१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

पानी पनि नखुवाएपछि प्रशिक्षक आक्रोशित

‘एन्फाले टाट पल्टियौं, पानीको व्यवस्था गर्न सकेनौं भनेर नभनोस् म त्यसको व्यवस्था गरिदिन्छु, तर यस्तो गर्मीमा खेल खेलाएर खेलाडीलाई पानी सकियो भनेर गैरजिम्मेवार चाहिँ नबनिदिनुहोला। ’सहिद स्मारक ‘ए’डिभिजन लिगअन्तर्गत चर्च ब्वाइज युनाइटेडविरुद्ध गोलरहित बराबरीमा सकिएको खेलपछि थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीले दिएको प्रतिक्रिया हो यो।

पहिलो चरणबाट आठौं चरणसम्म पहिलो खेल दिउँसो २ बजे सञ्चालन गर्दै आएको एन्फाले गर्मी बढेको र खेलाडीलाई कठिन हुने भन्दै नवौं चरणदेखि पहिलो खेल दिउँसो ३ बजेलाई सारेको थियो। तर सोमबार च्यासल मैदानमा एन्फा पदाधिकारीले देखाएको व्यवहारले भने उनीहरू लिग सकाउने हतारोमा छन् भन्ने संकेत गर्छ। खेलाडीलाई पानीको व्यवस्था गरिदिन थ्री स्टारका पदाधिकारीले पटकपटक गरेको आग्रह एन्फा पदाधिकारीले बेवास्ता गरेका थिए। जसका कारण खेलपछि थ्री स्टारका पदाधिकारी र एन्फा पदाधिकारीबीच केहीबेर भनाभनसमेत भएको थियो।

‘ए’ डिभिजनका केही क्लब भने एन्फाले आर्थिक समस्या देखाउँदै पहिलो चरणको समाप्तिमा लिग समापन गर्ने भयमा छन्। पंकजविक्रम नेतृत्वको एन्फाले यसअघि यस्तै कारण देखाउँदै राष्ट्रिय महिला लिगको पहिलो चरणको अन्त्यमा शीर्ष स्थानमा रहने एपिएफलाई विजेता घोषणा गरेको थियो। ‘मैले एन्फा चरम आर्थिक संकटबाट गुज्रिरहेको छ भन्ने सुनेको थिएँ तर पानीसमेत व्यवस्था गर्न सक्दैन भन्ने आजै थाहा पाएँ,’ आक्रोशित देखिएका केसीले भने, ‘विश्वको कुनै पनि लिगमा खेलाडीमाथि यस्तो गैरमानवीय व्यहार गरिँदैन।’  

यसै सिजन मात्र टोली पुनर्निर्माणको चरणमा रहेको पूर्व क्लब थ्री स्टार क्लब फर्किएका प्रशिक्षक केसीले लिगको सुरुआती दिनबाटै एन्फाले नेपाली फुटबलको विकासका लागिभन्दा पनि कर्मकाण्डका लागि लिग आयोजना गरेको आरोप लगाउँदै आइरहेका छन्।

सोमबार च्यासल फुटबल मैदानमा थ्री स्टारको प्रतिद्वन्द्वी थियो चर्च ब्वाइज युनाइटेड। चर्च ब्वाइज र थ्री स्टार क्लब समान ८ खेलमा समान १४ अंकसहित क्रमशः पाँचौं र छैटौं स्थानमा थिए। दुवै टोली जितसहित शीर्ष स्थानमा उक्लिने लक्ष्यका साथ मैदान प्रवेश गरेका थिए। तर यी दुई टोलीबीचको खेल गोलरहित बराबरीमा सकियो। दुवै टोलीको शीर्ष स्थानमा उक्लिने लय पूरा भएन।  

थ्री स्टारका प्रशिक्षक केसीले यसअघि पनि साँच्चै नेपाली फुटबलको विकासमा लाग्न र लिगलाई कामचलाउ नबनाउन एन्फा नेतृत्वको ध्यानाकर्षण गराएका थिए।

तपाईंले हरेक पत्रकार सम्मेलनमा एन्फा नेतृत्वको विरोध गर्नुहुन्छ तपाईलाई एन्फाले स्पष्टकरण सोध्ने तयारी गरेको हो भन्ने प्रश्नमा केसीले कुनै पनि पत्र प्राप्त नभएको बताए।

प्रकाशित: ५ वैशाख २०८० ०२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App