१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

अब बन्छ कि, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला!

धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेर अलपत्र परेको भरतपुर-१५ रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुने भएको छ। उक्त रंगशालालाई पूर्णता दिन भरतपुर महानगरपालिकाले बिहीबारदेखि प्रक्रिया अघि बढाएको छ।

महानगरपालिकाले तीन वर्षदेखि अलपत्र उक्त रंगशाला निर्माणका लागि बिहीबार टेन्डर आह्वान गरेको छ।

भरतपुर महानगरपालिका-१५ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई पूर्णता दिने उद्देश्यले महानगरले यो टेन्डर आह्वान गरेको हो।

निर्माणको पहिलो चरणका लागि महानगरले १ अर्ब १० करोड रुपैयाँ बराबरको टेन्डर निकालेको छ। निर्माण कार्यमा इच्छुक कम्पनीले आगामी चैत १८ गते अपराह्न १२ बजेसम्म भरतपुर महानगरपालिका कार्यालयमा आवेदन दिन सक्ने छन्।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनुसार पहिलो चरणमा मैदान, लाइट र १० हजार बढी क्षमताको प्याराफिट बन्नेछन्। यसैगरी दुईवटा टावर पनि बनाइनेछ।

फाउन्डेसनले रंगशाला निर्माणका लागि आवश्यक रकम सङ्कलन गर्न नसकेपछि तीन वर्षदेखि यो अलपत्र थियो। फाउन्डेसनले त्यसको स्वामित्व भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ। फाउन्डेसनले निर्माण कार्य गर्दा तिर्न बाँकी १२ करोड रुपैयाँ ऋण भने अहिलेसम्म पनि तिरिएको छैन।

यो रंगशालाले २० बिगाहा ६ कठ्ठा जमिन ओगटेको छ। यो जमिन त्रिभुवन विश्वविद्यालयको नाममा छ। तर त्रिविले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई भोगचलनका लागि दिएको छ।

यसअघि वाग्मती सरकार र भरतपुर महानगरपालिकाले क्रमशः ७० र ३० को साझेदारीमा रंगशाला निर्माण गर्ने सहमति भएसँगै अलपत्र अवस्थामा रहेको रंगशाला निर्माण गर्ने निश्चित भएको थियो।

पछिल्ला वर्षहरूमा देशका क्रिकेट खेलप्रतिको आकर्षण बढ्दै छ। तर यसका लागि आवश्यक सुविधा सम्पन्न रंगशाला अहिलेसम्म बन्न सकेको छैन जबकि अन्तर्राष्ट्रिय तहका खेलहरू पनि धमाधम हुन थालिरहेका छन्।

ती खेल त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित रंगशाला र मूलपानीको निर्माणाधीन रंंगशालामा मात्र सीमित भइरहेका छन्। यी रंगशाला पनि भौतिक पूर्वाधारले सुविधा सम्पन्न छैनन्। 

दर्शकहरू बस्नका लागि पर्याप्त स्थान र सुविधा सम्पन्न प्याराफिट समेत छैनन। खेल र खेलाडीको को समग्र विकासमा सरकारले लगानी नगरेको भन्दै सरकार चौतर्फी आलोचना पनि हुने गरेको छ। 

प्रकाशित: १७ फाल्गुन २०८० १२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App