रोमारियो सेफर्डको घातक बलिङ र शिम्रोन हेटमायरको अर्धशतकको मद्दतमा वेस्ट इन्डिजले आइसीसी पुरुष टी-२० विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ।
शनिबार कोलकत्ताको इडेन गार्डेनमा भएको समूह ‘सी’ को खेलमा वेस्ट इन्डिजले स्कटल्यान्डलाई ३५ रनले पराजित गरेको हो।
वेस्ट इन्डिजले दिएको १८३ रनको बलियो लक्ष्य पछ्याएको स्कटल्यान्ड १८.५ ओभरमा १४७ रनमै अलआउट भयो।
स्कटल्यान्डको इनिङ्स ध्वस्त पार्न वेस्ट इन्डिजका मिडियम पेसर रोमारियो सेफर्डले उत्कृष्ट प्रदर्शन गरे। उनले ३ ओभरमा २० रन मात्र खर्चेर महत्त्वपूर्ण ५ विकेट लिए।
उनलाई जेसन होल्डरले राम्रो साथ दिए। उनले ३.५ ओभरमा ३० रन खर्चेर ३ विकेट हात पारे।
स्कटल्यान्डका लागि कप्तान रिची बेरिङटनले २४ बलमा ४२ रन र टम ब्रुसले २८ बलमा ३५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। जर्ज मुन्सेले १९ र मार्क वाटले १५ रन जोडे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८२ रन बनाएको थियो।
वेस्ट इन्डिजका लागि शिम्रोन हेटमायरले विष्फोटक ब्याटिङ गर्दै ३६ बलमा ६ छक्का र २ चौकासहित ६४ रनको अर्धशतकीय इनिङ्स खेले।
ओपनर ब्रेन्डन किंगले ३५ रन, शेरफेन रदरफोर्डले २६ रन र रोभम्यान पावेलले २४ रनको योगदान दिएका थिए। स्कटल्यान्डका बलर ब्राड करीले २ विकेट लिएका थिए।
प्रकाशित: २४ माघ २०८२ १८:५३ शनिबार




-600x400.jpg)
