२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

स्पिनर चम्कँदा पुलिस अपराजित

प्रधानमन्त्री कप क्रिकेट

स्पिनरद्वय सागर ढकाल र ललितनारायण राजवंशीले संयुक्त रूपमा ९ विकेट लिएपछि नेपाल पुलिस क्लबले बुधबार पनि जित निकाल्दै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै राखेको छ।

मूलपानी क्रिकेट मैदानमा मधेस प्रदेशमाथि ६ विकेटको जित निकाल्दै पुलिसले पाँचौं खेलसम्म अपराजित यात्रा कायमै राखेको हो। पुलिसको जितमा सागरले पाँच र ललित नारायणले चार विकेट लिए।

यो जितसँगै पुलिसले शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना पनि बलियो बनायो। बुधबार नै कीर्तिपुरमा भएको खेलमा सुदूरपश्चिमले पनि कोसी प्रदेशलाई आठ विकेटले हराउँदै शीर्ष दुईको सम्भावना कायमै राख्यो। सुदूरपश्चिमको जितमा पनि शेर मल्ल र विकास आग्रीले ९ विकेट लिए।

राउन्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन्। कोसीविरुद्ध जितसँगै सुदूरपश्चिमले पाँचौं खेलबाट चौथो जित निकाल्दै फाइनल खेल्ने सम्भावना कायमै राखेको हो।

कोसीको भने यो लगातार आठौं हार हो। कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा कोसीले दिएको एक सय २४ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले मात्र २१.१ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो।

शेरले पाँच र विकासले चार विकेट लिँदै कोसीलाई सस्तैमा रोक्यो। यो लक्ष्य सुदूरपश्चिमले सहजै पूरा गर्‍यो। सुदूरपश्चिमका नरेन भट्ट ५४ रन र प्रकाश पाण्डेले ३४ रनको अविजित इनिङ खेले।

नरेनले ४९ बलमा सात चौका प्रहार गरे। प्रकाशको इनिङमा भने एक चौका मात्र रह्यो। यो जोडीले तेस्रो विकेटको लागि ८२ रनको साझेदारी गर्दै १७३ बल अगावै जित सुरक्षित गराए। त्यसअघि ओपनरद्वय राजु रिजाल २१ रन र खडक बोहोरा ९ रनमा आउट भए। दुवैलाई फिरोद अन्सारीले आउट गरेका हुन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोसी ३२ ओभरमा १२३ रनमै समेटियो।

विकास र शेरको बलिङसामू कोसी चल्नै सकेन। विकेटकिपर मिनास थापाको २६ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। कप्तान अंकित सुबेदीले २२ रन, कमल खत्रीले १८ रन र फिर्दोस अन्सारीले १३ रन जोडे।

त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। सुदूरपश्चिमको उत्कृष्ट बलिङ ग¥यो। सात ओभरमा एक मेडन राख्दै ९ रन मात्र खर्चिएका विकास म्यान अफ दी म्याच घोषित भए। मूलपानीमा भएको खेलमा पुलिसले पनि मधेसमाथि ६ विकेटको सहज जित निकाल्दा स्पिनरको प्रदर्शन यादगार रह्यो।

सागर र ललितनारायणको बलिङसामू मधेश २४ ओभरमा ९६ रनमै अलआउट भयो। जबाफी ब्याटिङमा उत्रिएको पुलिसले १८.४ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो।

ओपनरद्वय सुनिल धमलाले २८ र कुशल भुर्तेलले १९ रन जोडे। यी दुईले पहिलो विकेटका लागि ५२ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए।

त्यसपछि आरिफ शेख १६ रनमा र अमृत श्रेष्ठ १५ रनमा अविजित रहँदा पुलिसले सहज जित आत्मसात् गर्‍यो। मधेशको बलिङमा रन्जित कुमार र अरनिको यादवले समान दुई विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेस पुसिलको उत्कृष्ट बलिङसामु चल्नै सकेन।

मधेसका अरनिको यादवले २३ रन र कप्तान हरिशंकर साहले २२ जोडे। अभिशेक तिवारी ११ रनमा नटआउट रहँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। पुलिसको बलिङमा सागरले ९ ओभरमा ४१ रन खर्चिए। उनी म्यान अफ दी म्याचसमेत भए। रासिद खानको नाममा एक विकेट रह्यो।

भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा त्रिभुवन आर्मी क्लबले घरेलु टोली लुम्बिनी प्रदेशमाथि ६५ रनको जित निकाल्यो। उक्त खेल खराब मौसमका कारण २६ ओभरमा छोट्याइएको थियो।

आर्मीले दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले पूरै ओभर खेल्दै आठ विकेटको क्षतिमा एक सय ५ रन मात्र बनाउन सक्यो। यससँगै आर्मीले छैटौ खेलमा चौथो जित निकाल्दै आठ अंक बटुल्यो।

प्रकाशित: ११ माघ २०८० ००:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App