२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

मैयाँदेवी महिला क्रिकेट: गण्डकी र सुदूरपश्चिमको जित

चितवनमा जारी मैयाँदेवी स्मृति राष्ट्रिय महिला युः १९ क्रिकेट प्रतियोगितामा गण्डकी र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्।

निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशालामा शनिबार भएको खेलमा गण्डकीले कोशी र सुदूरपश्चिमले मधेश प्रदेशलाई पराजित गर्दै विजयी भएका हुन्।

गण्डकी प्रदेशको यो दोस्रो जित हो। गण्डकीले आफ्नो दोस्रो खेलमा कोशी प्रदेशविरुद्ध ७ विकेटको फराकिलो जित निकालेको हो।

कोशीले यस अघि शुक्रबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशविरुद्ध पनि ७ विकेटको जित निकालेको थियो। चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा १२ ओभरमा घटाइएको खेलमा कोशीले दिएको ५९ रनको लक्ष्य गण्डकीले ११ ओभरमा ३ विकेट गुमाएर भेट्टायो।

गण्डकीको जितमा सीमाना केसीले नटआउट २३ रनको योगदान गरिन्। ३२ बल खेलेकी सीमानाले एक छाक्कासहित २३ रन बनाइन्। ज्योत्सनिका मरासिनी १८ बलमा २१ रन बनाएर आउट भइन्। 

ज्योत्सनिकाले ३ चौका प्रहार गरिन्। कप्तान कुसुम गोदार ५ रनमा नटआउट रहिन्। कोशीकी भवानी कमातीले ३ ओभरमा ९ रन खर्चिँदै २ विकेट लिइन्। रिया शर्माले एक विकेट हात पारिन्।

त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कोशीले निर्धारित १२ ओभरमा ३ विकेटको नोक्सानीमा ५८ रन बनाएको थियो। कोशीकी पूर्णिमा राजवंशीले १५ रन बनाइन्। अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्। 

कोशीले २६ अतिरिक्त रन पाएको थियो। गण्डकीकी कप्तान कुसुम गोदार, निरुता जिटी र आकृति तिवारीले एक/एक विकेट हात पारे। नटआउट २३ रन बनाएकी गण्डकीकी सीमाना प्लेयर अफ दि म्याच भइन्।

उता आजकै अर्को खेलमा सुदूरपश्चिमले जित हात पारेको छ। सुदूरपश्चिमले मधेश प्रदेशलाई पराजित गरेको हो। जारी प्रतियोगितामा दुई खेल खेलेको सुदूरपश्चिमको यो पहिलो जित हो। सुदूरपश्चिम पहिलो खेलमा गण्डकीसँग पराजित भएको थियो। मधेसको भने यो पहिलो खेल हो।

पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मधेसलाई ६ विकेटले निराश बनायो। मधेसले दिएको एक सय ३ रनको लक्ष्य सुदूरपश्चिमले १७ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो। सुदूरपश्चिमको जितमा सावित्री धामीले नटआउट ४३ रन बनाइन्।

४४ बल खेलेकी सावित्रीले ६ चौका प्रहार गरिन्। ओपनर नीलम पाण्ड्याले ४० बलमा २२ रन बनाइन्। मधेसकी मीना महतोले २ तथा प्रतिमा शाहले एक विकेट लिए।

त्यस अघि टस जितेर पहिलो ब्याटिङ गरेको मधेसले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ५ रन बनाएको थियो। मधेसका लागि ओपनर साना प्रविनले सर्वाधिक ३४ रन बनाइन्। ४९ बल खेलेकी सानाले ४ चौका प्रहार गरिन्। 

एलिसा यादवले २९ बलमा २३ तथा अर्की ओपनर सीमा कुँवरले २० बलमा १२ रन जोडिन्। सुदुरपश्चिमकी अनु कडायतले २ तथा कारिश्मा थापा र स्नेहा महराले एक/एक विकेट लिए।

प्रतियोगितामा आइतबार पनि दुई खेल हुनेछ। पहिलो खेलमा बिहान ९:३० बजे कर्णाली प्रदेश र बागमती प्रदेश भिड्नेछन् भने दोस्रो खेल दिउँसो १:३० बजे मधेस कोशीबीच हुनेछ। 

नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा जारी प्रतियोगितामा ७ टोली सहभागी छन्।

प्रकाशित: १३ माघ २०८० ११:५८ शनिबार