२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

साफ यु-१६ को महिला फुटबल नेपालमा

फाइल तस्बिर : नागरिक

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सोमबार आफ्नो सामाजिक सन्जालमार्फत यस संस्करणको साफ यु-१६ च्याम्पियनसिप आगामी फागुनको तेस्रो सातादेखि सुरु हुने जनाएको हो।

प्रतियोगिता फागुन १८ देखि २७ गतेसम्म ललितपुरस्थित च्यासल रंगशालामा हुनेछ। साफले सोमबार नै खेलतालिका पनि सार्वजनिक गरेको छ। यसपटक आयोजक नेपालसहित चार राष्ट्रले मात्र प्रतिस्पर्धा गर्दै छन्। नेपालले आफ्नो पहिलो खेल फागुन १९ गते बंगलादेशसँग खेल्नेछ।

सोही दिन नै भारतले पनि भुटानविरुद्ध चुनौती प्रस्तुत गर्दै छ। नेपालले आफ्नो दोस्रो खेल फागुन २१ गते भुटानसँग खेल्ने छ। लिगचरणको अन्तिम खेल भने घरेलु टोलीले फागुन २४ गते भारतसँग खेल्ने तय छ।

यसअघि सन् २०१७ देखि २०२२ सम्म प्रतियोगिता यु–१५ उमेरसमूहको चार संस्करण र सन् २०२३ मा भने साफ यु–१७ महिला च्याम्पियनसिप आयोजना हुँदै आएको छ। सन् २०२२ मा भने नेपाल तीन देश सम्मिलित लिगको शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको थियो।

पछिल्लो संस्करण साफ यु–१७ च्याम्पियनसिपको उपाधि भने पाहुना टोली रसियाले जितेको थियो। पाँच टोली सम्मिलित यस संस्करणमा नेपाल चौथो स्थानमा खुम्चिएको थियो। अखिल नेपाल फुटबल संघ (एन्फा) ले यो संस्करणको तयारीका लागि टोली निर्माण गर्न खुला छनोट गरिरहेको छ।

यसपटक यु–१६ उमेरसमूहको प्रतिस्पर्धामा पनि सबै टोलीले एकअर्कासँग समान एक खेल खेल्नेछन्। लिगको शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछ।

प्रकाशित: १ माघ २०८० ००:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App