ताप्लेजुङको मैवाखोला गाउँपालिकाले तरकारी तथा फलफूलको व्यावसायिक खेती गर्नुअघि माटो, हावापानी, धरातलीय बनोट तथा रैथाने प्रजातिबारे विज्ञहरूमार्फत अनुसन्धान गर्ने भएको छ।
गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले माटो सुहाउँदो खेती प्रणालीका लागि आवश्यकपर्ने सबै विषयको विज्ञहरूमार्फत अध्ययन गरी प्राप्त प्रतिवेदनका आधारमा कृषिजन्य उपजको व्यावसायिक उत्पादनका लागि प्रकृया अघि बढाउने तयारी भइरहेको जानकारी दिए। वनेमका अनुसार सम्बन्धित किसान र विज्ञहरूहरू बिचमा छलफल गराइ व्यावसायिक खेतीको सिफारिस गरिने छ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार त्यसका लागि वैशाख १४ गते आइतबार सम्बन्धित विज्ञ र कृषि पेसामा आबद्धहरूका बिच छलफल तथा अन्तर्क्रिया कार्यक्रम तय भएको छ। छलफलका लागि पालिकाले पालिकाका कृषक, कृषि सहकारी संस्थाका सञ्चालक र कृषक समूहका पदाधिकारीलाई आमन्त्रण गरेको छ।
कृषि पेसालाई व्यावसायिक बनाउने तथा माटो सुहाउँदो खेती प्रणालीको विकास गर्ने उद्देश्य अनुरुप विज्ञ र कृषकबिच अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको पालिकाले जनाएको छ। पालिका अध्यक्ष वनेमले कृषि पेसालाई निर्वाहमुखीबाट व्यवसायमुखी बनाउन तथा माटो र हावापानी सुहाउँदो उत्पादनका लागि किसानलाई प्रेरित गर्न खेती सिफारिस समेत गर्नेगरी अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको हो।
किसानहरूले अहिलेसम्म लगाइरहेको बाली, उत्पादन तथा उत्पादकत्वको अवस्था, माटोको अवस्था, माटोमा देखिने अम्लीयपन र त्यसको न्यूनीकरण जस्ता विषयमा समेत विज्ञहरूमार्फत किसानका कुरा सुन्ने गरी अन्तर्क्रिया कार्यक्रम आयोजना भएको पालिकाले जनाएको छ। मैवाखोला गाउँपालिका कृषि तथा पशुपालनका लागि बलियो सम्भावना रहेको क्षेत्र हो। तर, माटो सुहाउँदो खेती प्रणालीका लागि अवलम्बन गर्नुपर्ने रणनीतिको अभावमा त्यहाँको कृषि प्रणाली ‘निरन्तरतामा आधारित उत्पादन’ केन्द्रित भइरहेको छ।
बाबु–बाजेले अपनाएको खेती प्रणालीलाई वैज्ञानिक, समय, माटो र हावापानी सुहाउँदो खेती प्रणालीमा रुपान्तरण गर्दै निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायीमुखी बनाई कृषि क्षेत्रमा आर्थिक भविष्य खोज्न विज्ञहरूको सल्लाह अनुसार खेती गर्ने अवस्थाका सृजनाका लागि यस्तो अध्ययन हुन लागेको हो।
प्रकाशित: १२ वैशाख २०८२ १३:२४ शुक्रबार





