३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

रास्वपाको चर्चा ‘गुगल’ मा मात्रै हो, बालेनको भिडले चुनाव जित्दैन: महेश

नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं-२ का प्रतिनिधि सभा उम्मेदवार महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको भिडले चुनावी परिणाममा असर नपार्ने दाबी गरेका छन्।

बुधबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता बस्नेतले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको र विपक्षीहरूको जमानत जफत हुने जिकिर गरे।

बस्नेतले बालेनको लोकप्रियतालाई विगतमा नायिका रेखा थापाको चुनावी प्रचारसँग तुलना गरे। उनले भने, ‘विगतमा रेखा थापा चुनाव लड्न जाँदा रेखा-रेखा मात्र भयो, तर सुनिल शर्माले जिते। अहिले बालेन शाहको पनि भिड मात्र हो, उहाँले चुनाव जित्ने कुनै आधार छैन।’

उनले रास्वपालाई गुगलमा मात्र चर्चामा आउने पार्टी भएको बताए। साथै, एमाले र कांग्रेस मात्र भूगोलका पार्टी भएको उनको दाबी थियो। सामाजिक सञ्जालको एल्गोरिदम र भिड जम्मा गर्दैमा चुनाव जित्न नसकिने उनको तर्क थियो।

भक्तपुर–२ मा आफ्नो प्रतिस्पर्धा नेपाली कांग्रेससँग मात्र हुने र रास्वपा प्रतिस्पर्धामा नै नरहेको बस्नेतले बताए। ‘विगतमा ५ दलीय गठबन्धन र पार्टी विभाजनको प्रतिकूल अवस्थामा पनि हामीले जित्यौं,’ बस्नेतले भने, ‘अहिले एमालेको अवस्था सुदृढ छ। यसपटक म ३० हजारभन्दा बढी मतान्तरले शानदार ढंगले विजयी हुन्छु।’

उनले झापामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि भारी मतले जित्ने दाबी गरे।

प्रकाशित: २१ माघ २०८२ १७:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App