१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

मलेसियामाथि नेपालको सहज जित

मलेसियाविरुद्ध विजयी भएपछि नेपालका दीपेन्द्रसिंह ऐरी (बायाँ) र कुशल मल्ल। तस्बिर सौजन्य: क्यान

अलराउन्डर कुशल मल्ल र भीम सार्कीको अर्धशतक प्रेरणामा नेपालले मंगलबार मलेसियामाथि सहज जितसहित एसिसी मेन्स प्रिमियर कपमा सुखद सुरुआत गरेको छ।

समूह ‘ए’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा मलेसियामाथि ६ विकेटको जित निकाल्दै एसिसी प्रिमियर कपमा विजयी सुरुआत गरेको हो। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा दुई सय ३६ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा ८२ बल बाँकी छँदा नै पूरा गर्दा कुशल र भीमले अर्धशतक प्रहार गरे।

अलराउन्डर कुशल मल्ल र भीम सार्कीको अर्धशतक प्रेरणामा नेपालले मंगलबार मलेसियामाथि सहज जितसहित एसिसी मेन्स प्रिमियर कपमा सुखद सुरुआत गरेको छ।

भीम र कुशलले चौथो विकेटका लागि १ सय १२ रनको साझेदारी गर्दै नेपालको सहज जित पक्का गराएका हुन्। कुशल ७० रनमा अविजित रहँदा भीम ७१ रनमा पवेलियन फर्किए। आक्रामक ब्याटिङ गरेका कुशलले ४० बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे।

नेपाललाई जितका लागि ५ रन आवश्यक हुँदा छक्का प्रहार गर्ने चक्करमा भीम आउट हुन पुगे। त्यसअघि निकै खराब सुरुआत गरेको नेपालले पहिलो ओभरमै विकेट गुमाउन पुग्यो। मोहम्मद वाफिकले ओपनर आसिफ सेखलाई १ रनमै पवेलियन फर्काउँदै घरेलु समर्थकलाई ठूलो झड्का दिए। यद्यपि, त्यसपछि अर्का ओपनर कुशल भुर्तेल र भीमले दोस्रो विकेटका लागि ४८ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासे। दशौं ओभरको पहिलो बलमै कुशल भुर्तेल पनि ३८ रनमा आउट भए।

नेपाललाई जितका लागि ५ रन आवश्यक हुँदा छक्का प्रहार गर्ने चक्करमा भीम आउट हुन पुगे।

आक्रामक खेल खेलेका भुर्तेलले ३१ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे। त्यसपछि क्रिजमा आएका कप्तान रोहित पौडेलले भीमलाई साथ दिए। यो जोडीले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गर्‍यो। तर, रोहित ४२ रनमा तेस्रो विकेटका रूपमा आउट हुन पुगे।

रोहितको इनिङमा पाँच चौका रह्यो। यद्यपि, चौथो विकेटका लागि कुशल र भीमले शतकीय साझेदारी गर्दै नेपाललाई सहज जित दिलाए। मलेसियाको बलिङमा वाफिक, रिजवान हैदर, विजय युन्नी र वीरनदीप सिंहले १/१ विकेट लिए पनि नेपालको जित रोक्न सकेनन्।

निराशाजनक बलिङ

नेपालले आइसिसी एकदिवसीयमा गैरवरीयताको टोली मलेसियासँग आशातीत बलिङ गर्न सकेन। त्यसको फाइदा लिँदै मलेसियाले ९ विकेटको क्षतिमा २ सय ३५ रनको योगफल तयार पार्‍यो। नेपालका लागि ब्रेक थ्रु दिलाउँदै आएका सन्दीप लामिछानेले पनि मलेसियाविरुद्ध स्वाभाविक प्रदर्शन गर्न सकेनन्।

तीन विकेट लिए पनि सन्दीप आफैं आफ्नो प्रदर्शनप्रति सन्तुष्ट रहेनन्। उनले शीर्ष क्रमका कप्तान अहमद फैजलाई ७६ रनमा आउट गर्दै पहिलो विकेट लिए। त्यसपछि उनले छैटौं नम्बरका मुहम्मद स्याहदत (१५ रन) र नवौं नम्बरका स्याजरुल इद्रुस (२१ रन) लाई आउट गरे।

नेपालले आइसिसी एकदिवसीयमा गैरवरीयताको टोली मलेसियासँग आशातीत बलिङ गर्न सकेन।

इनिङ अन्त्यनजिक पुगेको अवस्थामा ठूला सट खेल्ने प्रयासमा यी दुई विकेट प्राप्त भएको हो। नेपालले छैटौं ओभरमा मोहम्मद अमिरलाई १७ रनमा पवेलियन फर्काउँदै पहिलो विकेट लियो। त्यसपछि अर्का ओपनर वीरनदिप सिंह र अहमद फैजले नेपाली बलरमाथि दबाब बनाए।

यो जोडीले दोस्रो विकेटका लागि १ सय १६ रनको साझेदारी गर्दै मलेसियालाई विशाल योगफलतर्फ अग्रसर गरायो। तर, ३४औं ओभरमा सन्दीपले फैजलाई आउट गर्दै महत्वपूर्ण साझेदारी तोडे। अर्का स्पिनर ललित राजवंशीद्वारा ३८औं ओभरमा वीरनदिप पनि आउट भएपछि मलेसियाको रन गतिमा अंकुश लाग्यो। वीरनदीपले ९४ बलमा दुई चौकासहित ४६ रन जोडे ।

यो जोडीले दोस्रो विकेटका लागि १ सय १६ रनको साझेदारी गर्दै मलेसियालाई विशाल योगफलतर्फ अग्रसर गरायो।

खिजार हायातले २२ रन बनाए। त्यसबाहेक अन्य ब्याटर सस्तैमा आउट भएपछि मलेसिया विशाल योगफलबाट वञ्चित रह्यो। नेपालको बलिङमा सोमपाल कामीले ९ ओभरमा ४० रन खर्चेर तीन विकेट लिए। सन्दीपले १० ओभरमा ४८ रन खर्चेर एक मेडनसहित तीन विकेट लिए। ललितले दुई तथा गुल्सन झाले एक विकेटको सफलता पाए।

नेपालले दोस्रो खेल शुक्रबार समूहको बलियो टोली ओमानसँग कीर्तिपुरमै खेल्नेछ। यो खेलमा विकेट लिए सन्दीप एकदिवसीय क्रिकेटमा छिटो सय विकेट पूरा गर्ने बलर बन्नेछन्। मलेसियाले भने दोस्रो खेलमा बिहीबार साउदी अरबको सामना गर्नेछ।

समूह ‘बी’ मा हङकङको जित

समूह ‘बी’ अन्तर्गत मूलपानी क्रिकेट मैदानमा मंगलबार नै भएको खेलमा बाबर हायातको शतकीय प्रेरणामा हङकङले सिंगापुरलाई आठ विकेटले हरायो। टस हारेर ब्याटिङ गरेको सिंगापुर ४२.१ ओभरमा १ सय ७४ रनमै समेटियो। सिंगापुरका कप्तान अरित्रा दत्तले ४९ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

हङकङका इसान खानले सर्वाधिक चार तथा यासिम मुर्ताजाले तीन विकेट लिए। जबाफी ब्याटिङ गरेको हङकङले ३३ ओभरमा मात्र दुई विकेटको क्षतिमा लक्ष्य भेट्टायो। बाबर १ सय ८ रनमा अविजित रहे। उनले ९४ बलमा १० चौका र ६ छक्का प्रहार गरे। त्यसअघि कप्तान तथा ओपनर निजाकत खानले ५१ रन बनाएर आउट भए। 

प्रकाशित: ६ वैशाख २०८० ०१:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App