२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

‘एन्फा आर्थिक रूपमा असफल’

सहिद स्मारक ‘ए’डिभिजन लिग

सहिद स्मारक ‘ए’डिभिजन लिग खेलिरहेका क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) आर्थिक रूपमा असफल भएको भन्दै क्लबको आर्थिक समस्यालाई बेवास्ता गरेको आरोप लगाएका छन्।

विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ र जावलाखेल क्लबबाहेकका १० क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी एन्फाले जारी लिग खेलिरहेका क्लबलाई आर्थिक सहयोग नगरेको भन्दै क्लबको समस्यामा बेवास्ता गरेको आरोप लगाए। लिगको २१ खेल सकिँदासमेत एन्फाले क्लबको तयारी खर्च, म्याच फी, म्यान अफ दी म्याचलगायतको रकम नदिएको उनीहरूको भनाइ थियो। पत्रकार सम्मेलनमा हिमालयन शेर्पा क्लबका अध्यक्ष तथा एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले अहिलेको एन्फा व्यवस्थापनको हिसाबले पूर्ण असफल भएको, विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)को अनुदानले मात्र फुटबल चलाउन खोजेको आरोप लगाए।  एन्फाले एएफसीबाट फुटबल विकासका लागि आएको रकम कतारमा विश्वकप हेर्न जाँदा प्रयोग गरेको र अझैसम्म पनि त्यो पैसा नउठेको बताउँदै शेर्पाले यसमा एन्फाको व्यवस्थापन पूर्ण रूपमा असफल भएको बताए।

‘अहिलेको एन्फा व्यवस्थापनको हिसाबले पूर्ण रूपमा असफल भएको छ। विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)को अनुदानले मात्र फुटबल चल्छ भन्नु आफैंमा मूर्खता हो। एन्फाले एएफसीबाट फुटबल विकासका लागि आएको रकम कतारमा विश्वकप हेर्न जाँदा प्रयोग गरेको छ। त्यो पैसा उठेको छैन,’ अध्यक्ष शेर्पाले भने, ‘हामीले एक वर्षअघि एन्फा छाड्दा ३८ लाख अमेरिकी डलर फिफा र एएफसीको पैसा बाँकी थियो। साढे १२ लाख डलर नयाँ रकम आइसकेको छ। त्यसैले फुटबल आर्थिक रूपले टाट पल्टिएको होइन। व्यवस्थापन गर्न नसक्नु कमजोरी हो।’  

‘एन्फाको अहिलेको प्राथमिकता अस्ट्रेलिया र न्युजिल्यान्डमा आयोजना हुन लागेको फिफा महिला विश्वकपको टिकट खरिदतिर छ,’शेर्पाले भने, ‘लिग खेलिरहेका ‘ए’डिभिजन क्लबका पीडामा नेतृत्व उदासीन छ।’उचित योजना र सही तरिकाले काम ग¥यो भने फुटबलमा लगानी पाउन गाह्रो नहुने शेर्पाको भनाइ थियो। पत्रकार सम्मेलनमा संकटा क्लबका अध्यक्ष तथा एन्फाका पूर्वमहासचिव इन्द्रमान तुलाधरले क्लबले तयारी खर्चको दोस्रो किस्तासमेत नपाएकाले खेलाडी मारमा परेको बताए। ‘लिगमा सहभागी क्लबलाई लिग सुरु हुनुअघि १५ लाख, १३औं चरण सकिएपछि १० लाख र लिग सकिएपछि साढे सात लाख रुपियाँ दिने सम्झौता भएको थियो,’ तुलाधारले भने, ‘अहिलेसम्म एक किस्ता मात्र पाएका छौं। खेलतालिकामा पनि एन्फाले लापरबाही गरेको छ।’

अर्काे क्लब एनआरटीका महासचिव नरेन्द्र श्रेष्ठले क्बलहरूलाई बेवास्ता गरेर एन्फा नेतृत्वले फुटबल खेल मास्न लागेको बताए। खेलाडीलाई एन्फाले ट्याक्सको मारमा पारेको पनि उनको आरोप थियो। फिफा तथा एएफसीले पनि देशको कानुनअनुसार खेलाडीलाई कर लगाऊ भनेको अवस्थामा एन्फाले खेलाडीलाई कमाइको १५ प्रतिशत तिर्नुपर्ने नियम बनाएको तर अहिलेसम्म खेलाडीलाई पैसा दिन नसक्दा उनीहरू मारमा परेको श्रेष्ठले बताए।  

पत्रकार सम्मेलनमा लिगमा सहभागी मच्छिन्द्र फुटबल क्लबका सचिव किरण महर्जन, एफसी खुमलटारका उपाध्यक्ष हरिबोल राउत, मनाङ मस्र्याङ्दी क्लबका अध्यक्ष विजय घले,  फ्रेन्ड्स क्लबका अध्यक्ष विश्वासविक्रम साह, सातदोबाटो युथ क्लबका अध्यक्ष कपिल रानामगर, चर्च ब्वाइज युनाइटेडका अध्यक्ष टंकलाल राई र थ्री स्टार क्लबका देवेन्द्रलाल श्रेष्ठलगायतको उपस्थिति थियो।

प्रकाशित: १३ जेष्ठ २०८० ०१:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App