५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

मोहितको निर्णायक गोल

बलका लागि प्रतिस्पर्धा गर्दै एनआरटी र सिमराका खेलाडी। तस्बिर : नागरिक

मोहित गुरुङको निर्णायक गोलमा न्युरोड टिम एनआरटी मकवानपुरमा जारी छैटौं बाग्मती गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। पूर्वक्लब नवजनजागृति सिमरा, बारालाई फ्रिकिकमार्फत गोल गर्दै गुरुङले एनआरटीको सेमिफाइनल यात्रा पक्का गरेका हुन्।

केही वर्ष नवजनजागृतिबाटै व्यावसायिक फुटबल खेलेका उनले खेलको ३१औं मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका हुन्। नव जनजागृतिका डिफेन्डरले एनआरटीका सरोज तामाङलाई लडाएपछि प्राप्त फ्रिकिकलाई सदुपयोग गर्दै गुरुङले गोल गरेका हुन्।

उनले प्रहार गरेको बल गोलरक्षकको हातमा लाग्दै पोस्टमा छिरेको थियो। त्यसपश्चात् दुवै टोलीले गोल गर्ने केही मौका पाए पनि सदुपयोग गर्न नसक्दा एनआरटी १–० को जितसहित सेमिफाइनल प्रवेश गरेको हो। एनआरटीले सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबको विजेतासँग खेल्नेछ। खेलमा निर्णायक गोल गरेका गुरुङ नै म्यान अफ दी म्याच घोषित भए। उनले नगद १० हजार रूपैयाँसहित ट्रफी प्राप्त गरे।

प्रतियोगितामा शुक्रबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले चर्च ब्वाइज युनाइटेडसँग खेल्नेछ। बाग्मती गाउँपालिकाको जनता माविको खेलमैदानमा जारी गोल्ड कपमा १० टोलीको सहभागिता रहेको छ। १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रूपैयाँ र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रूपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। बाग्मती गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा बाग्मती गाउँपालिकाको मुख्य सहयोगमा प्रत्येक वर्ष यो गोल्ड कप फुटबल आयोजना हुँदै आएको छ।

प्रकाशित: ४ फाल्गुन २०८० ०९:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App