१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

‘चुनाव धोका हो’ भन्दै निर्वाचन आयोगभित्रै ‘जेन-जी’ को नाराबाजी

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

निर्वाचन आयोगमा केही युवाहरु नाराबाजी गरेका छन्।

सोमबार साँझ जेन-जी समूहका भनिएका केही युवाहरूले आयोगको सुरक्षा घेरा तोड्दै भित्रै प्रवेश गरेर निर्वाचन प्रक्रिया रोक्न माग गर्दै नाराबाजी गरेका हुन्।

राजनीतिक दलहरू समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउन व्यस्त रहेका बेला आयोगभित्रै पुगेका युवाहरूले ‘चुनाव धोका हो’, ‘निर्वाचन प्रक्रिया बन्द गर’ र ‘हत्यारालाई कारबाही गर’ भन्दै प्रदर्शन गरेका थिए।

उनीहरूले ‘जेन-जीका माग पूरा गर’, ‘नालायक सरकार मुर्दावाद’ र ‘सुशिला कार्की राजीनामा दे’ जस्ता नारा लगाउँदै अन्तरिम सरकारविरुद्ध आक्रोश पोखे।

प्रदर्शनमा सहभागी एक युवाले रवि-बालेनबिच भएको सहमति प्रति पनि आक्रोश व्यक्त गरे। उनले बन्द कोठाभित्र सहमति गरेर चुनावमा जानु आन्दोलनमाथिको धोका भएको बताए।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘बन्द कोठाभित्र स्टाटस लेखेर युवाहरूको साथ हामीसँग छ भन्ने ? आज तिमीहरू नयाँ गठबन्धनका नाममा चुनावमा जाने कुरा गरिरहेका छौं, यो आन्दोलनमाथिको धोका हो। हामी खबरदार भन्न चाहन्छौं।’

उनले जेन-जी आन्दोलनमा भएको दमन र हत्याका घटनामा संलग्नलाई कारबाही नगरी चुनावमा जान लागिएको भन्दै आपत्ति जनाए।

आयोग जस्तो संवेदनशील क्षेत्रभित्रै नाराबाजी सुरु भएपछि सुरक्षाकर्मीहरूले तत्काल हस्तक्षेप गरेका थिए। नाराबाजी गर्ने युवाहरूलाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएर आयोग परिसरबाट बाहिर निकालेको छ।

आयोगले फागुन २१ गतेका लागि तय भएको निर्वाचनका लागि दलहरूलाई समानुपातिकतर्फको बन्दसूची बुझाउन सोमबारसम्मको समयसीमा तोकेको थियो। सोही प्रयोजनका लागि विभिन्न दलका शीर्ष नेताहरू आयोग पुगेका बेला युवाहरूले विरोध प्रदर्शन गरेका हुन्।

हेराैं तस्बिरहरु। सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

हेर्नुहोस् भिडियो। भिडियो: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: १४ पुस २०८२ १८:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App