३ चैत्र २०८२ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

प्रतिनिधिसभा निर्वाचन २०८२ : केही उद्योगी-व्यवसायी उम्मेदवार पराजित

प्रतिनिधिसभा निर्वाचन २०८२ मा प्रतिनिधिसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका तर्फबाट उम्मेदवार बनेका उद्योगी-व्यवसायीमध्ये अधिकांश पराजित भएका छन्।

नवलपरासी-१ मा उद्योगपति विनोद चौधरी भारी मतान्तरले पराजित भएका छन्। केही सीमित व्यवसायी मात्र निर्वाचित हुँदा निजी क्षेत्रबाट राजनीतिमा प्रवेश गर्ने प्रयासले अपेक्षित सफलता नपाएको देखिएको छ।

निर्वाचन आयोगबाट उपलब्ध मतपरिणामअनुसार उद्योगपति विनोद चौधरी नवलपरासी पश्चिम-१ बाट पराजित भएका हुन्। नेपाली कांग्रेसका उम्मेदवार रहेका चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम खनालले पराजित गरेका हुन्। खनालले ४५ हजार २४१ मत प्राप्त गर्दा चौधरीले नौ हजार ५०२ मत मात्र प्राप्त गरेका थिए। यस निर्वाचनमा उद्योगी पृष्ठभूमिका उम्मेदवारमध्ये चौधरीको पराजय सबैभन्दा चर्चित घटनामध्ये एक मानिएको छ।

त्यस्तै पर्यटन व्यवसायी तथा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष रमेशप्रसाद धमला पनि धादिङ-२ बाट पराजित भएका छन्। नेपाली कांग्रेसबाट उम्मेदवार बनेका धमलालाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले पराजित गरेको निर्वाचन परिणामले देखाएको छ।

यद्यपि सबै उद्योगी-व्यवसायी उम्मेदवार पराजित भएका भने होइनन्। केही व्यवसायी नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी तथा अन्य दलबाट निर्वाचित भएका छन्।

स्याङ्जा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धनञ्जय रेग्मी निर्वाचित भएका छन्। रेग्मी पर्यटन क्षेत्रका व्यवसायी हुन् र उनी नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत पनि हुन्।

त्यस्तै बारा-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अरविन्द साह निर्वाचित भएका छन्। साह डिजिटल भुक्तानी सेवा ‘खल्ती’का सह-संस्थापकका रूपमा परिचित व्यवसायी हुन्।

भक्तपुर-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जित, काभ्रे-२ बाट बदन भण्डारी र कैलाली-५ बाट आनन्दकुमार चन्द पनि निर्वाचित भएका व्यवसायी पृष्ठभूमिका उम्मेदवार हुन्। त्यसैगरी काठमाडौं-९ बाट डिपी अर्याल निर्वाचित भएका छन्, जो पर्यटन तथा म्यानपावर व्यवसायसँग सम्बद्ध रहेका छन्।

नेपाली कांग्रेसबाट कैलाली-२ का विजय स्वाँर र रसुवाका मोहन आचार्य पनि निर्वाचित भएका छन्। यिनीहरु दुवैजना व्यवसायी पृष्ठभूमिका उम्मेदवार हुन्।

यस निर्वाचनले निजी क्षेत्रका केही प्रतिनिधिलाई संसद्मा प्रवेश गराए पनि उद्योगी-व्यवसायी उम्मेदवारहरूको समग्र परिणाम भने अपेक्षाकृत कमजोर देखिएको छ। मतदाताले पारम्परिक राजनीतिक संरचनाप्रति असन्तोष व्यक्त गर्दै नयाँ राजनीतिक शक्तिलाई प्राथमिकता दिएको निर्वाचन परिणामले देखाएको छ।

यस पटकको निर्वाचन परिणामले व्यवसायी समुदायको प्रत्यक्ष राजनीतिक सहभागिता अझै चुनौतीपूर्ण रहेको संकेत गरेको गरेको छ।

प्रकाशित: २६ फाल्गुन २०८२ ०८:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App