल, फेक अकाउन्ट, फोटो/भिडियो दुरुपयोग जस्ता अपराधमा उल्लेख्य वृद्धि भएको छ। विशेषगरी किशोरकिशोरी र युवा पुस्तालाई लक्षित गरी यस्ता अपराध बढिरहेका छन्। प्रेमको उत्सव मनाउने क्रममा डिजिटल सुरक्षामा सजग रहन प्रहरीले आग्रह गरेको हो।

नेपाल प्रहरी अपराध अनुसन्धान, पक्राउ, कारबाही र सुरक्षासम्बन्धी कठोर भूमिकामा छ। तर पछिल्ला वर्षहरूमा प्रहरीले सामाजिक सञ्जालमार्फत रचनात्मक सन्देश, जनचेतनामूलक अभियान र मानवीय दृष्टिकोण प्रस्तुत गर्न थालेको छ। ‘प्रहरीका यो मायालु शैली निकै राम्रो छ,’ सामाजिक सञ्जालमा अनिल पराजुली लेख्छन्, ‘आइ लभ यु नेपाल प्रहरी।’

उनले माया गरेजस्तै भ्यालेन्टाइन सप्ताहको अवसरमा सार्वजनिक गरिएका सन्देशहरूले प्रहरीको संवेदनशील र सकारात्मक पक्ष उजागर गरेको छ। प्रेम दिवसलाई केवल रमाइलो उत्सवका रूपमा नभई जिम्मेवार नागरिक बन्ने अवसरका रूपमा लिन आग्रह गरिएको छ।

त्यसैले अनिलजस्तै अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि प्रहरीको यो पहललाई सकारात्मक रूपमा लिएका छन्। ‘कडा प्रहरी तर मिठो सन्देश’। अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता विमल थापा लेख्छन्, ‘ट्राफिक नियम मात्र हैन, कसैको दिन पनि तोड्दिनँ।’

प्रहरीले डिजिटल प्लेटफर्ममार्फत विभिन्न चेतनामूलक सामाग्री प्रवाह गर्दै आएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या बढेका कारण प्रहरीले आफ्ना सूचान र सन्देशलाई पनि बढीभन्दा बढी सामाजिक सञ्जालमा राख्दै आएको छ।

हरेक वर्ष फेब्रुअरी १४ मा मनाइने भ्यालेन्टाइन डे प्रेम र स्नेहको प्रतीक मानिन्छ। भ्यालेन्टाइन सप्ताह ‘रोज डे’, ‘प्रपोज डे’, ‘चकलेट डे’, ‘प्रमिस डे’ हुँदै मुख्य दिनसम्म मनाइन्छ। नेपालमा पनि पछिल्ला वर्षहरूमा युवा पुस्ताबिच यसको लोकप्रियता बढ्दो छ।

भ्यालेन्टाइन सप्ताहमा मायालु सन्देशसहित प्रस्तुत भएको नेपाल प्रहरीले प्रेमसँगै जिम्मेवारी र सुरक्षाको सन्तुलन आवश्यक रहेको स्मरण गराएको छ। ‘हाम्रो संगठन प्रमुखको निर्देशनअनुसार हामीले पछिल्लो समय नागरिकसँग हातेमालो गर्दै अगाडि बढ्ने बाटो पहिल्याएका छौं,’ प्रवक्ता काफ्ले भन्छन्, ‘यस्ता सन्देश र व्यवहारले हामीलाई नागरिक सुरक्षामा अघि बढ्न सहज भएको छ।’

प्रकाशित: २९ माघ २०८२ ०७:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App