१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

एपिएफ र सुदूरपश्चिमको दाबेदारी बलियो

एपिएफ र सुदूरपश्चिम प्रदेशले जारी ललितपुर मेयर कप महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जितसहित शीर्ष दुईको दाबेदारी बलियो बनाएका छन्।

पाँच टोली सहभागी प्रतियोगितामा लिगको शीर्ष दुई स्थानका टोलीले फाइनल खेल्नेछन्। त्यसैले समान दुई खेलमा शतप्रतिशत जित निकाल्दै एपिएफ र सुदूरपश्चिमले बलियो दाबेदारी प्रस्तुत गरे। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार सुदूरपश्चिमले कोसी प्रदेश र एपिएफले बाग्मती प्रदेशलाई हराए। समान दुई खेलमा ललितपुर मेयर्स–११ को एक जित छ भने कोसी र बाग्मतीको यो लगातार दोस्रो हार हो। सोमबार सुदूरपश्चिमसँग १९ रनले पराजित हुँदा कोसीले दोस्रो हार सामना गर्‍यो। नियमित कप्तान रुबिना क्षेत्रीबिना उत्रिएको कोसीमाथि लिग चरणबाटै बाहिरिने सम्भावना बढेको छ।

यता, साबिकको विजेता एपिएफले भने बाग्मतीविरुद्ध आठ विकेटको रबाफिलो जित प्राप्त गर्‍यो। यसअघि पहिलो खेलमा सुदूरपश्चिमले ललिपुर मेयर्स–११ र एपिएफले कोसीलाई हराएका थिए। सोमबारको पहिलो खेलमा बाग्मतीले ७४ रनको सामान्य लक्ष्य दियो। जबाफमा एपिएफले ११औं ओभरमा मात्र दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। एपिएफकी ममता चौधरी ३५ रनमा अविजित रहिन्। इन्दु बर्माले १७ रन र कप्तान सीता रानमगरले ११ रन जोड्दा राजमती ऐरी १० रनमा अविजित रहिन्। बाग्मतीको बलिङमा खुसी डंगोलले एक विकेट लिइन्। एपिएफले एक विकेट रनआउटका रूपमा गुमायो।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बाग्मतीले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ७३ रनको सामान्य योगफल बनायो। बाग्मतीकी ओपनर हेलिशा गुरुङले ३१ रन जोड्दा मध्य क्रमकी खुसी डंगोल १४ रनमा अविजित रहिन्। अन्य ब्याटर भने क्रिजमा टिक्नै सकेनन्। यी दुई बाहेक कुनै पनि ब्याटर दोहोरो अंकमा रन जोड्न असफल भए। एपिएफका बलरले उत्कृष्ट बलिङ गर्दै बाग्मतीको इनिङ धराशयी बनाए। करुणा भण्डारीले चार ओभरमा चार विकेट लिँदा १० रन मात्र दिइन्। कप्तान सीताको नाममा दुई विकेट रह्यो।

दोस्रो खेलमा सुदूरपश्चिमले ११३ रनको मध्यम लक्ष्य दियो। तर, कोसीले निर्धारित ओभर नै खेले पनि सात विकेटको क्षतिमा ९३ रन मात्र जोड्न सक्यो। कोसीका काजल श्रेष्ठले ३३ रन र कप्तान अप्सरी बेगमले २३ रन बनाए। रुबिनाको अनुपस्थितिमा अप्सरीले कप्तानी जिम्मेवारी समालेकी हुन्। यद्यपि, उनको कप्तानी सुखद बन्न सकेको छैन। यी दुईबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। सुदूरपश्चिमको बलिङमा ऋतु कनोजिया, लक्ष्मी साउद, जानकी थापा र कप्तान बिन्दु रावलले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा आठ विकेट गुमाउँदै ११२ रनको योगफल बनायो। सुदूरपश्चिमकी सम्झना खड्काले ५४ रनको अर्धशतकीय इनिङ खेलिन्। उनले ५१ बलमा चार चौका हिर्काइन्। ऋतुले २३ रन र बिन्दु रावलले १४ रन जोडे। कोसीको बलिङमा मध्यम गतिकी बलर सबनम राईसँगै स्पिनरद्वय हिरणमयी रोय र संगीता राईले समान दुई विकेट लिए। एलिसा खडियाको नाममा एक विकेट रह्यो। प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका सेमिफाइनलिस्ट सशस्त्र प्रहरी बलको एपिएफ, कोसी, सुदूरपश्चिम र बाग्मती प्रदेशसँगै ललितपुर मेयर्स–११ ले जारी प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन्।

प्रकाशित: १ जेष्ठ २०८१ ०७:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App