अमेरिकाले भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलास मादुरोलाई नियन्त्रणमा लिएको दाबी गरेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलामाथि ‘ठुलो स्तरको आक्रमण’ गरेको स्वीकार गर्दै मादुरो र उनकी पत्नीलाई भेनेजुएलाबाहिर लगिएको दाबी गरेका छन्। ‘अमेरिकाले भेनेजुएलाविरुद्ध र त्यहाँका नेता राष्ट्रपति निकोलास मादुरोविरुद्ध सफलतापूर्वक ठुलो स्तरको आक्रमण सम्पन्न गरेको छ,’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रपति मादुरो र उनकी पत्नी दुवैलाई नियन्त्रणमा लिएर देशबाहिर उडाइयो।’
यो अभियान अमेरिकी कानुन कार्यान्वयन निकायहरूसँगको समन्वयमा गरिएको ट्रम्पको दाबी छ। थप विवरणबारे पत्रकार सम्मेलन गरेर जानकारी दिने ट्रम्पले बताए।
ट्रम्पले ‘द न्युयोर्क टाइम्स’ सँगको छोटो फोन अन्तर्वार्तामा भेनेजुएलामाथिको आक्रमणलाई ‘उत्कृष्ट अभियान’ भनेर प्रशंसा पनि गरेका छन्। आक्रमणका लागि ट्रम्पले कंग्रेस (संसद्) को स्वीकृति लिएका थिए कि थिएनन् भन्ने न्युयोर्क टाइम्सको प्रश्नमा ट्रम्पले जवाफ दिन अस्वीकार गर्दै त्यसको जवाफ पत्रकार सम्मेलनमै स्पष्ट पार्ने बताएका छन्।
ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पत्नीसहित नियन्त्रणमा लिएर देशबाहिर लगिएको दाबी गरे लगत्तै भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले राष्ट्रपति निकोलस मादुरोको पछिल्लो अवस्था अज्ञात रहेको जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन्। ‘सरकारलाई राष्ट्रपति मादुरो र प्रथम महिला सिसिलिया फ्लोरेसबारे कुनै जानकारी प्राप्त भएको छैन,’ उनले भनेकी छन्।
उनले अमेरिकासँग ‘दुवै जीवित रहेको तात्कालिक प्रमाण’ मागेकी छन्। भेनेजुएलाका रक्षा मन्त्री भ्लादिमिर पेड्रिनोले अमेरिकी हमला सामान्य नागरिक बसोबास क्षेत्रमा भएको आरोप लगाएका छन्। उनले मृतक र घाइतेको विवरण संकलन भइरहेको बताए।
अमेरिका-भेनेजुएला तनाव के हो?
पछिल्ला केही सातादेखि अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मादुरोमाथि दबाब बढाइरहेका थिए। उनले मादुरोलाई सत्ता छाड्न दबाब दिइरहेका थिए। मादुरोमाथि गैरकानुनी सत्ता चलाएको, लागुऔषधको कारोबार गरेकोजस्ता आरोप अमेरिकाले लगाउँदै आएको थियो। यसअघि पनि भेनेजुएला र अमेरिकाको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ।
सन् १९९८ मा ह्युगो चावेज भेनेजुएलाको राष्ट्रपति बनेपछि अमेरिकासँगको परम्परागत निकट सम्बन्ध खल्बलिँदै गएको थियो। चावेजले भेनेजुएलाको तेल क्षेत्रको राष्ट्रियकरण गरे, अमेरिकी कम्पनीहरूको प्रभाव घटाए र आफ्नो समाजवादी नीतिहरू लागु गरे। यसले अमेरिकामा चावेज र उनका सरकारप्रति असन्तोष सिर्जना ग¥यो।
सन् २०१३ मा चाबेजको मृत्युपछि निकोलास मादुरो राष्ट्रपति बने। मादुरोको शासनमा आर्थिक संकट, मुद्रास्फीति र जनअसन्तुष्टिले अमेरिका र पश्चिमी देशहरूबीचको तनाव बढायो। अमेरिकाले मादुरोको निर्वाचनलाई अवैध ठहर गर्दै उनलाई मान्यता दिएन र भेनेजुएलामा लोकतन्त्र र मानवअधिकारको रक्षा गर्ने बहाना दिएर आर्थिक प्रतिबन्ध लागु गर्यो।
मादुरो-अमेरिका सम्बन्ध
भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो वामपन्थी नेता हुन्। उनी अघिल्ला राष्ट्रपति ह्युगो चावेजले खोलेको युनाइटेड सोसलिस्ट पार्टी अफ भेनेजुएलामा सहभागी भएर चावेजको मृत्युपछि नेतृत्वमा आएका थिए। मादुरो पहिले बस ड्राइभर र युनियन नेता थिए। उनले चावेजको स्थान लिएका उनी सन् २०१३ देखि राष्ट्रपति छन्। चावेज र मादुरो पछिल्ला २६ वर्षदेखि भेनेजुएलाको सत्तामा छन्।
पछिल्लो समय सन् २०२४ मा मादुरोलाई राष्ट्रपति चुनावको विजेता घोषणा गरिएको थियो तर विपक्षीले उनको जित अस्वीकार गर्दै आएका छन्। विपक्षीले सार्वजनिक गरेको मतपरिणाम अनुसार एडमुन्डो गोन्जालेजले भारी बहुमतले जितेका थिए। गोन्जालेज मुख्य विपक्षी नेता मारिया कोरिना माचाडोको स्थानमा आएका थिए, मारियालाई चुनाव लड्नै प्रतिबन्ध लगाएपछि उनी मैदानमा उत्रिएका थिए।
मारिया उनै नेत्री हुन्, जसलाई ‘तानाशाहीबाट लोकतन्त्रतर्फ न्यायपूर्ण र शान्तिपूर्ण परिवर्तनको संघर्षका लागि’ भन्दै सन् २०२५ को अक्टोबरमा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो।
लामो समय भूमिगत बसेकी उनी भेनेजुएकाले यात्रा प्रतिबन्ध छिचोल्दै डिसेम्बरमा पुरस्कार लिन ओस्लो पुगेकी थिइन्। पछिल्लो समय ट्रम्पले मादुरोको निरंकुश सत्ताका कारण लाखौं भेनेजुएलावासी अवैध आप्रवासीका रूपमा अमेरिका पुग्न बाध्य भएको बताउँदै आएका छन्। कैयौं कैदीलाई जबर्जस्ती अमेरिका पठाएको, अमेरिकामा लागुऔषध, विशेष गरी फेन्टानिल र कोकिन पठाउने गरेको आरोप पनि मादुरोमाथि ट्रम्पले लगाएका छन्।
यस्तै मादुरोमाथि आतंकवादीलाई प्रश्रय दिएको पनि अमेरिकाको अर्को आरोप छ। उनले दुई वटा संगठनलाई आतंकवादी संगठन नै घोषणा गरेका छन्। एक समूहको नेतृत्व स्वयं मादुरोले गरेको ट्रम्पको आरोप छ। पछिल्लो समय लागुऔषधविरुद्ध भन्दै ट्रम्पले भेनेजुएलामाथि दबाब बढाइरहँदा मादुरोले ‘ड्रग्सको विरुद्धको युद्ध’को बहाना बनाएर आफूलाई हटाउन खोजेको र भेनेजुएलाका विशाल तेल भण्डारमा कब्जा गर्न खोजेको आरोप लगाउँदै आएका थिए।
तेलले धानेको देश
भेनेजुएलामा विश्वको सबैभन्दा ठुलो प्रमाणित कच्चा पेट्रोलियम पदार्थको भण्डार छ। मादुरो सरकारका लागि विदेशी मुद्रा आम्दानीको सबैभन्दा ठुलो स्रोत पनि पेट्रोलियम पदार्थ नै हो। जसको आम्दानी भेनेजुएला सरकारको बजेटको आधाभन्दा बढी हुन्छ। यद्यपि भेनेजुएलाले दैनिक करिब नौ लाख ब्यारेल तेल मात्रै निर्यात गर्छ। चीन भेनेजुएलाको तेलको सबैभन्दा ठुलो खरिदकर्ता देश हो। अमेरिकामाथि मादुरो सत्ताले बेलाबेला आफूमाथि लगाएका आरोप झुटा रहेको दाबी गर्दै आफ्नो तेल भण्डारमा कब्जा गर्न खोज्ने प्रयास मात्रै रहेको भन्दै आरोप लगाउने गरेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)
बाबुराम भट्टराईद्वारा हमलाको विरोध
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी सैन्य हमलाको विरोध गरेका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत उनले विरोध जनाएका हुन्। ‘संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र भेनेजुएलामाथि अमेरिकाले गरेको नांगो आक्रमण र त्यहाँका राष्ट्रपतिको अपहरण संयुक्त राष्ट्र संघले स्थापित गरेको अन्तर्राष्ट्रिय प्रणाली र अन्तर्राष्ट्रिय कानुनको भद्दा उल्लंघन हो,’ भट्टराईले फेसबुकमा लेखेका छन्, ‘यसका सबै सार्वभौम राष्ट्रहरूले र विश्व जनसमुदायले कडा शब्दमा विरोध र भत्र्सना गर्नुपर्छ।’
हमलालाई भट्टराईले ‘जसको लाठी उसको भैंसी’ प्रवृत्ति भएको टिप्पणी गर्दै उनले थप लेखेका छन्, ‘बेलैमा सबै मिलेर रोक्न नसके सबैतिर भयंकर अनिष्ट आउन सक्छ।’
प्रकाशित: २० पुस २०८२ ०६:५० आइतबार





