३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

उम्मेदवार र निकट परिवारको बैंक कारोबार अनुगमन हुन्छ : आयुक्त जबरा

निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जबराले फागुन २१ गते हुने निर्वाचनमा विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दिएका व्यक्ति तथा उनीहरूका निकट परिवारका सदस्यको बैंक कारोबार अनुगमन गरिने बताएका छन्।

आचारसंहिता अनुगमनअन्तर्गत जिल्लास्तरमै आर्थिक पक्ष हेर्ने व्यवस्था गरिएको उनले जानकारी दिए। उनका अनुसार प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीमार्फत भौतिक आचारसंहिता अनुगमन हुँदै आएको बताएका छन्। साथै कोष तथा लेखा नियन्त्रक कार्यालयका अधिकृतमार्फत उम्मेदवार र राजनीतिक दलको वित्तीय गतिविधि निगरानी  गरिएको बताएका छन्।

‘उम्मेदवारले समयमै खर्च विवरण बुझाएका छन् कि छैनन्, तोकिएको सीमा भन्दा बढी वा कम खर्च गरेका छन् कि छैनन् भन्ने विषय जिल्लादेखि नै हेर्ने व्यवस्था गरिएको छ,’ जबराले भने।

खाता अनुगमनको लागी नेपाल राष्ट्र बैंकलाई पत्राचार गरिसकेको बताउँदै उम्मेदवारले पुरानै बैंक खाता प्रयोग गरे पनि उनीहरू र उनीहरूको नजिकको परिवारको आर्थिक कारोबारको विवरण माग गरी अनुगमन गरिने उनले बताए। ‘उम्मेदवार र उनीहरूको परिवारको रकम ट्रान्जेक्सन पनि मोनिटर गर्दैछौं,’ उनले भने।

निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले चुनावी खर्चका लागि अनिवार्य रूपमा छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ। केही उम्मेदवारले सो निर्देशनअनुसार खाता खोलेर पारदर्शी रूपमा आर्थिक कारोबार गरिरहेको उल्लेख गर्दै जबराले निर्देशन पालना नगर्ने उम्मेदवारमाथि कारबाही हुन सक्ने चेतावनी दिए।

उनले आयोगको निर्देशन उल्लंघन भएमा निर्वाचन कसुरसम्बन्धी कानुन आकर्षित हुन सक्ने र आवश्यक परे उम्मेदवारलाई ‘ब्ल्याकलिस्ट’मा राख्ने लगायतका निर्णय गर्न सकिने बताए।

प्रकाशित: १६ फाल्गुन २०८२ १३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App