१२ वैशाख २०८२ शुक्रबार
image/svg+xml १३:२७ अपराह्न
खेल

स्केट बोर्ड प्रतियोगितामा नेपालको दबदबा

नेपालले पाँचौं दक्षिण एसियाली स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रामा दबदबा बनाएको छ।

नेपाल स्केटिङ तथा स्केट बोर्ड संघ र स्केट एड नेपालद्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियर पुरुष, सिनियर महिला र जुनियर पुरुषमा गरी तीन स्पर्धामा समान ३-३ स्वर्ण, रजत र कांस्यका लागि प्रतिस्पर्धा भएको थियो।

रूपन्देहीको तिलोत्तमास्थित स्केट पार्कमा भएको प्रतियोगितामा नेपालले तीन स्वर्ण, दुई रजत र तीन कांस्य हात पार्दै वर्चस्व कायम गरेको हो। सिनियर पुरुषमा शरद् राई पहिलो, वसन्त राई दोस्रो तथा धीरज परियार तेस्रो भए। सिनियर महिलामा समीक्षा राईले स्वर्ण, खुसी विकले रजत तथा स्वाती श्रेष्ठले कांस्य जिते।

पुरुष÷महिलामा दुवैमा पहिलो हुनेले एक हजार, दोस्रोले ५ सय र तेस्रोले दुई सय ५० अमेरिकी डलर नगद पुरस्कार पाए। जुनियर पुरुषमा अभिषेक परियार प्रथम, भारतका मोहम्मद विन जावेद द्वितीय र कर्मा लामा गुरुङ तेस्रो भए।

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २ सय, १ सय ५० र १ सय अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरे। पुरुष÷महिलामा गेम्स अफ स्केट बोर्ड र बेस्ट रन स्पर्धामा प्रतिस्पर्धा भएको थियो। दुवैको स्पर्धा प्रदर्शनका आधारमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीको टुंगो लगाइएको थियो।

विजेतालाई आयोजक संघका अध्यक्ष अच्युत खनाल, उपाध्यक्ष एवं प्रतियोगिता संयोजक जागृत पहाडी, महासचिव सत्य थापालगायतले पुरस्कृत गरे। समापनका अवसरमा गजेन्द्र बर्देवालाई वर्षको उत्कृष्ट स्केटर अवार्डबाट पुरस्कृत गरिएको थियो। उनलाई अवार्डसहित २ सय अमेरिकी डलर नगद पुरस्कार प्रदान गरियो।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलङ्का, भुटान, पाकिस्तान र माल्दिभ्सका ३ सय खेलाडीको सहभागिता रहेको अध्यक्ष खनालले जानकारी दिए। समापनका अवसरमा अध्यक्ष खनालले दक्षिण एसियाली राष्ट्रमा नेपाली खेलाडीको प्रदर्शन निकै राम्रो रहेको उल्लेख गर्दै दक्षिण एसियाली खेलकुद (साग) मा स्केट बोर्डलाई समावेश गर्न सके नेपालले थुप्रै पदक जित्ने विश्वास व्यक्त गरे।

प्रकाशित: ९ पुस २०८० ००:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App