२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

दक्षिण एसियाली कराते: नेपालको सुखद प्रदर्शन

स्वर्ण पदक विजेताद्वय रेहान जावेद र प्रजिस्मा श्रेष्ठ प्रशिक्षकद्वय मन्दकाजी श्रेष्ठ र वीरकृष्ण साहीका साथमा। तस्बिर : नागरिक

नेपालले घरेलु मैदानमा सुरु भएको सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा शनिबार सुखद सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नेपालले पहिलो दिन नै १२ स्वर्ण जितेको छ। नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगितामा भारतले भने १५ स्वर्ण जित्दै नेपालविरुद्ध अग्रता बनाएको छ। श्रीलंका र बंगलादेशले समान एक स्वर्ण जिते।

महिला २१ वर्ष उमेरसमूहको महिला ४७ केजीमुनि नेपालकी पोर्सिया चौधरीले बाजी मारिन्। पोर्सियाले फाइनलमा भारतकी मोहन जनाईमाथि जित दर्ता गरिन्।

५४ केजीमुनि भारतकी रुसा टम्बटले नेपालकी आयुशा प्रधानलाई पराजित गर्दै शीर्ष स्थानमा रहिन्। महिला ६१ केजीमुनि भारतकी पूजा सोनीले नेपालकी एलिना थिङलाई हराउँदै स्वर्ण हात पारिन्।

क्याडेट महिला एकल कातामा प्रजिस्मा श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाइन्। प्रजिस्माको स्वर्ण प्रतियोगिताकै पहिलो स्वर्ण हो। प्रजिस्माले फाइनलमा बंगलादेशकी मारिमास्वे नाईलाई पराजित गरिन्।

उक्त स्पर्धाको पुरुषमा नेपालका रेहान जावेदले बंगलादेशका उथेयनलाई हराउँदै शीर्ष स्थान हात पारे। यु- २१ एकल महिला कातामा भारतकी सुरोमती सिन्हाले नेपालकी गीता पौडेललाई पाखा लगाउँदै पहिलो बनिन्। यु–२१ को महिला ६१ केजीमुनि भारतकी प्रशान्त सान्खेल भार्गवीले नेपालकी उर्साला पहरीलाई पाखा लगाउँदै स्वर्ण जितिन्।

महिला ६८ केजीमुनि नेपालकी आशिका राईले भारतकी पर्विन साइरालाई निराश पार्दै स्वर्ण चुमिन्। महिला ६८ केजीमाथि भारतकी दीक्षा पहिलो भइन्। दीक्षाले फाइनलमा नेपालकी दिया थापाको चुनौती पन्छाइन्।

क्याडेटको पुरुष ७० केजीमुनि भारतका अरविन्द कार्तिक रेड्डीले नेपालका नेहाल मण्डलमाथि जित रच्दै पहिलो भए। पुरुष ७० केजीमुनि भारतका प्रतापसिंह वीरले फाइनलमा नेपालका निगम तिम्सिनालाई पाखा लगाउँदै शीर्ष स्थानमा रहे। क्याडेटको पुरुष ४५ केजीमुनि बंगलादेशका मार्मा पहिलो बने। फाइनलमा नेपाल छत्र थापा ‘मेडिकल डिस्क्वालिफाइ’ भएका थिए।

पुरुष ५२ केजीमुनि नेपालका ऋतिक लामाले बंगलादेशका सौकत अली सैद मोहम्मदमाथि जित निकाल्दै शीर्ष स्थान कब्जा गरे। पुरुष ५७ केजीमुनि फाइनलमा नेपालका आकाश सैजुवालले भारतका जियान चौधरीविरुद्ध जित निकाल्दै पहिलो भए।

पुरुष ६३ केजीमुनि भारतका गगनदीप माथुरले नेपालका साहिल राईलाई पराजित गरी स्वर्ण जिते। यु- २१ महिला ४० केजीमुनि भारतकी तृप्ति पाल पहिलो भइन्। तृप्तिले फाइनलमा नेपालकी निक्षा थापामगरलाई हराइन्। महिला ४५ केजीमुनि नेपालकी पार्वती गुरुङ च्याम्पियन बनिन्।

पार्वतीले फाइनलमा बंगलादेशकी अर्पा सलिहाको चुनौती समाप्त पारिन्। महिला ५० केजीमुनि नेपालकी पुष्पका लामाले स्वर्ण चुमिन्। पुष्पकाले फाइनलमा भारतकी ज्योतिलाई निराश पारिन्।

महिला ५५ केजीमुनि नेपालकी सोनु श्रेष्ठले स्वर्ण जित्दा भारतकी दीपिकाले रजतमा चित्त बुझाइन्। पुरुष ८४ केजीमुनि भारतका सोखर दोस सुमनले नेपालका सुरेश जप्रेललाई पराजित गर्दै स्वर्ण हात पारे। पुरुष ८४ केजीमाथि भारतका हर्ष गुलियाले नेपालका आशिष श्रेष्ठलाई हराउँदै पहिलो बने।

७५ केजीमुनि भारतका वैभव बालियाले नेपालका निशान राणालाई पाखा लगाउँदै पहिलो भए। यु- २१ कै पुरुष ५० केजीमुनि नेपालका अञ्जन मगरले श्रीलंकाका मधुसन, ५५ केजीमा नेपालका मार्सल गर्बुजाले पाकिस्तानका उस्मान सफिक तथा ६७ केजीमा भारतका पाला डोडुमले नेपालका अनिल बलरामलाई पराजित गरी स्वर्ण हात पारे।

प्रकाशित: १७ मंसिर २०८० ०१:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App