७ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

राष्ट्रिय एकताका लागि सेनाको ‘रन फर युनिटी’

रन फर युनिटीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनपछि उपरथी कृष्णदेव भट्टलगायत।

नेपाली सेनाले फागुन १२ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राष्ट्रिय एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्ने भएको छ। 

कर्णालीको पहिचानका रूपमा रहेको लामो दूरीको दौडको प्रवर्द्धन तथा खेलकुद क्षेत्रको विकास गर्दै राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्नका लागि दौड प्रतियोगिता आयोजना गर्न लागेको हो। उत्तर–पश्चिम पृतना हेडक्वार्टर नेमारेको आयोजनामा हुने प्रतियोगितामा लामो र छोटो दूरीका दौडसहित पैदल यात्रा समावेश हुनेछ। 

पृतनापति उपरथी कृष्णदेव भट्टले नेपाली सेना र जनताबिचको सम्बन्धलाई मजबुत बनाउँदै राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए।‘कर्णाली प्रदेशको पहिचानको रूपमा रहेको लामो दूरीको दौडलाई प्रवर्द्धन गर्नुका साथै नेपाली जनता र सेनाचको सम्बन्धलाई मजबुत बनाउन तथा राष्ट्रिय एकताको भावना अभिवृद्धि गराउने उद्देश्य अनुसार रन फर युनिटी आयोजना गर्न लागिएको हो,’ पृतनापति भट्टले भने, ‘प्रतियोगितामा पाँच किलोमिटर पैदल यात्रादेखि २१ किलोमिटरसम्मको समावेश गरिएको छ।’

रन फर युनिटी कार्यक्रमबाट विद्यार्थी तथा खेलाडीहरूलाई हौसला प्रदान गर्नुका साथै राष्ट्रिय एकताको भावना जागृत हुनुका साथै सेना र जनताबिचको सम्बन्ध अझ सुमधुर हुने विश्वास लिएको बताए।

सेनाका अनुसार पाँच किलोमिटर पैदल यात्रामा विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारी, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू, नेपाली सेनाका इच्छुक सकल दर्जा, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू र भूतपूर्व सुरक्षाकर्मीहरू सहभागी हुनेछन्। 

यस्तै कक्षा ८ देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीहरूका लागि छात्र पाँच किलोमिटर र छात्रा पाँच किलोमिटर दौड राखिएको छ। १० किलोमिटरतर्फ खुल्ला पुरुष र खुल्ला महिला दौडको आयोजना गरिएको छ भने २१ किलोमिटर खुल्ला पुरुष दौड प्रतियोगिताको आयोजना गरिएको छ।

प्रतियोगितामा करिब एक हजारको सहभागिता रहने अपेक्षा सेनाले गरेको छ। पाँच किलोमिटर दौडमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १० हजार, पाँच हजार र तीन हजार, १० किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार, १० हजार र पाँच हजार नगदसहित प्रमाणपत्र पाउनेछन् भने २१ किलोमिटर दौडमा प्रथम हुनेले ३५ हजार, द्वितीय हुनेले २५ हजार र तृतीय हुनेले १५ पुरस्कार र प्रमाणपत्र पाउने छन्।

प्रतियोगीताकै दिन नेपाली सेनाले सैनिक सामग्री तथा फोटो प्रदर्शनीको पनि आयोजना गरेको छ। उत्तर–पश्चिम पृतना अन्तर्गत रहेका युद्धक तथा युद्ध मद्दत फौजहरूले प्रयोग गर्ने सामग्री तथा उपकरणहरूको साथसाथै विगतमा उक्त युनिटहरूले गरेका मुख्य मुख्य कार्यहरूको फोटो प्रदर्शनी गरिने सेनाले जनाएको छ।

प्रकाशित: २ फाल्गुन २०८० १७:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App