१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

फुटबलकी भण्डारीलाई मदरल्याण्ड माविको सम्मान

नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा) लाई यहाँस्थित मदरल्याण्ड माध्यमिक विद्यालयले सम्मान गरेको छ। खेल क्षेत्रमा विशेष योगदान दिएको भन्दै भण्डारीलाई विद्यालयले सम्मान गरेको हो।  

भण्डारीलाई पश्चिम पृतना हेडक्वार्टर विजयपुरका पृतनापति दिपककुमार बानियाँ, विद्यालयका निर्देशक डा. त्रिभुबन बराल, प्राचार्य नारायण बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिनानाथ बराल लगायतले उनलाई सम्मान गरे। उनलाई विद्यालयले नगद २५ हजार, सम्मानपत्र र दोसलाले उनलाई सम्मान गरेको हो।

२०७० सालबाट फुटबल खेल्न सुरु गरेकी उनले सोही वर्ष राष्ट्रिय टिममा डेब्यु गरिन्। सन २०१४ मा सम्पन्न साफ च्याम्पियनसिपमा उनले देशको प्रतिनिधित्व गर्दै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाइन्। उनले अहिलेसम्म झन्डै दर्जन अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छिन्। राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगितामा गरेको योगदान स्वरुप विद्यालयले सम्मान गरेको प्राचार्य बरालले बताए।  

भण्डारीले आफ्नो फुटबल अभ्यासको कठोर संघर्षमय अतित सम्झँदै असम्भव केही नभएको र भविष्यको सम्भावना आफैले खोज्नुपर्ने बताइन्। खेलकुद पत्रकार मञ्च गण्डकीले हालै आयोजना गरेको सातौ पोखरा स्पोर्टस अवार्डमा उत्कृष्ट महिला खेलाडीबाट समेत भण्डारी सम्मानित भएकी थिईन।  

यसैबीच मदरल्याण्ड माविको आयोजनामा शनिबारदेखि प्रदेशस्तरीय फुटसल प्रतियोगिताको आयोजना गरिएको छ। पश्चिम पृतना हेडक्वार्टर विजयपुरका पृतनापति दीपककुमार बानियाँले प्रतियोगिताको उद्घाटन गरे। बानियाँले रेफ्री फुटबल सघं कास्कीका अध्यक्ष सुशील केसीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरे। तीन दिनसम्म चल्ने प्रतियोगितामा गण्डकी प्रदेशभरिबाट ६६ टिमको सहभागिता रहेको छ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय  हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँका साथ मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन्।  

प्रकाशित: २७ जेष्ठ २०८० १०:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App