चार पटकसम्म सारिएको दसौं राष्ट्रिय खेलकुदबाट खेलसंख्या कटौती गरिने र उक्त आयोजनाको बजेटबाट पारा खेलकुद सञ्चालनका लागि तयारी गरिने भएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा बुधबार बसेको राष्ट्रिय खेलकसद परिषद् (राखेप) को १२४औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुदमा तय गरिएको खेलसंख्या कटौती गर्ने निर्णय गरेको छ।
युवा तथा खेलकुदमन्त्री एवं राखेपका अध्यक्ष बब्लु गुप्ताको अध्यक्षतामा बसेको बैठकले दसौं खेलकुदको आयोजनाबाट केही खेल कटौती गरी त्यही बजेटबाट पारा खेलकुद आयोजना गर्ने निर्णय गरेको हो।
उक्त बोर्डले दसौं खेलकुदका लागि निर्धारित ३६ खेलसंख्याबाट कटौती र पारा खेलकुद आयोजनाबारे खाका बनाउन राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिलाई जिम्मेवारी दिएको छ। राखेपका सदस्यसचिव रामचरित्र मेहताको संयोजकत्वमा सात सदस्यीय कार्यकारी समिति छ।
सोही समितिलाई आगामी आइतबारसम्म उक्त खाका बनाउन समयसीमा दिइएको हो। बोर्डकी कार्यकारी समिति सदस्य सुवर्ण श्रेष्ठले आगामी शुक्रबार नै कार्यकारी समितिको बोर्ड राखेर पारा खेलकुदको तयारी खाका बनाउने बताइन्।
‘बोर्डले दसौं खेलकुदबाट केही खेलसंख्या हटाउन र त्यहाँबाट पारा खेलकुद आयोजनाका लागि जिम्मेवारी दिएको छ। सोहीअनुरूप शुक्रबारसम्म खाका बनाउँछौं,’ उनले भनिन्, ‘८/१० वटा खेल विधा पारा खेलकुदमा समावेश गर्नेछौं।’
नेपाली खेलकुद विकासका लागि मेरुदण्ड मानिने राष्ट्रिय खेलकुद हरेक दुई वर्ष आयोजना गर्ने गरी २०३८ सालदेखि सुरु भएको हो। राष्ट्रिय खेलकुद सुरु भएको ४४ वर्ष भइसक्दा अहिलेसम्म १० संस्करणमा पनि हुन सकेका छैनन्।
देशमा भएको व्यवस्था परिवर्तन र राजनीति अस्थिरताका कारण खेलकुदको मेरुदण्ड नै मानिने राष्ट्रिय खेलकुद प्रभावित हुँदै आएको छ। यति बेला २२औं संस्करणको संघारमा हुनुपर्ने थियो तर दसौं संस्करण नै चौथोपल्ट मिति सारिँदा अभैm अन्योलमा छ।
जेनजी आन्दोलनपछि बनेको सरकारका खेलकुदमन्त्री गुप्ताले आगामी फागुन १ देखि ७ गतेसम्म दसौं राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेका थिए तर चौथोपटक नयाँ मितिमा तोकिए पनि नहुने संकेत सुरु भएको छ। सार्वजनिक खरिद प्रक्रिया पूरा गर्न समय अभाव हुने भएकाले चैतको अन्तिम साता दसौं सारिने संकेत देखिएको छ।
नवौं राष्ट्रिय खेलकुद समापन समारोह (२०७९ साल कात्तिक २ गते पोखरामा बसेको राखेपको ११५ औं बोर्ड बैठक) का दिन दसौं राष्ट्रिय खेलकुद २०८१ साल मंसिर २ देखि ९ गतेसम्म आयोजना गर्ने निर्णय भएको थियो। त्यो समयमा हुन सकेन।
त्यसपछि २०८१ साल मंसिर १४ गते काठमाडौंमा बसेको राखेपको ११८औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद दोस्रो पटक २०८१ साल चैत २३ देखि ३० गतेसम्म आयोजना गर्ने निर्णय गर्यो तर फेरि राजनीति खिचातानीका कारण खेलकुद प्रभावित हुन पुग्यो। सोही वर्ष फागुन १५ गते बसेको राखेपको १२१औं बोर्ड बैठकले पनि दसौं खेलकुद तेस्रो पटक २०८२ साल जेठ ३ देखि १० गतेसम्म आयोजना गर्ने निर्णय गर्यो।
इति बेलासम्म खेल पूर्वाधार र सरकारले बजेट नै दिइसकेको थियो तर निवर्तमान युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राखेपको १२२औं बोर्ड बैठकबाट दसौं राष्ट्रिय खेलकुद स्थगित गरे।
वर्तमान मन्त्री गुप्ताले फागुनमा आयोजना गर्ने भने पनि तयारी गर्न समय नपुग्ने भन्दै फेरि सारिने संकेत देखिएको छ। यद्यपि, मंगलबार बसेको १२४औं बोर्डले भने यसबारे केही भनेको छैन तर यसअघि तय गरिएको खेलसंख्या घटाइने भएको छ। २३ खेल संख्या पुर्याइने सक्ने देखिएको छ।
मंगलबारकै बोर्ड बैठकमा आगामी २०औं एसियन गेम्स आयोजनाको लागि तयारी र खोखो विश्वकप उपविजेता नेपाली महिला र पुरुष टोलीलाई पुरस्कार दिनुपर्ने माग उठेको थियो। भारतमा गत वर्षको माघमा नेपाली महिला र पुरुष टोली उपविजेता बनेको थियो। कार्यकारी सदस्य श्रेष्ठले उनीहरूलाई छिटै पुरस्कार दिनुपर्ने माग राखेकी थिइन्।
उक्त बैठकमा ३६ पेजको राष्ट्रिय खेलकुद सञ्चालन निर्देशिका–२०८१ को तेस्रो संशोधन गरिएको छ। यसमध्ये ११ बुँदा संशोधन भएको छ। संशोधन गरिएको निर्देशिकामा नै समिति र उपसमितिलाई स्पष्ट टिओआर दिइएको छ।
दसौं खेलकुद आयोजनाका लागि खेलाडी पोसाक परिषद्ले बनाएको समितिबाट प्रदान गर्ने गरी संशोधन गरिएको छ। यसअघि प्रदेशलाई नै खेलाडी पोसाक दिने उल्लेख गरिएको थियो। खाका तयार पारेर ल्याउन बोर्डले जिम्मेवारी दिएको छ।
पारा खेलकुद आयोजनाका आ.व २०८१/०८२ को बजेटमा रकम व्यवस्था गरिएको थियो। तर, चालु आवमा भने यसका लागि बजेट व्यवस्था गरिएको छैन। त्यसैले दसौं खेलकुदबाट खेल संख्या घटाउन लागिएको हो।
राष्ट्रिय खेलकुदका लागि ६३ करोड बजेट छुट्याइसकिएको थियो। सोही रकमबाट अब पारा खेलकुद पनि गरिने भएको छ। बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८१, तेस्रो संशोधनसहित पारित गरेको छ।
दसौं राष्ट्रिय खेलकुदसँगै प्रथम पारा राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि खेलसंख्या र खेलाडी कोटाका सम्बन्धमा कार्यकारी समितिले छलफल गरी सिफारिस गर्ने तथा तयारी सम्बन्धमा प्रदेश खेलकुद र विभागीय टोलीलाई पत्राचार गर्ने निर्णय भएको छ।
यस्तै परिषद्लाई नेपाल सरकारबाट विनियोजन भएको चालू आवको वार्षिक योजना, कार्यक्रम र बजेट तथा परिषद्को आन्तरिक अनुमानित आयव्यय पास गरेको छ।
अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटोमा ‘जेनजी सहिद स्मृति पार्क निर्माण गर्ने, त्यहाँ रहेको अडिटोरियम हललाई जेनजी स्मृति अडिटोरियम हल नामकरण गर्ने निर्णाय गरेको छ।
बैठकले सन २०२६ मा जापानमा आयोजना हुने २०औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने निर्णय पनि गरेको छ। बैठकमा परिषद्का उपाध्यक्ष धु्रव आचार्य, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, सदस्यसचिव रामचरित्र मेहता, राखेप बोर्ड सदस्यलगायतको उपस्थिति थियो।
प्रकाशित: १० पुस २०८२ ०६:३८ बिहीबार





