प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई पराजित गरेको छ।आज मुलपानी क्रिकेट मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो।
यस अघि पहिला व्याटिङ गरेको कोशी प्रदेशले २४ दशमलब ४ ओभरमा ८८ रन बनाउँदा सबै विकेट गुमाएको थियो।
जवाफमा ८९ रनको झिनो लक्ष्य त्रिभुवन आर्मी क्लबले ९ दशमलब ५ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो। कोशी प्रदेशलाई जम्मा ८८ रनमा सिमित राख्न त्रिभुवन आर्मी क्लबका साहब आलमले घातक बलिङ गर्दै ६ दशमलब ४ ओभरमा ३ मेडनसहित मात्र १४ रन दिएर ६ विकेट लिए।कुशल मल्लले २ तथा सोमपाल कामीले १ विकेट हात पारे।
कोशी प्रदेशका लागि कप्तान अन्कित सुवेदीले सबै भन्दा वढि ४१ रन बनाए भने अरु व्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।पाँच खेलाडीले त खाता खोल्न पनि सकेनन् ।
त्रिभुवन आर्मी क्लवलाई सहजै जिताउन सन्तोष कार्की र इमरा शेखले ३२ /३२ रन बनाए भने कुशल मल्लले ७ बलमा आउट नभई २२ रनको योगदान दिए।कोशी प्रदेशका लागि सुजन थपलीयाले एक लिए ।
त्रिभुवन आर्मी क्लबले पहिलो खेलमा मधेश प्रदेशलाई १ सय २६ रनले हराएको थियो । हिजो भएको खेलमा त्रिभुवन आर्मी क्लब बागमती प्रदेशसँग तीन विकेटले पराजित भएको थियो । कोशीको यो लगातार चौथो हार हो ।
प्रकाशित: ४ माघ २०८० ०७:०८ बिहीबार