बंगलादेशमाथि ४-० गोलको फराकिलो जित निकाल्दै भारतले साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ।
पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा एकतर्फी नतिजा निकाल्दै भारत च्याम्पियन बनेको हो।
भारतको यो तेस्रो उपाधि हो। यसअघि पहिलो संस्करणको उपाधि जितेको भारतले सन् २०२४ मा भने बंगलादेशसँग संयुक्त रूपमा उपाधि बाँडेको थियो। यसपटक भने लिग चरणमा बंगलादेशसँग बेहोरेको २–० को हारको बदला लिँदै भारतले एकल रूपमा ट्रफी उचाल्यो।
फाइनल खेलमा भारतले पहिलो हाफमा १ तथा दोस्रो हाफमा ३ गोल गर्दै सहज जित दर्ता गर्यो। भारतको जितमा कप्तान जुलन नोङमाइथेम, एलिजाबेथ लाक्रा, पर्ल फर्नान्डेज र अन्विता रघुरमनले १–१ गोलको योगदान दिए।
खेलको ४२ औं मिनेटमा कप्तान जुलन नोङमाइथेमले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। भारतकी अल्भादेवी सेन्जमको क्रसमा प्रितिका वर्मनले उपलब्ध गराएको पासलाई उनले गोलमा परिणत गरिन्।
पहिलो हाफ प्रतिस्पर्धात्मक भए पनि दोस्रो हाफमा बंगलादेशले लय गुमायो। बंगलादेशी गोलकिपर र डिफेन्डरबीच आपसी तालमेल नमिल्दा भारतले फाइदा उठायो।
खेलको ६३ औं मिनेटमा एलिजाबेथ लाक्राले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर बनाइन्। बंगलादेशकी गोलकिपर इयर्जन बेगमले भारतीय खेलाडीलाई लडाएपछि रेफ्री ओम चोकीले भारतलाई पेनाल्टी दिएकी थिइन्।
खेलको ६८ औं मिनेटमा पर्ल फर्नान्डेजले गोल गर्दै भारतलाई ३-० को अवस्थामा पुर्याइन्। गोलकिपरले बल होल्ड गरेर खेलाइरहेको अवस्थामा फर्नान्डेजले बल खोसेर जाली चुमाएकी थिइन्।
८३ औं मिनेटमा अन्विता रघुरमनले चौथो गोल गर्दै भारतको जित सुनिश्चित गरिन्।
प्रतियोगितामा उपविजेता बनेको बंगलादेशकी अल्पी अख्तर सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनिन्।
त्यस्तै, भारतकी मुन्नी प्रतियोगिताको उत्कृष्ट गोलकिपर चुनिइन्।
प्रकाशित: २४ माघ २०८२ १९:०३ शनिबार





