१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

आइसीसी २०–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलहरू आज

नेपाल र युएई अनि ओमान र बहराइन भिड्दै

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलहरू आज हुँदैछन्। समूह ‘ए’ बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएको छ भने समूह ‘बी’ बाट युएई र बहराइनले सेमिफाइनलको यात्रा तय गरेको छ।  

नेपालले आज फाइनल प्रवेशका लागि युएईसँग खेल्न लागेको छ। मूलपानी क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ११ बजेबाट सुरु हुनेछ। घरेलु मैदानमा हुने आजको खेलमा जित हात पार्दै नेपाल ट्वान्टी–२० विश्वकपको यात्रा तय गर्न चाहन्छ। यस्तै युएई पनि आफ्नो ट्वान्टी–२० विश्वकपको यात्रा तय गर्ने लक्ष्यसहित मैदान उत्रने छ।

आजै हुने अर्को सेमिफाइनल खेलमा बहराईन र ओमानबीच प्रतिस्पर्धा हुनेछ। ओमान र बहराइनबीचको खेल किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ११ बजे नै हुनेछ।  

फाइनलमा पुग्ने दुबै टोलीले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने ट्वान्टी–२० विश्वकप खेल्न पाउनेछन्।  

यसैबीच, नेपाल क्रिकेट संघले नेपाल र युएईबिचको सेमिफाइनल खेल सकभर घरमै टेलिभिजनमा हेर्न अनुरोध गरेको छ।

क्यानले अन लाइन मार्फत ३५ सय मात्र टिकट बिक्री गर्ने भएकाले सकभर यो खेल घरमै टेलिभिजनमा हेर्न खेलप्रेमी दर्शकहरुलाई विज्ञप्ती जारी गर्दै आग्रह गरेको हो। मैदान परिसरमा टिकट बुथ नहुने पनि संघ जनाएको छ।  

साथै क्यानले यो खेलका लागि पास र भिभिआइपी टिकट मूल्य भने राखेको छैन। यस अघि क्यानले भिभिआईपी टिकट मूल्य १० हजार राखेको थियो। उक्त टिकटमा पारस खड्का लगायत क्रिकेट खेलाडी भेट र खानाको व्यवस्था गरेको थियो।  

प्रकाशित: १७ कार्तिक २०८० ०१:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App